‘अमेरिकी ग्रिनकार्ड त्यागेरै नेपाल आउने मन छ’

By

सरगम भट्टराई

आत्मीय साथी उत्सव,
मुटुभरिको सम्झना।
कस्तो छ तिमीलाई? आशा गर्छु ठिकै छौ।
अनलाईनमा हेरेँ, धेरै दिनसम्म देख्न सकिनँ। त्यसैले यो पत्र लेख्न तम्सेँ।
अमेरिकाको ब्यस्त जिन्दगीबाट समय बचाएर तिमीलाई यो चिठ्ठी लेखिरहेको छु। आशा छ, सरोकार राख्ने सबैलाई सुनाइदिने छौ।
ए साँच्चै, आफ्नो जन्मथलो नेपाल छाडी अमेरिका भासिएको पनि एक बर्ष भई पो सकेछ हगि! यो एक बर्षमा तिमीले पठाएका सन्देशका ब्यस्तताका बावजुद समयमा जवाफ फर्काउन नपाएपनि तिमीलाई सधैँ मिस गरिरहेको छु। अन्यथा नसम्झनू ल।
तिमीले पढ्यौ पढेनौ, सुन्यौ सुनेनौ? सपनाको देश अमेरिकाबाट हामीले के सिक्ने र के पछ्याउने?
सपनाको किनमेल गर्न अमेरिका भासिएपछि सबै सन्दर्भ समेटेर यो चिट्ठी लेख्दैछु। केही मेरा र केही मेराजस्तै मनका अनुभवको फÞेहरिस्त तयार गर्दैछु।
मैले भुलेको छैन, मेरो अमेरिकाको भिसा लागेपछि मेरो हातमा भएको मोबाइलको अपेक्षा गर्नेलाई मैले जवाफ दिएको थिएँँ, पुगेर काम पाएपछि आइफÞोन –६ पठाईदिन्छु नि है!
ल्यापटप र क्यामेराका लिष्ट पनि मेसेन्जरमा आइरहेकै छ।
तर यहाँ आएपछि यत्रतत्र हेरेँ। आइफोनको रुख कतै भेटिएन। बरु धेरै दुख र थोरै सुख रहेछ। अरुलाई त के आफैँलाई फोन किन्न नसकेर त्यही बिग्रेको मोबाइल फोन स्वीच अन अफ गर्दै चलाइरहेको छु।
एयरपोर्टको बाटो आएकाको भन्दा महिनौं लगाएर समुन्›ी बाटोहुँदै मेक्सिकोको मृत्युपथबाट अमेरिका छिर्नेका कथा सुन्ने हो भने मुटु छियाछिया हुन्छ। जिन्दगीको साँचों अर्थ मलाई भन्दा उनीहरुलाई थाहा होला।
अमेरिका त आइयो तर थुप्रै चुनौतीका पहाड चढ्नुपर्ने रहेछ।
नेपालमा सरकारी जागिरमा हाई काढेर समय बिताएर सेल्फी खिच्दै बस्नेले यहाँ १०/१२ घन्टासम्म उभिएर रेष्टुरेन्टमा जुठा भाँडा माझेको, हात फुटेर छियाछिया भएको, क्लिनिङको काम गर्दैगरेको, शौचालय सफÞा गरेको र मासु पसलमा बुचर बनेर मासु काटिरहेको फोटो फेसबुकमा अपलोड गरेको भए पो थाहा हुन्थ्यो अमेरिकाको जिन्दगी!
यहाँ धेरैजसोको जिन्दगी खेतालासरह हो। हातखुट्टा चलुन्जेल पैसा। नत्र हुँदैन। अंग्रेजी नजान्नेका त बिजोगै हुन्छ यहाँ।
तर केही नेपालीका मेहनत र लगनशीलताले राम्रो गरेका पनि छन् है। त्यो देख्दा भने गर्व लाग्छ। यो काम राम्रो र यो नराम्रो भन्ने हँुदैन यहाँ। सबै कामको सम्मान हुन्छ अमेरिकामा।
जे होस् फूलैफूलको बगैचाछेवैमा खिचेको सेल्फीजस्तो छैन जिन्दगी यहाँ।
गाउँघर, टोल छिमेकमा सबैले बाआमालाई भन्दै होलान्, छोरो अमेरिका छ केको दुख गरिरहन्छौ र?
फेसबुकमा अपलोड गरेका फोटोले राम्रै देखाइरहेका छन् अनि नभनून् पनि कसरी?
