नेजा अधिवेशनको सम्पूर्ण तयारी पुरा,अमेरिकामा रहेका पत्रकारहरु लस एञ्जलसमा

By
लस एञ्जलस,अमेरिका,मे ६ | नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाको पाँचौ अधिवेशन तथा दसौँ वार्षिक साधारण सभाको तयारी पूरा भएको छ । यही शनिवार र आइतबार अर्थात् मेको ७ र ८ तारिखमा लसएञ्जलसमा हुन लागेको अधिवेशनमा भाग लिन विभिन्न राज्यबाट नेजाका सदस्यहरू, प्रतिनिधि तथा शुभेच्छुकहरु लस एञ्जलस आईपुगेका छन् । ‘नेजाको अधिवेशनका लागि गर्नुपर्ने सम्पूर्ण तयारी हामीले पूरा गरेका छौँ’, पाँचौ अधिवेशन तयारी समितिका संयोजक तथा कार्यसमितिका सचिव सुदीप पन्तले जानकारी दिनु भएको छ । पन्तका अनुसार यस पटकको अधिवेशनमा मेरील्याण्ड, भर्जिनिया,टेक्सस,कोलोराडो, क्यालिफोर्निया, न्यु योर्क, नर्थक्यारोलिना, ओक्लोहामा लगायत सत्र भन्दा बढी राज्यबाट सहभागिता रहनेछ । अधिवेशनले आगामी दुई वर्षका लागि नेजाको नयाँ नेतृत्व समेत चयन गर्नेछ |
कुल १ सय ४८ सदस्य मध्ये ११ जना आजीवन सदस्य र १ सय ३७ जना साधारण सदस्यहरूले यस अधिवेशनमा भाग लिनेछन |  संयोजक पन्तका अनुसार कुल एक सयले अहिलेसम्म दर्ता गराई सकेकाले त्यही हाराहारीमा सदस्यहरूले भाग लिनेछन् । पन्तले भन्नुभयो,-‘हामीहरूले यसपटक सयभन्दा बढी सदस्यहरुका साथमा लस एञ्जलसमा गरिने अधिवेशन भव्य, ऐतिहासिक र स्मरणीय बनाउन हामी स्थानीय सङ्घ संस्थाको सहयोग र समन्वयमा काम गरिरहेका छौँ।’ रजिष्ट्रेशनको लागि नगद वा चेकवाट भुक्तानी लिन सकिने भएकाले सहभागीहरुलाई सोही अनुसार व्यवस्था गर्न पन्तले आग्रह गर्नु भएको छ ।
पन्तले दिनुभएको जानकारी अनुसार नेजाको अधिवेशनमा प्रमुख अतिथिको रूपमा भाग लिन नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सहभागिता जनाउनु हुनेछ । सन् २००७ मा गठित नेजा र महासंघको बिच यसअघिनै सहकार्य गर्ने अवसर मिलेपनि नेजाको अधिवेशन तथा वार्षिक साधारण सभामा उपस्थित हुने विष्ट नै पहिलो सभापति हुनुहुन्छ ।  यसैगरी  सिटी अफ आर्टिसियाका मेयर भिक्टर मनालो र उप प्रमुख  अलि सजाद ताजको उपस्थिति रहनेछ । अतिथिकै रूपमा वाणिज्यदुत ऋषि ढकाल सहित अमेरिकामा रहेका छाता सङ्गठनहरू गैर आवासीय नेपाली सङ्घ अन्तराष्टिय समन्वय परिषद्का केन्द्रीय सदस्य दिल श्रेष्ठ, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई, एएनएका वरिष्ठ उपाध्यक्ष शम्भु ढुंगाना,नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा, आदिवासी जनजाति महासंघका अध्यक्ष लुईसाङ्ग वाईवा, लगायत सहभागी हुने भएका छन् ।
नेजाका अध्यक्ष गौतम दाहालले आफू नेजाको दुई वर्षे कार्यकाल पूरा गर्दै गर्दा यसको कामहरूको समीक्षावाट उत्साहित भएको बताउनु भयो । दाहालले भन्नुभयो,-‘हामीहरूले दुई वर्षे कार्यकालमा अमेरिकाको स्टेट डिपार्टमेन्टमा नेजाको समेत सहभागितामा भेटघाट र छलफल गर्ने मौका पायौं । यसैगरी न्यूयोर्कको सिटी काउन्सिलमा नेजा कार्यसमितिको टोलीले नेपाली सेभेन समीटर्स टोलीलाई सम्मान कार्यक्रमको समन्वय गर्न पाएको थियो ।’ नेजाको समन्वयमा नेपालमा घाइते पत्रकारहरुको लागि सहयोग,दिवङ्गत पत्रकारका परिवारलाई सहयोगदेखि लिएर अनेकन कामहरू नेजाले गर्न सफल भएको दाहाल बताउनु हुन्छ । सामुदायिक अन्तरक्रिया कार्यक्रममा विभिन्न विषयमा नेजाले ईष्टदेखि वेष्टसम्म आफ्नो मजबुत उपस्थिति देखाउन सकेको उहाँको भनाई रहेको छ ।
यसैबिच दाहालले नेजाको पाँचौ अधिवेशन तथा दशौ वार्षिक साधारण सभाको सफलताको लागि प्रधानमन्त्री केपी शर्मा बलिले शुभकामना व्यक्त गर्नुभएको जानकारी दिनुभयो । यसैबिच यही अधिवेशनमा नेजा ग्रामीण उत्कृष्ठ पत्रकारिता पुरस्कार विजेताको समेत घोषणा गरिने जानकारी समेत अध्यक्ष दाहालले दिनु भएको छ | सोही पुरस्कारको राशि एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ | नेपालमा मोफसलमा बसेर उत्कृष्ठ काम गर्ने एक जना पत्रकारलाई हरेक दुई वर्षमा यो पुरस्कार दिइन्छ |
नेजाका महासचिव भोला आचार्यका अनुसार यस पटकको साधारण सभामा सङ्गठनको विधान,वार्षिक प्रतिवेदन,आर्थिक प्रतिवेदन लगायतका आन्तरिक विषयमा छलफल गरिनेछ । नेजाका संस्थापक अध्यक्ष एवं सल्लाहकार संयोजक सहित नेजाका कार्यकारी सदस्य मधुकर अधिकारी र साधारण सदस्य रामचन्द्र भट्टको रहेको विधानमस्यौदा समितिले नेजालाई व्यावसायिक र चुस्तदुरुस्त बनाउन आचार समिति सहितको  विधान पारित गर्ने तयारीमा छ ।
सन् २०१४ मा ह्युष्टनमा सम्पन्न चौथो अधिवेशनले गौतम दाहालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको थियो । उक्त समितिका उपाध्यक्षमा शिव विष्ट, महासचिव भोला आचार्य,सचिव सुदीप पन्त, कोषाध्यक्ष विटु केसी, क्षेत्रीय संयोजकहरु विकासराज न्यौपाने, डा. गोविन्दसिंह रावत, भुपेन्द्र थापा, विश्वराज थापा, जाङ्गवु शेर्पा रहनु भएको थियो । यसैगरी कार्यकारी सदस्यहरूमा मधुकर अधिकारी,अग्नि चौलागाई,तेम्वा दोङ्गवा ह्योल्मो,श्रीकृष्ण गौतम र शैलेश पोख्रेल रहनु भएको थियो । उक्त कार्यसमितिमा सल्लाहकारहरु गिरीश पोख्रेल, तारा बराल,  कृष्ण शर्मा र आडछिरिड शेपा समेत रहनु भएको छ ।

–brtnepal.com

0 comments:

Post a Comment