काठमाडौं,फागुन २५ । नवनिर्वाचित कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । देउवा विजयी भएका करिव १५ घण्टा पछि विज्ञप्ति मार्फत रामचन्द्रले बधाइ दिएका हुन् उनी देउवासँग सभापतिमा पराजित भएका थिए । विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका मेरा मित्र शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’
उनले पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट विचलित नभई पार्टी, देश र जनताको पक्षमा लाग्न देउवालाई सुझाव दिँदै कार्यसफलताको शुभकामना दिएका छन् । यस्तै उनले महाधिवेशनमा संयमका साथ आफूलाई मतदान गर्ने सबै प्रतिनिधि तथा शुभेच्छुकहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । ‘निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबै साथीमा आह्वान गर्दै म सदैव तपाईहरुको साथमा रहनेछु ।
पौडेलको विज्ञप्ति पूर्णपाठः
प्रेस नोट
नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने गहन जिम्मेवारी र नेतृत्व मलाई प्राप्त भएकोमा लोकतान्त्रिक पद्धतिद्धारा नेतृत्वको चयनसहित महाधिवेशन भव्य, सभ्य र निर्विघ्नतापूर्वक सम्पन्न भई निर्वाचन परिणाम सार्वजनिक हुँदैछन् । यो महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको छ ।
महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका मेरा मित्र शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दछु । पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्तिपनि विचलित नभई पार्टी, देश र जनताको पक्षमा तपाईको कार्यकालको सफलताको कामना गर्दछु ।
साथै यो महाधिवेशनमा संयमका साथ मलाई मतदान गर्नुहुने देशभरि र विश्वभरिका प्रतिनिधि साथी एवम् शुभेच्छुकहरुलाई हार्दिक आभारका साथ धन्यवाद दिन चाहन्छु । निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबै साथीमा आह्वान गर्दै म सदैव तपाईहरुको साथमा रहनेछु । महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण साथीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
मितिः २०२७।११।२५
रामचन्द्र पौडेल
नेपाली काँग्रेस


0 comments:
Post a Comment