छिमेकी भाइले अस्ति फोन गर्यो, गाउँको बाटो पिच हुने भो रे! गाउँका बिदेशमा भएकाले एएक महिनाको तलब सहयोग गर्नुपर्यो रे!
कति घन्टा काम गर्नुहुन्छ नि?
मैले उत्तर दिएँ, दिनको दश घन्टा।
घन्टाको कति हुन्छ नि?
मैले उत्तर दिएँ, त्यही त हो नि दश डलर।
ए त्यसो भए त महिनामा तीन सय घन्टा। दशले गुन्दा तीन हजार डलर।
नेपाली रुपैयाँ एक सय आठका दरले तीन लाख चौबीस हजार।
भाइले ओठ टोके।
यस्तै हिसाब साथीभाइले घरमा पनि सुनाए होलान्। घरमा तला थप्ने कुरा हुँदैथियो। बैनीलाई स्कूटी पनि नभई भा छैन रे।
अमेरिकामा पुगेको एक बर्ष भाछैन। फलानाले त एक करोड पर्ने कार किन्यो रे अमेरिकामा! सिंगै घर भाडामा लिएको छ रे।
आदि आदि।
यहाँ बिहान सबेरै काममा जानुपर्छ। राति आउँदा अबेर हुन्छ। सार्बजनिक सवारी सबै ठाउँमा नपुग्ने। एकदुई हजार डलर दिए कार किन्न पाइने, बाँकी रकम किस्ताबन्दीमा बिना ब्याज। अनि किन्नैपर्यो।
किनेँ पनि।
कारको इन्सटल्मेन्ट, कार इन्स्योरेन्स, हेल्थ इन्स्योरेन्स, लाइफÞ इन्स्योरेन्स, फ्ल्याट रेन्ट, पार्किङ, वाईफाई, खानपिन र ग्यास अनि ट्याक्समा क्यास खत्तम।
उता नेपालमा घन्टाघन्टाको हिसाब भैरहेकै होला।
दुबई, कतार, मलेशिया जाने दाजुभाइले पचास डिग्री सेन्टिग्रेडमा काम गरेर कमाएको पैसाको पनि यस्तै हिसाब निस्कन्छ भने अमेरिकाको त के कुरा?
युरोपका धेरै देश र अष्ट्रेलिया, जापानतिरको कमाइ र खर्च अनि ब्यस्तता पनि अमेरिकाजस्तै त हो नि! त्यहाँ छोराछोरी भएकाले पनि त्यही सोंच्दै होलान्! फेसबुकमा अपलोड गरेका फोटोमा ‘ल ल मोज गर’ भन्ने टिप्पणी देखेकै होऔला!
आज मलाई डा. रवीन्› समीरले लेखेको ‘मुस्कान’ भन्ने लघुकथा झलझलि याद आइरहेछ।
नेपाल हुँदाको सामाजिक जीवन यहाँ आएपछि कुवाको भ्यागुतो जुरुक्क उठ्यो काममा, दिनभरि काममा जोतियो, लखतरान पर्यो फ्ल्याटमा फर्केर फ्रिजमा राखेको तीन दिनको बासीतासी खायो सुत्यो…फेरि काममा हिंड्यो.. क्रमशः उही दैनिकी।
अझ सानो बच्चा हुनेका त एक्लैले खर्च धान्नुपर्दा गाह्रै हुन्छ। हुन त राज्यले केही सहुलियत त दिन्छ तर त्यो सहयोग खर्चअगाडि नगन्य नै हुन्छ।
परिवार छाडेर पढ्न आएका कुलत र दुर्ब्यसनमा फँसेर गोरी अघिपछि लगाई खुट्टा लर्खराएर हिँडेकाहरुका कथा लेखे झन कति लामो हुन्छ होला? यहाँको विकेण्डको रात्रिजीवन अनि बार र क्यासिनोको कथा पनि भो नलेखौं। उनीहरुका बाआमाले कति सपना बुनेका होलान्?
युरोप, अमेरिका, अष्ट्रेलिया र जापान पढ्ने केटालाई छोरी दिन मरिहत्ते गर्ने छिमेकी काकाकाकीले यहाँको सबै दृष्य देखे के जवाफ दिँदाहुन्? हुन त अमेरिकामा के काम गर्नु हुन्छ बाबू भनेर त कसले सोध्या होला र? अमेरिका भन्नेबित्तिकै झिलिमिलि हुन्छ सबैलाई।
