देउवाजीसँग कुरा मिलिसक्यो, मेरो समर्थन उहाँलाई नै हुन्छ: खुमबहादुर खड्का

By

नेपाली कांग्रेसका चर्चित नेता खुमबहादुर खड्काले अन्ततः वरिष्ठ नेता शेरबहादुर देउवालाई नै महाधिवेशनमा सहयोग गर्ने भएका छन्। पार्टीको १३औं महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रियामा आफ्नो पक्षका केही नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिनु र्ने सर्त राख्दैआएका खड्काले मंगलबार अपरान्ह देउवासँग वार्ता गरी अधिवेशनमा सहयोग गर्न समहत भएका हुन्। देउवासँगको सहमतिपश्चात सेतोपाटीसँग कुरा गर्दै खड्काले भने, ‘अहिलेलाई म र मेरा पक्षमा रहेका साथीहरुलाई निर्वाचनमा देउवाजीलाई नै समर्थन गर्ने भएका छौं।’ प्रस्तुत छ अधिवेशनका विषयमा सेतोपाटीका बिष्णु बुढाथोकीले खड्कासँग गरेको कुराकानीको संक्षिप्त अंशः

-मंगलबार देउवासँग भएको वार्ता भएको थियो। त्यो वार्तामा कुरा नमिलेपछि तपाईले कार्यबहाक सभापति रामचन्द्र पौडेललाई समर्थन गर्ने हल्ला बाहिर आएको कति सत्य हो?

यो हल्लामा कुनै सत्यता छैन। मंगलबार मसँग कुरा गर्न देउवाजी आउनु भएको थियो। हामीबीचको वार्ता र सहमति अनुसार मैले यो अधिवेशनमा देउवाजीलाई समर्थन गर्ने बचन दिइसकेको छु र त्यही अनुसार हुन्छ।

-के सहमति भयो?

कुराकानीका क्रममा मैले मेरो समूहमा रहेका साथीहरुको तर्फबाट कोषाध्यक्ष पदमा केन्द्रीय सदस्य पुष्पा भुसाललाई बनाउन आग्रह गरें। तर देउवाजीले त्यसका लागि आफू असमर्थ रहेको बताउँदै अहिलेलाई आफ्नो प्रस्ताव बमोजिम आफूलाई समर्थन गर्न आग्रह गर्नु भयो।

-भनेपछि देउवाले तपाईको पक्षबाट भुसाललाई कोषाध्यक्ष नदिने भन्नु भयो र तपाई पनि सहमत हुनु भयो?

उहाँले तराई मधेस र महिला प्रतिनिधिहरुको माग अनुसार वर्तमान कोषाध्यक्ष चित्रलेखा यादवलाई नै दोहोर्याउनु पर्ने आफ्नो बाध्यता भएको बताएपछि मैले उहाँको प्रस्तावमा सहमत भएँ र अब हामी सबै साथीहरु देउवाजीलाई नै सहयोग गर्ने निर्णयमा पुग्यौं।

-अघिल्लो अधिवेशनमा तपाईकै समूहको तर्फबाट कोषाध्यक्ष पदमा निर्वाचित भएकी यादवलाई तपाईको समर्थन रहन्छ त?

उहाँ विगतमा पनि मेरै साथमा रहेर काम गर्नु भएको हो र मैले नै उहाँलाई अघि बढाएको थिए। अहिले पनि मधेस र महिला साथीहरुको भावना अनुसार उहाँलाई समर्थन गर्न मलाई कुनै समस्या छैन।
तपाईको समूहका साथीहरु जसले भुसालको पक्षमा अडान लिएका थिए उनीहरुसँगै भुसाल पनि तपाईकै निर्णयमा सहमत हुन्छन् त?

