एजेन्सी,फागुन १७ । लिग कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ । आइतबार राति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा हराउँदै सिटीले यो सिजनको पहिलो उपाधि हात पारेको हो । टाइब्रेकरमा सिटी ३–१ ले विजयी भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा म्यानचेस्टर सिटीको लागि दोस्रो हाफको ४९ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
घरेलु मैदान वेम्बलीमा भएको खेलमा लिभरपुलका लागि ८३ औं मिनेटमा फिलिपे काउटिन्ओ बराबरी गोल फर्काए । निर्धारित ९० तथा थपिएको ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा याया टुरेले सिटीका लागि विजयी गोल गरेका हुन् । टाइब्रेकरमा म्यानचेस्टर सिटीका गोलकिपर विली काबालेरोले लिभरपुलका लुकास लेइभा, फिलिपे काउटिन्ओ र एडम लाल्लनाको प्रहार जोगाएका थिए ।


0 comments:
Post a Comment