डोटी । गर्मी याम बढेसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि पानीका स्रोत सुक्न थालेका छन् । अन्य वर्ष पानी नसुक्ने मुहानमा पनि यस वर्ष पानी सुक्दै जान थालेपछि स्थानीयले पानी भर्न घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।
डोटीको लडागडा, लामिखाललगायतका गाविसमा पानीका मुहान सुक्दै जान थालेपछि स्थानीय घन्टौँ टाढाबाट पानी ल्याएर गुजारा गर्न बाध्य भएको लामिखाल गाविसका स्थानीय पदम धामीले बताए ।
यस्तै समस्या डोटीको चवरा चौतारा गाविस–८ मा समेत देखा परेको छ । स्थानीय कमल बम भन्छन – ‘पानी लिन घन्टौँ पैदल हिँड्नु पर्दछ ।’ बढ्दो गर्मी यामसँगै खडेरीले डोटीका ग्रामीण भेकका जनता सास्ती भोग्दै आएका छन् । प्रशस्त पानीका मुहान नहुँदा र भएकाको समेत राम्ररी सदुपयोग नहुँदा डोटीका बासिन्दा समस्यामा परेका हुन् ।
डोटीका ग्रामीण भेकमात्रै होइन सदरमुकाम सिलगढी, दीपायलमा समेत यस्तै समस्या देखिएको छ । दीपायलको काखैमा सेती नदी बग्ने भए तापनि बजारमा भने पानीको हाहाकार छ । गर्मी याममा दीपायलमा मिनिरल वाटरको समेत पूर्ति हुन नसकेको सनलाइट होटेल दीपायलका सञ्चालक हर्क बमले बताए ।


0 comments:
Post a Comment