सरकारले नसके आफैं फिर्ता लिन्छौं
वीरगन्जः नेपाल–भारतको सीमा क्षेत्रमा नयाँ स्तम्भ गाड्ने क्रममा आफनो खेत भारततर्फ परेपछि पर्साको पिडारीगुठी–२ का ७० वर्षीय बृद्ध चोकट राउत कुर्मीको भोक निद्रा सबै हराएको छ ।
‘जहिलेदेखि पिलर गाडियो, त्यही दिनदेखि मेरो भोक निद्रा सबै गायब भएको छ’, उनले सुनाए, ‘राति छातीमै लालपुर्जा टाँसेर सुत्ने गरेको छु ।’
‘पिलर खेतमा होइन मेरो मुटुमा गाडेको महसुस भइरहेको छ । लालपूर्जा भएको मेरो पुस्तैनी जग्गा सरकारले खोसेर भारतलाई किन बुझाइदियो ?’, उलने प्रश्न गरे, ‘यदि यो जग्गा भारतको थियो भने सरकारले लाजपुर्जा किन दियो त ?’
नेपाल–भारतको नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमाक्षेत्रका जीर्ण स्तम्भको मर्मत र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पर्साको पिडारीगुठी गाविसका चोकटसहित १९ जना नेपालीको लालपुर्जा भएकै १० बिघा आठ कठ्ठा १५ धुर जग्गा भारततर्फ परेको छ ।
पिलर गाडने क्रममा लालपुर्जा नेपाली भूभाग भारततर्फ परेपछि विवादित जग्गाको स्थलगत अनुगन गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको टोलीले पीडित जग्गाधनीहरुलाई मुअब्जा दिने आश्वासन दिएको छ ।
तर पीडित जग्गाधनीहरुले भने आफुहरुलाई मुअब्जा नभइ भारततर्फ मिचिएको जग्गा नै फिर्ता पाउनु पर्ने बताएका छन् ।
‘हामीलाई मुअब्जा चाहिन्न, जग्गाको बदला जग्गा नै चाहिन्छ’, एक बिघा तीन कठ्ठा जग्गा गुमाएका चोकट भन्छन्, ‘हामी गरिब भएपनि पैसासँग हाम्रो भुमी साट्दैनौं ।’
एक बिघा आठ कठ्ठा जग्गा गुमाएका पिडारीगुठी–३ का लक्ष्मण हज्जा दुसाद पनि आफुहरुलाई मुअब्जा नभइ जग्गा नै फिर्ता चाहिने बताउँछन् ।
‘सिडिओ सा’बले मुअब्जा दिलाउँछु भनेका छन्, तर हामीलाई यो कुरा पटक्कै चित्त बुझेको छैन’, भारततर्फ परेको जग्गाको लालपूर्जा देखाउँदै उनले भने, ‘हामीलाइ मुअब्जा होइन, हाम्रो नेपाली भूमि नै फिर्ता चाहिन्छ । नभए सरकारले अर्को जग्गा खोजेर हामीलाइ दिनुपर्छ ।’
सरकारले आफुहरुको जिउने आधार नै खोसेर भारतलाई बुझाइ दिएको भन्दै उनले भने, ‘कमाइ खाने आधार नै सकियो, अब त बाहिर गएर नोकरी गर्नु बाहेक अरु कुनै विकल्प छैन ।’
पिठारीगुठी–३ का रामजीवन महराको पनि लालपूर्जा भएकै दुई कित्ताको गरि १४ कठ्ठा खेत पनि भारततर्फ परेको छ । उनकी पत्नी लीलावतीदेवी चमारले पनि आफुलाई मुअब्जा नभइ आफ्नो जग्गा नै फिर्ता पाउनुपर्ने बताइन् ।
‘भएको सबै नम्बरी जग्गा भारतमा परेको छ’, उनले भनिन्, ‘अब ऐलानी दुईतीन धुरमात्र जग्गा बाँकी छ, यसले गुजारा चल्दै चल्दैन । हामीलाइ मुअब्जा होइन, आफनै खेत फिर्ता चाहिन्छ, हामी पैसाको लोभी होइनौं ।’
नयाँ सीमा स्तम्भ गाडिएपछि पिठारीगुठी–३ का ८० वर्षीय बृद्ध खुबलाल पाण्डेको पनि कित्ता नम्बर ७५ को ६ कठ्ठा जग्गा भारततर्फ परेको छ ।
‘वर्षौ पहिले बुवाले किनेको मेरो पुस्तौनी खेत आज भारतीय भएको हेर्दा मन कुँडिएको छ’, उनले प्रश्न गर्दै भने, ‘यदि नेपालको जग्गै थिएन भने सरकारले लालपूर्जा के आधारमा दियो त ?’ उनले आफुलाई मुअब्जा नभइ आफनो भूमि नै फिर्ता दिलाउन माग गरे ।
‘हाम्रो देश सानो छ, भारत ठुलो देश हो’, उनले भने, ‘निर्बल भएकै कारण सरकारले नेपालीको जग्गा भारतलाई सुम्पिदिएकोे छ ।’ बुवाको नाममा लालपुर्जा रहेको आठ कठठ जग्गा गुमाएका पिडारी गुठी–२ का शिवप्रसाद महतो पनि भारतमा मिचिएको जग्गा फिर्ता पाउनुपर्ने बताउँछन् ।
‘यो हाम्रो जन्मधर्ती हो, हामी आमा सरहको जन्मधर्तीलाई मुअब्जा र पैसामा साट्न चाहन्नौ, सरकारप्रति आक्रोश पोख्दै उनले भने, ‘सरकारले म सक्दिनँ मात्र भनोस् हामी आफैं हाम्रो नेपाली भूमि एक मिनेटमै फिर्ता लिइछाड्छौँ ।’
२००७ सालमा नेपाल–भारत नापी विभागको उच्च्स्तरीय बैठकले तयार पारेको नक्सा अनुसार नेपाल र भारतको नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले अहिले सीमाक्षेत्रका जीर्ण स्तम्भको मर्मत सम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने काम गरिरहेको छ ।
