प्रदीप ज्ञवालीको ‘ संस्कृतिक रुपान्तरण एक विमर्श ‘(पुस्तक समिक्षा)

By

-सन्तोष गौतम

संस्कृति सोच हो, जीवन पद्धति हो अनि पहिचान हो |अझ भनौ यो त परिवर्तनको सम्बाहक हो | यो परिवर्तनशील अनि परिवर्तनकारी छ | संस्कृतिको यही आयाम बारेको एक उत्कट विमर्श हो राजनैतिक इ.बि. टेलर को भनाइलाइ सापट लिंदा संस्कृति भनेको त्यो सम्पूर्णता हो जस अन्तर्गत एउटा मान्छेले समाजको एउटा सदस्यको रुपमा ग्रहण गर्ने ज्ञान, आस्था, कला, नैतिकता तथा अन्य क्षमता र बानि लगायतका कुराहरु पर्दछन | त्यस्तै टमस आर. रोचोन ले संस्कृतिक रुपान्तरणका तीन ओटा कोणहरु औल्याएका छन् | उनको भनाइमा पुराना मुल्यहरुलाई नया मूल्यहरूबाट बिस्थापित गर्नुलाई मूल्य रुपान्तरण, नया अवस्थाहरुमा प्रयुक्तहुने नवीन बिचार र मूल्यहरुको विकासगर्नुलाई मूल्य सृजना र पहिले कुनै सम्बन्ध देखिएका वा नदेखिएका बिचारहरु वा प्रक्रियाहरुको बिचमा रहेको अन्तरसम्बन्धको अबधारणा विकास गर्नुलाइ मूल्य सम्बन्धको स्थापना भनेका छन् |

त्यसैले मूल्य रुपान्तरण , मूल्य सृजना वा मूल्य अन्तरसम्बन्धको नवीन व्याख्या जसरि परिभाषित गरिएपनि संस्कृतिक रुपान्तरण एक निरन्तर प्रक्रिया हो | तर यो रुपान्तरण समय सापेक्ष र सकारात्मक हुँदामात्र यसले मानव जीवनमा र जीवनको गुणस्तरमा अपेक्षित परिवर्तन ल्याउन सक्छ |त्यसैगरि संस्कृति पहिचानसंग जोडिएको हुनाले विभिन्न समूह तथा जातजातिहरुको पहिचानको जगेर्ना गर्दै साझा राष्ट्रिय पहिचानको निर्माण र प्रबर्दन गर्नु उत्तिकै आवश्यक छ साझा प्रकाशनले हालै बजारमा ल्याएको यो कृतिले एकातिर संस्कृतिक अतिवाद र अधिनायकवाद विरुद्ध जोडदार आवाज बुलन्द गरेको छ भने अर्कोतिर कुरा विश्वव्यापीकरणको गर्ने तर व्यबहारमा भने अरुप्रति अतिनै असहिष्णु रहने प्रबृत्तिलाइ चोटिलो प्रहर गरेको छ | स्रष्टा ज्ञवालीको मुख्य जोड बदलिँदो विश्व परिवेशमा हाम्रो बहुलतावादी संस्कृतिको उचित व्यबस्थापन गर्दै देशको एउटा परिचायक राष्ट्रिय संस्कृति निर्माण हुनुपर्छ भन्नेमा छ |लेखककै शव्दमा ” पहिचानको प्रश्नलाइ विचारधारा, राज्यको चरित्र र सामाजिक संरचनाबाट अलग गरेर उठाउन थालियो भनेअन्ततोगत्वा यसले सामाजिक द्वन्दलाइ जन्म दिन्छ |” लेखकले पहिचान र सशक्तिकरणको नाममा राष्ट्रिय स्वार्थ भन्दा जातीय पहिचान र स्वार्थलाइ अगाडी राख्दा यसले समाजमा बिभाजनका रेखाहरु  कोरेर राष्ट्र अनि मानवतालाइ नै खण्डित गर्न सक्ने तर्फ सगज गराएका छन् | अन्तराष्ट्रिय सहयोग को नाममा शक्तिकेन्द्रहरुको स्वार्थको क्रिडास्थल नेपाल नबनोस भन्ने चाहना लेखक ज्ञवालीले व्यक्त गरेका छन् |

