काठमाडौं,फागुन २८ । झण्डै दुई दशकदेखि पार्टीभित्रै प्रतिपक्षीको रुपमा रहँदै आएका शेरबहादुर देउवा नेपाली कांग्रेस पार्टीका संस्थापक नेताद्वय बीपी कोइराला र गणेशमान सिंहको ७० वर्ष पुरानो विरासत बोकेका शशांक कोइराला र प्रकाशमान सिंहको साथमा मैदानमा उत्रिएका रामचन्द्र पौडेललाई पराजित गर्दै पार्टीको नयाँ सभापति बन्न सफल भएका छन्। देउवाले प्राप्त गरेका सफलता त्यति सहज थिएन भन्ने कुरामा पार्टीभित्र स्वयं देउवालाई मन, बचन र कर्मले सहयोग गर्दै आएका नेतादेखि कार्यकर्तासम्मले महसुस गरेकै हुन्। कांग्रेस इतिहासमै कुनै पनि सभापति वा कार्यबाहक सभापति पुनः निर्वाचित हुनबाट असफल भएका थिएनन्। तर यसपटक क्षेत्र र जिल्ला अधिवेशनबीच सभापति सुशील कोइरालाको निधन भए लगत्तै कार्यबाहक सभापति बनेका रामचन्द्र पौडेल पराजित भए। देउवाले कसरी उनलाई पराजित गर्न सफल भए भन्ने विषयमा अहिले सबैको चासो बढेको छ। पार्टी सभापति बन्न देउवाले अपनाएका सात रणनीति यस्ता छन्
१. कोइराला पक्षभित्रको आन्तरिक कलह पार्टीभित्रै सधैं अर्घेलो पात्रका रुपमा रहँदै आएका वरिष्ठ नेता देउवाको विजयको एउटा प्रमुख आधार स्वयं कोइराला पक्षभित्रैको आन्तरिक विभाजन र कलह हो। जसको प्रत्यक्ष फाइदा देउवाले उठाउन सफल भए। विगत एक वर्षदेखि नै पार्टीको सभापतिमा सुशील कोइरालालाई नै पुनः दोहोर्याउने तयारीमा कोइराला निकट नेता तथा कार्यकर्ता जुटेका थिए। कोइराला स्वयं पनि आफू निकट नेता कार्यकर्ताको चाहनालाई ‘मौनति सम्मति लक्ष्णम्’ शैलीमा स्विकार्दै आएका थिए।
उनीहरुको चाहना विपरित पार्टी संगठनमा लामो समयदेखि निरन्तर आफ्नो समय र उर्जा खर्चेर पनि सधैं दोस्रो स्थानमा सिमित हुन पुगेका उपसभापति रामचन्द्र पौडेलले आफ्नो तयारीमा कहिले ‘गणेशमान सिंह शान्ति अभियान’ त कहिले ‘नीति तथा प्रशिक्षण कार्यक्रम’का नाममा देश दौडाह गरिरहेका थिए। पार्टी संगठनदेखि संविधान निर्माणका क्रममा राष्ट्रिय राजनीतिमा पार्टीको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल महामन्त्री कृष्णप्रसाद सिटौलाले सुशील बाहेक पौडेलको नेतृत्व कुनै हालतमा नस्वीकार्ने संकल्पका साथ आफैं सभापति पदको प्रत्यासी बन्ने तयारीमा थिए। सिटौलाको यो तयारीलाई कोइराला पक्ष खासगरी पौडेलले कुनै गम्भीरताका साथ लिन चाहेनन् र सकेनन् पनि। अन्ततः युवा नेता गगन थापासहितको टिम बनाएर सिटौला निर्वाचनमा होमिए। अन्तिम समयमा पौडेल महाधिवेशन प्रतिनिधिसँग मत माग्न भन्दा आफ्नै ग्रुपभित्रका नेता कार्यकतालाई फकाउनै व्यस्त रहनु पर्यो। जसका कारण कोइराला पक्षका नेता-कार्यकर्ताबीच नै आपसी मनमुटाब र कटुता बढ्दै गयो। यसको प्रत्यक्ष फाइदा देउवालाई पहिलो चरणमा नभए पनि दोस्रो चरणमा खुला रुपमा हुन पुग्यो।