नया स्तम्भ गाडने क्रममा भारततर्फ परेका पिडारीगुठीको नेपाली जग्गाका सबै धनीहरुसँग लालपुर्जा छ । २०२१-०२२ सालमा भएको सर्भे नाप नक्साका आधारमा सरकारले उनीहरुलाई २०२३ सालमा जग्गाधनी प्रमाण (लालपुर्जा) दिएको हो ।
अहिले दुवै देशको टोलीले भने २००७ सालमा नेपाल र भारतको नापी विभाग उच्च्स्तरीय बैठकले तयार पारेको नक्सा अनुसार नयाँ पिलर गाड्ने काम गरिरहेकाले २०२३ सालमा लालपुर्जा पाएकाहरुको पनि जग्गा भारत तर्फ पर्न गएको हो ।
पिठारीगुठीका पीडितहरुले चैत ५ गते जिल्ला प्रशासन कार्यालय पर्सामा गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको टोलीले चैत ६ गते पिठारीगुठीमा पुगेर स्थलगत अनुगमन गरेको थियो ।
टोलीमा सशस्त्र प्रहरी सीमा सुरक्ष बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा, नापी विभागका प्रमुख नापी अधिकृत रमेश ज्ञवाली र पर्सा क्षेत्र नम्बर ५ का सांसद जयप्रकाश थारु पनि थिए ।
स्थलगत अनुगमन गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले नयाँ सीमास्तम्भ गाड्ने क्रममा भारततर्फ परेको नेपाली जग्गा फिर्ता गर्न नमिल्ने जवाफ दिएका थिए ।
भारततर्फ परेका नेपालका जग्गाका धनीलाई प्रमाणका आधारमा मुआब्जा उपलब्ध गराउन आफूले पहल गर्ने उनले बताएका थिए ।
अनुगमन टोलीमा सहभागी नापी विभागका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले अहिलेको सीमांकनका क्रममा केही नेपाली जग्गा भारततर्फ पर्न गएको बताए ।
२००७ सालमा नेपाल र भारतको नापी विभाग उच्च्स्तरीय बैठकले तयार पारेको नक्सा अनुसार नै अहिले सीमांकन गरेर नयाँ स्तम्भ गाड्ने र पुराना स्तम्भको मर्मत सम्भार कार्य भइरहेको बताउँदै ज्ञवालीले भने, ‘अहिले नयाँ स्तम्भ गाड्ने क्रममा केही नेपालीको जग्गा भारततर्फ पर्न गएको छ ।’
नयाँ सीमास्तम्भ गाड्ने कार्य गरिरहेको टोलीमा समेत सहभागी नापी विभागका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले अहिले भारततर्फ जग्गा परेका नेपाली जग्गाधनीहरुले भने जग्गा फिर्ता नपाउने उनले बताए ।
उनले अहिले गाडिएका नयाँ सीमास्तम्भ दुबै देशले हस्ताक्षर गरेको नक्साकै आधारमा भएको बताए । पर्सास“ग जोडिएका नेपाल–भारत सीमा क्षेत्रका मुख्य र सहायक गरि दुई सय ३८ वटा सीमास्तम्भ हराएका छन ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलले दुई वर्षअघि गरेको स्थलगत अनुगमनका क्रममा मुख्य सीमास्तम्भ पाँचवटा र सहायक सीमास्तम्भ दुई सय ३३ वटा हराएको पाएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले बताए ।
भारतसँग जोडिएका पर्साको करिब एक सय सात किलोमिटर लामो खुला सीमामा मुख्य र सहायक गरी कुल एक हजार ७० सीमास्तम्भ रहेका छन् ।
क्याप्सन १ र २ ः नेपाल भारतका नापी विभागको टोलीले नयाँ सीमा स्तम्भ गाडने क्रममा नेपाली जग्गा भारत तर्फ परेपछि आफनो जग्गाको लालपूर्जा देखाउदै पर्सा पिडारीगुठीका पिडित जग्गाधनीहरु । तस्वीर ः क्रान्ति शाह, वीरगन्ज
क्याप्सन ३ र ४ ः नेपाल भारतका नापी विभागको टोलीले नयाँ सीमा स्तम्भ गाडने क्रममा भारत तर्फ परेको आफनो जग्गा देखाउदै पिडित चोकट राउत कुर्मी । तस्वीर ः क्रान्ति शाह, वीरगन्ज
क्याप्सन ५ ः नेपाल भारतका नापी विभागको टोलीले नयाँ सीमा स्तम्भ गाडने क्रममा भारत तर्फ परेको आफनो जग्गाको लालपुर्जा देखाउदै पिडित चोकट राउत कुर्मी । तस्वीर ः क्रान्ति शाह, वीरगन्ज
क्याप्सन ६ ः नेपाल भारतका नापी विभागको टोलीले नयाँ सीमा स्तम्भ गाडने क्रममा भारत तर्फ परेको आफनो जग्गाको लालपुर्जा देखाउदै पिडित रामजीवन महराकी पत्नि लीलावती देवी । तस्वीर ः क्रान्ति शाह, वीरगन्ज
Source : annapurnapost.com


0 comments:
Post a Comment