द्वन्दले जव संस्कृतिक रुप धारण गर्छ तव यसले दिर्घकालिन अन्तारिक द्वेष, घृणा र विभाजनकोबिजारोपण र मलजल गर्ने हुँदा समाज नै छिन्नभिन्न बन्न पुग्छ र यसले राष्ट्रिय एकता र अखंड़तामा नै आंच आउँछ | यसतर्फ लेखक ज्ञवालीले चिन्ता व्यक्त गरेका छन् | उनले नेपालमा समाज सुधारको अभियान पुरानो भएतापनि संस्कृतिक रुपान्तरण प्रभावकारी बन्न नसकेको दृष्टान्त दिएका छन् र जातिय, धार्मिक, लैंगिक आदि विभेद अझै व्याप्त रहेको कटु सत्य उजागर गरेका छन् | एकातिर संस्कृतिको तर्कसंगत र सामयिक व्याख्या र परिमार्जन गर्दै यसलाई समयसापेक्ष बनाउनु आवश्यक छ भने अर्कोतिर यसका मौलिकता विशेषताहरुको जगेर्ना गर्दै यसलाई क्षिर्ण हुनबाट जोगाउनु त्यत्तिकै आवश्यक छ | अर्को शव्दमा रुढिबादी र अन्धविश्वासी संस्कार बाट हाम्रो संस्कृतिलाइ मुक्तगर्न र विश्वब्यपिकरण वा एउटा विश्वको नामबाट हुनसक्ने बिलयबाट हाम्रो संस्कृतिलाइ जोगाउन यस्तै संदेश बोकेर आएकोछ स्रष्टा ज्ञवालीको संस्कृतिक रुपान्तरण एक विमर्श | एक सय सत्ताइस पानाको सानो आकारमा रहेको पुस्तक चिन्तन, विमर्श अनि अध्ययन र अनुभूति गरि तीन खण्डमा विभाजित छ |सबैलाइ गम्भीर भएर सोच्न बाध्य पर्ने लेखकका केहि प्रश्नहरु हाम्रो संस्कृतितिर फर्किएर हेर्ने र यसका कुना कन्दरा सम्म पुग्ने आह्वान हुन् |लेखक प्रश्न गर्छन, ” हजारौं वर्षा पुरानो सभ्यता बोकेको, युगौदेखि बिबिधता र बहुलता सहित अस्तित्ववान एवं आर्य, मंगोल, अश्त्रिक र द्रविडलगायत सबैजसो मुख्य मानव जातिको साझा घरको रुपमा विद्द्धमान नेपालको आफ्नो कुनै ‘नेपाली चिन्तन परम्परा ‘ छ कि छैन ?” लेखकलाइ चसक चसक घोचिरहने संस्कृतिक रुपान्तरणका सवालहरु र यसका व्याबहारिक असफलताले सबै सचेत नेपालीलाइ घोचीरहन्छन | वास्तवमा ठुलो राजनैतिक परिवर्तन पछि रु दुइ सय पचास मूल्य तोकेर बजारमा ल्याएको यो पुस्तक वर्तमान विश्व परिवेश तथा राष्ट्रिय सन्दर्भमा नेपाली संस्कृतीको अवस्थाबारे बुझ्न र चिन्तन गर्न चाहने हरेकको लागि पठनीय र संग्रहनीय रहेको छ | पुस्तक पढ्दा सफल राजनीतिज्ञ तथा स्रष्टा प्रदिप ज्ञवालीले संस्कृतिक अन्वेषणको लामो यात्रा तर्फ़ कदम बढाएको प्रतित हुन्छ | नेपाली साहित्य प्रकाशनको लामो इतिहाश बोकेको साझा प्रकाशनले  शुद्धाशुद्धि पट्टि भने अलिक बढी ध्यान दिनुपर्ने देखिन्छ |

0 comments:

Post a Comment