अरु साथीहरुसँग मैले निरन्तर परामर्श गरेर उहाँहरु पनि कन्भिन्स हुनु भएको छ। जहाँसम्म पुष्पाजीको कुरा हो उहाँको विषयमा स्वयं देउवाजीले नै उहाँसँग कुरा गरी मनाउछु भन्नु भएको छ।

-यसअघिको अधिवेशनमा पनि तपाईले देउवाजीलाई सहयोग गर्दा एउटा लिखित सहमति नै गर्नु भएको थियो रे। अहिले पनि त्यसै प्रकारको लिखित सहमति गरेर उहाँलाई समर्थन गर्न तयार हुनु भएको हो?

होइन। १२औं अधिवेशनमा तपाईले भनेजस्तै लिखित सहमति भएको थियो। तर अहिले देउवा र म बीच कुनै लिखित सहमति भएको छैन। मौखिक समझदारी मात्रै भएको हो।

-देउवाले तपाईलाई कुन पद दिन तयार भएर तपाई उहाँको पक्षमा उभिन राजी हुनु भयो?

म आफ्नो व्यक्तिगत लाभका लागि मात्रै राजनीति गरेको मानिस होइन। तत्काल यो वा त्यो पद मलाई चाहिन्छ र म त्यही पदको जिम्मेवारी बहन गरिहाल्न सक्ने अवस्थामा पनि छैन। किन भने मेरो आफ्नो स्वास्थ्यस्थितिका कारण पनि म अहिले मैदानमा उत्रन र विगतमा जस्तै लागि पर्न सक्दिन तर पनि मेरा विषयमा भोलि निर्वाचन परिणाम आएपछि उहाँले विचार गर्नु होला।

-कुन पद माग्नु वा अपेक्षा गर्नु भएको छ?

देउवाजी सभापति बन्नु भयो भने स्वाभाविक रुपमा मैले पार्टीमा अरु पद नभइ उपसभापतिकै पदमा बसेर काम गर्ने हो र मेरो त्यही अपेक्षा छ।

-दिन्छु भन्नु भएको छ?

होइन अहिले नै दिन्छु, दिन्न भन्नु भन्दा पनि पहिले उहाँ निर्वाचित भएपछि त उहाँले उक्त पद दिने उपयुक्त पात्र पनि त छैनन नि।

-अरु केन्द्रीय सदस्यका आकांक्षीहरुको विषयमा कुनै सहमति भएन?

अरु केन्द्रीय सदस्यहरुको समायोजनका विषयमा बसेर उपयुक्त साथीहरुलाई उपयुक्त स्थानमा जिम्मेवारीका लागि अघि बढाउन हामीहरुबीच सहमति भएको छ।

-तपाईको साथ पाएका देउवाले निर्वाचनमा विजय हाँसिल गर्न सक्छन् जस्तो लाग्छ?

चुनावी मैदानमा उत्रने भनेकै जितिन्छ भनेर उत्रने हो। अहिलेको अवस्था र महाधिवेशन प्रतिनिधिहरुको उपस्थिती हेर्दा संस्थापन र अर्को पक्षकाबीच कडा टक्करको स्थिति हो। तर संस्थापन पक्षबीच नै आपसी तालमेल र सहमति नभएर एक भन्दा बढी उम्मेदवार उठ्ने अवस्था देखिएकोले देउवाजीलाई सहज अवस्था बनेको छ।

-निर्वाचन परिणामबारे कुनै आँकडा तयार पार्नु भएको छ?

दुई पक्षबीच सोझो प्रतिस्पर्धा हुदाँ कडा प्रतिस्पर्धामा अथवा संस्थापन पक्ष झिनो मतले अगाडि भएको तथ्यांक आएपछि अहिलेसम्म संस्थापनभित्रै विभाजन भएको कारण त्यसको प्रत्यक्ष फाइदा देउवाजी र हाम्रो समूहलाई हुने प्रष्ट छ। मत अन्तरको कुरामा यति उति भन्दा पनि सयदेखि डेढसयभित्रैको अन्तरमा चुनाव हार जित हुन्छ भन्ने मैले जानकारी लिएको छु।

-setopati.com

0 comments:

Post a Comment