काठमाडौं,बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयमा राजनीतिक भागबण्डा हुन नदिने सरकारको प्रयास बुझ्न आग्रह गर्नु भएको छ । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले न्याय परिषदको निर्णयमा सरकारले चासो नराखेको पनि वताउनु भयो ।
‘अदालतलाई राजनीतिकरण गर्यो भन्ने चर्चा चल्यो । राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रयासलाई बुझिएन कि भन्ने मलाई लाग्यो । यो प्रधानमन्त्रीले को न्यायाधीश हुन्छ भन्नेमा चासो राखेन । न्याय परिषदले सिफरिस गर्ने हो । यस सम्बन्धमा हामी सबैलाई थाहा छ दुई जनाको स्थान रिक्त रहेको छ । र न्याय परिषदले गरेको सिफरिसको सन्दर्भमा नामहरुको प्रसंगमा वा प्रक्रियाको सम्बन्धमा पनि सरकारको चासो सरोकारको विषय नै रहेको होइन’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
यस्तै प्रधानमन्त्री ओलीले न्यायालयमा भागबण्डा गर्ने पद्दति तोडेकोमा दलहरुलाई चित्त नबुझेको हुन सक्ने पनि वताउनु भयो । ‘म के निवेदन गर्न चाहन्छु भने राजनीतिकरण गरियो भन्ने कुरामा यहाँनेर राजनीतिक भागबण्डकै हाम्रो मनसाय रहीराखेको हो कि ? या आफ्नो भएन भन्ने राजनीतिक दलको भनाई हो कि भन्ने बुझिन्छ’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘यसलाई छोडिदिउँ, भागबण्डामा नजाउँ ।’
प्रधानमन्त्री ओलीले सरकारले भारत र चीन दुबै देशसँग गरेका सम्झौता पारस्परिक हितमा आधारित छ भन्नेमा कुनै शंका नरहेको वताउनु भयो । परराष्ट्र सम्बन्धलाई राष्ट्रको हितमा सचेतनतापूर्वक अघि बढाइरहेको पनि उहाँको भनाई थियो । उहाँले समग्र राष्ट्रिय सुरक्षाका लागि नेपालले भर्खरै राष्ट्रिय सुरक्षा नीति पारित गरेको र यसले देशको सुरक्षा हितमा सहयोग पुग्ने पनि वताउनु भयो ।
प्रधानमन्त्री ओलीले स्थानीय निकायको निर्वाचन संविधान कार्यान्वयनका लागि महत्वपूर्ण हुने भन्दै त्यसमा एकजुट हुन पनि सांसदहरुलाई आग्रह गर्नु भयो । डेढ दशकदेखि स्थानीय निकाय जनप्रतिनिधिबिहीन बनेको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले विकास निर्माणलाई नेतृत्व प्रदान गर्न पनि स्थानीय चुनाव हुनु पर्ने वताउनु भएको थियो ।
– www.chakrapath.com


0 comments:
Post a Comment