काठमाडौं,बैशाख २७ । प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा छापा मारेको छ । श्रम मन्त्री दीपक बोहोरासहितको प्रहरी टोलीले सोमबार दिउँसो छापामारी नक्कली श्रम स्वीकृति र भिसाको आधारमा विदेश पठाउने काममा संलग्न ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध कागजात मिलाएर ‘रि–इन्ट्री’को स्वीकृति दिएको भन्दै श्रम विभागका पूर्वकर्मचारी र ट्राभल एजेन्सीका सञ्चालक गरी चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा श्रम विभागबाट कारबाहीमा परेका कर्मचारी सुशील शाक्य, ट्राभल एजेन्सी सञ्चालक अमृत ढकाल, राजेश ढकाल र फणीन्द्र तामाङ रहेका छन्। त्यस्तै नक्कली श्रम स्वीकृति लिएर विदेश जान लागेका २ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्दार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।
नक्कली पुनː श्रम स्वीकृति, नक्कली मागपत्र, नक्कली प्रवेशाज्ञालगायतका काम भइरहेको सूचनाका आधारमा छापा मारिएको महाशाखाका प्रमुख खनालले बताए। यसअघि प्रहरीले ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पुनः श्रम स्वीकृति शाखाको केही कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएको थियो।


0 comments:
Post a Comment