काठमाडौं,चैत ३ । नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिले आज प्रमाणपत्र वितरण गरिने भएको छ ।आज अपरान्ह चार बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने र आज पदभार ग्रहण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । फागुन २० देखि २३ गतेसम्म भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सोमबार घोषणा भएको थियो । निर्वाचनले सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
काँग्रेसमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यमधेबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन प्रस्ताव गर्न पाउने व्यवस्था छ । यसबाहेक २१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई छ । यसैबीच नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा आजै ६ जना केन्द्रीय सदस्य मनोनित गर्नुहुने बताइएको छ । उहाँले सभापतिमा पराजित रामचन्द्र पौडेल र कृष्ण सिटौला, महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुहुने भएको हो ।
सभापतिका निकटतम प्रतिद्वन्द्वी पौडेललाई सभापति देउवाले आफूभन्दा दोस्रो बरियतामा बरिष्ठ नेताको रुपमा राख्ने तयारी गर्नुभएको छ । नव निर्वाचित कार्यसमितिका पदाधिकारीसहित सदस्यहरुको नामावली काँग्रेसले हिजै निर्वाचन आयोगमा बुझाएको छ । यता नेपाली काँग्रेस काठमाडौंले नव निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई आज बधाई ज्ञापन गर्ने भएको छ । अहिले केहीबेरमा जमलस्थित नाचघरमा विशेष कार्यक्रम गरी सम्मान गर्न लागिएको जिल्ला समिति काठमाडौंले जनाएको छ ।


0 comments:
Post a Comment