एउटा झुटो फोनले एक पटकमा तीन करोड घाटा

By
काठमाडौं: नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सातायता आएका एक दर्जनबढी झुटा फोनले विमान कम्पनीलाई करोडौं घाटा लागिरहेको छ ।
केही दिनअघि दिल्लीबाट काठमाडौंका लागि आएको जेट एयरवेजको जहाजमा बम रहेको समाचार भारतबाटै आएपछि त्रिभुवन विमानस्थल पुरै खाली गराएर अवतरण गराइयो ।
करिब ४ घन्टासम्म चलेको सुरक्षा जाँचका क्रममा कुनै बम भेटिएन । यसले गर्दा यात्रुदेखि विमानस्थल प्रशासन र अन्य सरकारी निकाय तथा सम्बन्धित एयरलाइन्सले पनि तनाव भोग्नुपर्यो ।
भारतका वरिष्ठ सुरक्षाअधिकारीहरुका अनुसार जब कुरा ब्रसेल्स जस्तो आतंकवादी हमलाको आउँछ तब इन्दिरा गान्धी विमानस्थलमा रहेको सुरक्षाप्रणालीको ढाँचा उनीहरुका लागि सजिलो ‘टारगेट’ हुने देखिन्छ ।
विमानमा विस्फोटक पदार्थ राखिएको दाबी गर्दै आउने झुटा फोन कलका कारण कुनै पनि विमानलाई जमीनमा उतार्नुपर्यो भने हरेक पटक कम्तिमा ३ करोड २० लाख रुपैयाँ घाटा लाग्छ ।
भारतक एक विमान कम्पनीका प्रवक्ता भन्छन्, ‘जब कुनै जहाजमा बम रहेको या अन्य आतंकवादी धम्की दिइन्छ भने त्यसमा सवार यात्रुका लागि खानेदेखि लिएर बस्नेसम्मको व्यवस्था र आवश्यक परेमा वैकल्पिक उडान पनि गर्नुपर्ने हुन्छ । यात्री हाम्रो प्राथमिकता रहन्छन् । एक आतंकवादी फोनका कारण एक विमान कम्पनीलाई अढाई करोडदेखि तीन करोड २० लाखसम्म घाटा लाग्छ ।’
भारतीय सुरक्षा अधिकारीका अनुसार इन्दिरा गान्धी विमानस्थलमा पस्नलाई अहिलेसम्म कडा सुरक्षा जाँच झेल्नै पर्दैन । सुरक्षा जाँचमा रहेको यो फितलो व्यवस्थाका कारण बमको हल्लाले यो विमानस्थल पछिल्लो समय तनावमा छ ।
अधिकारीका अनुसार बमको धम्कीपछि यो विमानस्थलको सुरक्षा योजनामा परिवर्तन ल्याउन टर्मिनलको पुरै व्यवस्थामा परिवर्तन गर्नुको विकल्प छैन, यसो नभएमा यहाँ आतंकवादी हमलाको खतरा रहिनै रहनेछ ।
प्राप्त तथ्यांक अनुसार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी कार्यालयमा अहिलेसम्म आतंकावादी आक्रमणको धम्कीका दर्जन बढी फोन आइसकेका छन् ।
यसरी फोन गर्नेमध्ये दुईजनालाई मात्रै प्रहरीले पत्ता लगाउन सकेको छ । भारतका विमानस्थलमा केन्द्रीय सुरक्षा बलसँगै संयुक्त राष्ट्र संघका एजेन्सी पनि सक्रिय छन् । उनीहरुले पनि विमानस्थलमा रहेका सुरक्षा समस्याबारेमा त्यहाँको सरकारलाई योजना दिने गरेका छन् ।
राष्ट्र संघले संसारभरका विमानस्थलमा तीन तह भएको सुरक्षाप्रणाली सम्बन्धित सरकारलाई पेश गर्दै आएको छ । सुरक्षा होल्ड एरिया योजना अनुसार इन्दिरा गान्धी विमानस्थलमा यात्रुले चेक इन काउन्टर पुगेपछि सुरक्षा जाँचबाट अनिवार्य गुज्रनुपर्छ ।
भारतको एकमात्र श्रीनगर एयरपोर्टमा मात्रै कुनै पनि यात्रु बिना तलासी टर्मिनलमा पुग्नै नसक्ने व्यवस्था गरिएको छ ।

Source: annapurnapost.com

0 comments:

Post a Comment