२. देउवा पक्षभित्रको अदभूत एकता र निशर्त समर्थन पार्टीभित्रको राजनीतिमा देउवा र उनका पक्षमा उभिएका नेता कार्यकर्ताले विगत लामो समयदेखि नै दोस्रो दर्जाको व्यवहार संस्थापन पक्षबाट बेहोर्दै आइरहेका थिए। यतिसम्म कि वरिष्ठ नेता देउवादेखि केन्द्रीय सदस्य र उनी निकट कार्यकतालाई कोइराला पक्षका नेता कार्यकर्ताले कहिल्यै पनि कांग्रेसको नेता र कार्यकर्ताको रुपमा लिएनन्। उनीहरुलाई जहिले पनि कांग्रेस नभइ ‘तान्त्रिक’ भनेर होच्याउने काम गरियो। त्यो अपमानलाई सदाका लागि अन्त्य गर्न यसपटक स्वयं देउवा र उनको समूहमा रहेका नेतादेखि कार्यकर्तासम्म एकताबद्ध भए। देउवालाई सभापति पदमा विजयी गराउन उनको समूहका प्रमुख नेता विमलेन्द्र निधि, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्कीदेखि पछिल्लो समय कोइराला समूहबाट देउवा समूहमा सक्रिय केशवकुमार बुढाथोकी, श्याम घिमिरे र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानसम्मले कुनै व्यक्तिगत स्वार्थ राखेनन्। सबैले देउवाको जीतलाई आफ्नो राजनीतिक जीवन मरणको सवालका रुपमा लिए र संगठित भएर लागिमात्रै परेनन् सफल पनि बनाए।
३. क्रियाशील सदस्यतादेखि विधान संशोधनसम्म रणनीतिक सफलता कांग्रेस अधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता विवादले पार्टीभित्र समस्या खडा गर्ने विषय कांग्रेसका लागि नयाँ होइन। पार्टीभित्रका दुवै समूहले आफ्नो पहुँच भएको क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा ‘तलमाथि’ समेत गर्छन्। तर यसपटक देउवा पक्षले क्रियाशील सदस्यता विवादमा रणनीतिक सावधानी अपनाउँदै छानविन समितिको प्रतिवेदनलाई समर्थन गर्यो। यसले कोइराला पक्षभित्र आशंका जन्मियो। केन्द्रीय समिति बैठकमा कोइराला पक्षले गरेको विवादका कारण नयाँ आउने क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिको समर्थन देउवातर्फ नै बढी हुन पुग्यो। त्यस अतिरिक्त विधान संशोधनको विषयमा पनि देउवा पक्षले रणनीतिक रुपमा आरक्षण तर्फका सदस्यहरुको संख्या बढाउन माग गर्यो। तर संस्थापन पक्षले आफ्नो पक्षका नेताहरुको व्यवस्थापनका लागि पदाधिकारी संख्या बढाउन देउवा पक्ष सहमत नभए महिला, आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिम समुदायको आरक्षण कोटा बढाउन नसकिने अडान लियो। जसको प्रत्यक्ष फाइदा देउवालाई नै भयो।
४. देउवाको क्रियाशिलता पार्टीको १०औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२औं महाधिवेशनमा सुशील कोइरालाबाट पराजित भएका नेता देउवाले १३औं महाधिवेशनलाई सम्भवत: आफ्नो राजनीतिक जीवनकै अन्तिम परिक्षाको रुपमा लिएका थिए। त्यसैकारण उनले दोस्रो संविधानसभा निर्वाचन लगत्तै पार्टी संगठनभित्र विशेष चासो र उर्जा खर्च गरे। जसको कारण १२औं महाधिवेशन पश्चात सम्पन्न पार्टीका भातृसंगठनहरु- नेपाल दलित संघ, ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ र नेपाल प्रेस यूनियनको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भए। त्यतिमात्रै होइन, देउवाले राजधानीमा बस्दा वा राजधानी बाहिर जाँदा हरेक समय केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्तासँग प्रत्यक्ष र सहज सम्पर्क गर्दै गए। सभापति सुशील कोइराला प्रधानमन्त्री बनेपछि उनी र उनको सचिवालयको व्यवहारले असन्तुष्ट बनेका कोइराला पक्षका नेता तथा कार्यकर्तालाई समेत देउवाको सहज पहुँच र खुला व्यवहारले आर्कषित गर्यो। त्यस अलवा, माघ २२ गतेदेखि फागुन २० गतेसम्मको अवधिमा देउवाले देशभरीका अधिकांश पुराना नेता तथा कार्यकर्तादेखि महाधिवेशन प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटवार्ता गरे। महाधिवेशन प्रतिनिधि निर्वाचित भएलगत्तै देउवाले उनीहरुको नाममा बधाई, शुभकामना र अधिवेशनमा सहयोगको आग्रहसहितको एसएमएस त्यतिकै प्रभावकारी रह्यो। देउवा र उनको नीजि सचिवालयले यो महाधिवेशनमा पहिलोपटक निर्वाचित भएर आएका झण्डै १२ सय प्रतिनिधिलाई विशेष महत्वकासाथ सकेसम्म सबैलाई फोन गरी भेट्न र सहयोग गर्न आग्रह गरे। आफ्ना पक्षका कतिपय नेताले महाधिवेशन प्रतिनिधिको संख्या आफ्नो पक्षमा बढी आएको विवरण पेश गरेपनि उनले त्यसलाई सहजै स्वीकार गरेनन्। कोइराला पक्षभन्दा आफू करिब १ सय ५० मत पछाडि रहेको तथ्याङ्क आफ्नै स्रोत मार्फत उनले संकलन गरे।
५. खुमबहादुरदेखि कोइराला पक्षकै नेताको समर्थन संख्यात्मक हिसाबले कोइराला पक्षभन्दा आफू पछाडि रहेको जानकारी लिएका देउवाले जीतका लागि अर्को पक्षका नेता कार्यकर्ताको सहयोग लिनु बाध्यता थियो। त्यसका लागि सम्भव भएका सबै क्षेत्रमा आफ्नो संयन्त्र परिचालन गरे। कोइराला पक्षका पुराना नेता फरमुल्लाह मन्सुरदेखि सांसदहरु अर्जुनप्रसाद जोशी, रामअयोध्याप्रसाद यादव, मधु शाही, मिठु मल्लदेखि मोरङका नेता अमृत अर्याललाई पनि आफ्नो पक्षमा ल्याउन सफल भए। त्यतिमात्रै होइन, पार्टीभित्र बलियो पकड जमाएका खुमबहादुर खड्का, कुलबहादुर गुरुङ, सूर्यमान गुरुङ, तारानाथ रानाभाटदेखि लक्ष्मण घिमिरे र लोकेश ढकाललाई समेत आफ्नो पक्षमा उभ्याउँदै चुनावको माहोल आफ्नो पक्षमा पार्न सफल भए।
६. नीजि सचिवालय मिडिया सहयोगीको भूमिगत कार्यशैली पार्टी विधान अनुसार गत असोज ५ गतेभित्र पार्टीको १३औं महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने बाध्यात्मक अवस्था थियो। त्यसलाई मध्यनजर गर्दै अधिवेशनको तयारीका लागि देउवाले गत साउनदेखि नै नयाँ बानेश्वरस्थित पार्टी नेता राजेन्द्र खरेलको घरमा, जहाँ कुनै बेला पार्टीको कार्यालय समेत थियो, आफ्नो नीजि सचिवालय स्थापना गरे। संविधान निर्माणमा सबै दल र नेता व्यस्त रहनु परेपछि उक्त घरमा पुसदेखि मात्रै देउवाले अपरान्ह २ बजेदेखि साँझसम्म बसेर नेता-कार्यकतासँग सहजै भेटवार्ता र सहयोगको आग्रह गरिरहे। अर्कोतर्फ १२औं महाधिवेशनमा सहभागी प्रतिनिधिदेखि १३औं महाधिवेशनमा निर्वाचित भएर आएका ३ हजार १ सय प्रतिनिधिबारे व्यक्तिगत विवरण तयार गरे। यसका लागि देउवाका सहयोगी एवं केन्द्रीय सदस्य प्रकाशशरण महतको नेतृत्वमा एउटा टोली नै खटिएको थियो। त्रिभुवन विश्वविद्यालयका कतिपय देउवा