काठमाडौं,बैशाख २५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टा नबित्दै आफ्नो साथ छाडेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरेका प्रचण्डले एक दिन नबित्दै कांग्रेसको साथ छाडेर एमालेसँग नै नौ बुँदे सहमति गरेपछि कांग्रेस आक्रामक बन्दै गएको छ । उसले एमाओवादी अध्यक्ष प्रचण्डप्रति रोष प्रकट गर्दै सरकार ढाल्ने नयाँ कसरतमा लागेको छ ।
आन्दोलनरत मधेसवादी दलहरुका साथै सरकारमा रहेका साना दलहरुसँग छलफल थालेका कांग्रेस नेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल पनि शुरु गरेको छ । वर्तमान सरकार ढाल्ने खेल एमाओवादी अध्यक्ष प्रचण्डले नै शुरु गरेर दोष आफूलाई थुपारेको भन्दै कांग्रेस नेताहरु नयाँ रणनीतिमा जुटेको स्रोतको भनाइ छ । कांग्रेस नेता विमलेन्द्र निधिले एमालेसँगको सहकार्य तोडेर प्रधानमन्त्री बन्न प्रचण्डले नै कांग्रेससँग प्रस्ताव गरेको दाबी गरे ।
गत वैशाख १६ गते राति एमाओवादी प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेटेर प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव गरेको निधिको दाबी छ । झन्डै एक महिनादेखि एमाओवादी र कांग्रेसका शीर्ष तहमा सरकार परिवर्तनका लागि छलफल चलेको थियो । वर्तमान ओली नेतृत्वको सरकारले जनताको आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकेको र इन्धन संकट अझै पनि कायमै रहेको भन्दै एमाओवादीले असन्तुष्टी जनाउँदै आएको थियो ।
एमाओवादी अध्यक्ष प्रचण्डको असन्तुष्टीसँगै कांग्रेस नेता निधिले एमाओवादी नेता कृष्णबहादुर महरा लगायतसँग भेट गरी सरकार परिवर्तनको संवाद चलाएका थिए ।कांग्रेस सभापति देउवा पत्नी आरजूको उपचारका लागि दिल्ली जानुअघि नै शीर्ष नेता तहमा सरकार परिवर्तनका विषयमा छलफल थालिएको थियो भने भारत गएर देउवाले भारतीय अधिकारीहरुसँग गोप्य ढंगले छलफल गरेका थिए । कांग्रेस र एमाओवादीबीच सरकार परिवर्तनको नयाँ समिकरण फेल भएपछि कांग्रेसले अर्को समिकरणको तयारी थालेको छ ।
शनिबार बसेको व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै कांग्रेस सांसद प्रकाशशरण महतले राजदूत उपाध्यायलाई फिर्ता बोलाउनुको कारणबारे सदनमा जवाफ दिन सरकारसँग माग गरे । राजदूत उपाध्यायप्रति सरकारले लगाएको आरोप कांग्रेससँग प्रतिसोध साँध्ने काम भएको महतको आरोप थियो ।
साभार: खबर डवली


0 comments:
Post a Comment