मेरै १० बर्षे भतिज ऋदमलाई ठूलो भएपछि के बन्छौ भनेर सोधे अंकलजस्तै अमेरिका जान्छु भनेर उत्तर दिन्छ। तर यहाँको झिलिमिलिभित्रको चुरो कुरो के थाहा उसलाई?
फेरि पनि मान्छेहरु अमेरिका छिरेकोछिर्यै छन्, कोही एयरपोर्ट त कोही समुन्›को बाटो भएर। आफू गयो, मलाई यो गन्थन लेख्छ भनौंला! जनै छोएर भन्छु, मैले ढाँटेकै छैन।
हो, देशमा राजनीति गन्हायो, स्वाभिमान गन्हायो, बिदेशिनु अनिवार्यजस्तो भयो। तर राजनीतिमा राम्रा मान्छे आउने हो भने केही समयमै कायापलट हुन्छ। अमेरिकाका गगनचुम्बी महलभन्दा हाम्रै गाउँका डाँडाकाँडा सुन्दर छन्।
साँच्चै नै यहाँ आन्दोलनले बाटो बन्द नभएको देख्दा, फेक्ट्री बन्द नभएको देख्दा, सबैलाई समान नियम लागू भएको देख्दा आफ्नो देश सम्झेर धुरुधुरु रुन मन लाग्छ।
सबै आफन्त, रमाइला डाँडाकाँडा र सगरमाथासमेत बोकेर ल्याउन मिल्ने भए त स्वर्ग नै हो नि अमेरिका।
 तर के गर्नु? चाडबाडमा एक्लै रुनुपर्दा पो मन अमिलो हुन्छ। तर डलरमोहले भोलिपल्ट आँसु लुकाएर काममा जानुपर्छ। भएका आफन्त पनि काममै ब्यस्त हुनुपर्छ।
सबै कुरा एउटा सिष्टमले चल्ने, प्रबिधिमा अब्बल, नागरिकमा करप्रतिको जागरण, जवाफदेही राज्य आदि कारणले होला नेपालसहित बिश्वका कलाकार, पत्रकार र चाटुफकार अमेरिका भासिएको भासियै छन्।
तर अमेरिकामै पनि उल्लेख्य संख्यामा होमलेस र बेरोजगार छ्यास्छ्यास्ती भेटिन्छन्।
एउटा सानो काम बनाउन नेताका दौरा समाउने हाम्रो बाध्यता सम्झदा कति दुख्छ कति मन! देशले भ्रष्टाचारमा दिन प्रति दिन रेकर्ड राख्दा मन त कति भाँचिन्छ कति! परदेशमा हुँदा देश झन धेरै दुख्दो रहेछ।
तर के गर्नु अमेरिका आउने नाममा भएको पुर्ख्यौली गैरीखेत बेचियो। अब खर्च त उठाउनै पर्यो। त्यसैले सकेजति गरेकै छु।
ए साँच्चै! राजनीतिमा राम्रा मान्छे आएभने त देश बदलिन पनि कति समय लाग्ला र मित्र! बरु स्वच्छ छवि भएकालाई अघि लाए हुने नि।
तिमी हाम्रा होइन, राम्रा नेताको पछाडि लाग्नू है!
खै के गर्नु र! कुकुर पाल्न मासिक चालीस हजार खर्चने राजनीतिज्ञले कामदारलाई तलबचाहिँ पाँच हजार दिने देश पनि हाम्रै हो।
मलाई केही समयपछि यो ग्रिनकार्ड त्यागेरै नेपाल आउने मन छ। तर खोई यो जÞंजीरबाट मुक्ति पाइने हो कि हैन!
लेख्दालेख्दै गन्थन त लामो भएछ। जे होस् नेपालमा बसेर सोँचेजस्तो होइनरहेछ अमेरिका। तर अमेरिकाकै शैलीको मेहनत, बिकास र प्रतिबद्दता हुने हो भने हाम्रै देश स्वर्ग हुने थियो। खै त्यो दिन कहिले आउने होला र?
-setopati.com

0 comments:

Post a Comment