निकट प्राध्यापकदेखि विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिसँगको सहयोग र परामर्शमा महत नेतृत्वको टोलीले अनामनगरमा एक गोप्य कार्यालय स्थापन गरी अहोरात्र काम गरिरह्यो। पत्रकार परशु घिमिरेको संयोजनमा झण्डै एक दर्जन युवा तथा पत्रकारले देशभित्र र बाहिर जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिको व्यक्तिगत विवरण तयार पारेका थिए। उक्त टोलीले तयार गरेको सबैभन्दा गोप्य र महत्वपूर्ण काम भनेको ३ हजार १ सय ८० प्रतिनिधिको व्यक्तिगत विवरण उल्लेख गरी स्वयं देउवाको नामबाट पठाइएको पत्र हो। जुन पत्र प्रतिनिधिले पाउँदा कुनै बेला संस्थापक नेता बीपी, कृष्णप्रसाद भट्टराई वा गिरिजाप्रसाद कोइरालाले कुनै नेतालाई लेखेको व्यक्तिगत पत्रको रुपमा लिने शैली अपनाइएको छ। गुटउपगुटमा लागेका पुराना नेता तथा कार्यकर्तालाई त्यसले कुनै प्रभाव नपारेपनि पहिलो पटक महाधिवेशनमा भाग लिएका झण्डै १२ सय प्रतिनिधिका लागि त्यो जीवनकै महत्वपूर्ण दस्तावेज झैं भयो।
आफ्नै लेटर प्याड प्रयोग गरेर बनाएको पत्रको व्यहोरा
प्रिय मित्र चन्द्रलक्ष्मी ताम्राकार ज्यू, पनौती, काभ्रे तपाईं पार्टीको १३औं महाधिवेशनमा प्रतिनिधि निर्वाचित हुनुभएकोमा हार्दिक बधाई एव्ं शुभकामना छ। मलाई तपाईंको नाम पढ्दा हाम्रा आदरणीय नेता तथा तपाईंका पिता सप्तलाल ताम्राकारसँग सँगै जेल बसेका दिनहरुको याद आएको छ। महिला जागरण र स-शक्तिकरणका लागि लामो समयदेखि सामाज सेवामा काम गर्नुभएकी तपाईंजस्तो महिला प्रतिनिधि महाधिवेशन प्रतिनिधि हुनुभएको कुरा मलाई राम्रोसँग जानकारी छ। गतिशिल कांग्रेस बनाउने १३औं महाधिवेशनको यो अभियानमा तपाईको साथ पाउने पूर्ण विश्वास लिएको छु।
तपाईंको शेरबहादुर देउवा
७. प्रभावकारी चुनवी प्रचार शैली अधिवेशन सुरु भएलगत्तै कार्यबाहक सभापति रामचन्द्र पौडेल समूहले देउवालाई निशाना बनाई प्रचार अभियान अघि बढायो। उक्त समूहका कतिपय नेताले पार्टी विभाजन गर्ने देउवालाई सिंगो पार्टी बुझाउन कुनै हालतमा नसकिने सार्वजनिक अभिव्यक्ति दिए। पौडेलले पनि देउवाप्रति लक्षित गर्दै आफ्ना प्रचारसामग्रीमा ‘निष्ठाको राजनीति बचाउँ’ भन्ने नारा प्रयोग गरे। तर, देउवाले आफ्नो प्रचारसामग्रीमा राजनीतिक भाषा र शैली प्रयोग गर्दै पार्टीलाई गतिशिल र सशक्त बनाउने प्रतिबद्धतासहितको नारा बनाए। पार्टीको सांस्कृतिक विभागले सधैं निन्द्रा लाग्ने गीत संगीत बजाउने कांग्रेसी परम्पराको अन्त्य गर्दै यसपटक अधिवेशन स्थलबाहिर देउवा पक्षले बजाएको गीतसंगीत सुन्दा लाग्थ्यो- यो कुनै वामपन्थी पार्टीको सांगितिक कार्यक्रम हो। त्यहि गीतको तालमा समर्थक नेता-कार्यकर्ता उत्साहित हुँदै ५ दिनसम्म देउवाको पक्षमा मत मागिरहे। देउवा समूहको प्रचारसामु पौडेलको प्रचारशैली फिका हुन पुग्यो। अन्ततः देउवा दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति बन्न सफल भए। -सेतोपाटीबाट -


0 comments:
Post a Comment