कांग्रेसको धम्की-सरकार कांग्रेससँग प्रत्यक्ष मूठभेडमा उत्रेको छ,अब ठूलो मूल्य चुकाउनुपर्छ’

By

काभ्रे,बैशाख २५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतका लागि नेपालली राजदूत दीपकूमार उपाध्यायलाई फिर्ता गर्ने सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। कांग्रेस धुलिखेलले काभ्रेमा गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले प्रतिशोधका आधारमा राजदूतलाई फिर्ता बोलाएर सरकारले जघन्य भूल गरेको उल्लेख गरे । ‘राजदूत फिर्तीको बिषयमा वर्तमान सरकारले निकै महंगो मूल्य चुकाउनुपर्ने छ,’ कोइरालाले भने, ‘सरकार कांग्रेससँग प्रत्यक्ष मूठभेडमा उत्रेको छ, यसले सरकारलाई फाइदा गर्दैन।’

उनले राजदूत फिर्ता बोलाएर सरकारले अराजकताको पराकाष्ठ प्रस्तूत गरेको बताए । कोइरालाले मुलुक संचालनका नाममा एमालेले न्यायपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप समेत लगाए ।

एमाले र तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायपालिकामा गलत नजिर बसाएर न्याय क्षेत्रलाई राजनीतिको अखडा बनाएको दाबी गरे । राष्ट्रपतिको भारत भ्रमण आन्तरिक कारणले रोकिएपनि राजदूतलाई फिर्ता बोलाइनु सरकारको लाचारी र कायरपन भएको टिप्पणी कोइरालाले गरे ।

उनले कार्यक्रमलाई सम्वोधन गर्दै भने ‘अब उखान टुक्काले देश चल्दैन । भूकम्पपीडितले राहात पाउनुपर्छ, कालोबजारीयाको अन्त्य हुनुपर्छ र मधेसको समस्यालाई सरकाले छिटै सम्वोधन गर्न सक्नुपर्छ ।’
उनले प्रतिपक्षीको भूमिका सरकारलाई सजक गराउने रहेको बताउँदै सरकारले आत्तिनु नपर्नेमा जोड दिए ।

‘प्रतिपक्षमा रहेको काग्रेस कहिले संविधान कार्यन्वयनमा बाधक बन्दैन’, उनले भने, ‘नेपालको राजनितिमा अन्तर्राष्ट्रिय समुदायको बढी चासो र चलखेल बढ्दै गएकाले यसबाट जोगिँदै सजक र सतर्कता हुनुपर्छ ।’ अपवित्र गठबन्धनको वर्तमान सरकार इतिहासकै असफल र कमजोर बनेको बताउँदै कोइरालाले यो सरकारले कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न नसक्ने बताए । कोइरालाले सरकार परिवर्तनको खेलमा लागेर कांग्रेसले कुनै गल्ती नगरेको समेत दाबी गरे ।

-अन्नपूर्ण पोष्ट

0 comments:

Post a Comment