कांग्रेसको महाधिवेशन सकिएलगत्तै सरकारको नेतृत्व परिवर्तन हुन्छ भन्ने खुल्दुलीले धेरैको मनमा बास गरिसकेको छ । अझ शेरबहादुर देउवा नै सभापति निर्वाचित भएपछि झन् छिटो सरकार परिवर्तन हुन्छ भन्ने धेरैले अड्कल गरेका छन् । नवनिर्वाचित सभापति देउवा भन्छन्, ‘सरकार ढाल्ने योजनामा म लागेको छैन ।’ तर सँगै उनको वाक्य आयो, ‘तर सरकार आफ्नै बोझले ढल्छ ।’ महाधिवेशनपूर्व देउवा निकै हडबडमा थिए, तर निर्वाचित भइसकेपछि उनमा आत्मविश्वास बढेको देखिन्छ । तैपनि उनी हरेक विषयमा ‘छलफल गरेर अघि बढ्ने’ वाक्यांश दोहोर्याउँथे । अर्थात्, उनी एकलौटी अघि बढ्ने मुडमा देखिएनन् । दुई पटकको हारपछि तेस्रोचोटिमा सभापति विजयी बनेका देउवा पार्टीलाई न्यायपूर्ण, समावेशी र तत्काल निर्णय गरेर अघि बढाउने पक्षमा देखिन्छन् । नवनिर्वाचित सभापति देउवासँग पार्टी, मुलुक र सरकार निर्माणसम्बन्धी योजनाबारे कान्तिपुरका हरिबहादुर थापा, कुलचन्द्र न्यौपाने र चन्द्रशेखर अधिकारीले उनकै निवासमा शनिबार बिहान गरेको कुराकानी :
नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनसँगै अब पार्टी नेतृत्व तपाईंको जिम्मामा आएको छ, अब कसरी अघि बढाउनुहुन्छ ?
कांग्रेस विगतमा दुइटा पार्टीमा विभाजित भएको थियो, गिरिजाबाबु र म मिलेर एक गराएका हौं । त्यसपछि कांग्रेस धेरै अघि बढिसकेको छ । यसबीचमा पार्टीमा धेरै मिल्दै पनि आएको छ । यो महाधिवेशनले अझै न्यानोपन गराएको छ । मलाई लाग्छ, अब पार्टीमा दुई पक्ष भन्ने हुन्न । यो या त्यो पक्ष नभनी सबै नेता तथा कार्यकर्तालाई न्याय गर्न सकियो भने पार्टी साँच्चै एकताबद्ध हुन्छ । त्यसमा मेरो आफ्नो निजी स्वार्थ केही पनि छैन । म स्वार्थभन्दा माथि उठेर काम गर्छु । पार्टीमा न्यायको सिद्धान्तमा आधारित गराउँछु । यसो गर्न सकियो भने पद पाउने र नपाउने पनि न्याय भएको अनुभूति गर्छ । राम्रा मानिसलाई क्षमताअनुरूप जिम्मेवारी दिएपछि विरोध हुन्न । त्यसो गर्दा पद नपाउनेहरूले नराम्रो मान्दैनन् ।
गुटबन्दी र चुनावका बेला एक–अर्का पक्षबीच प्रतिस्पर्धा हुँदा तुषहरू बाँकी नै होलान्, त्यसलाई कसरी संयोजन गर्नुहुन्छ ?
कांग्रेस महाधिवेशन र चुनावी प्रतिस्पर्धाको दौडमा कसैबीच झगडा भएन । अनि एकअर्काबीच गालीगलौज पनि देखिएन । हामीबीच लोकतान्त्रिक मान्यतामा आधारित रहेर स्वस्थ प्रतिस्पर्धा भएको तपार्इंहरूले देख्नुभएकै छ । अनि लोकतन्त्रमा प्रतिस्पर्धालाई सहज लिनैपर्छ, चुनावी परिणामको पनि सम्मान गर्नैपर्छ । चुनाव परिणामलाई रामचन्द्रजीले पनि स्वाभाविक रूपमा लिनुभएको छ । उहाँले बधाई दिनुभयो । मैले सहयोग सबैसँग सहयोग मागेको छु । त्यसकारण त्यस्तो कुनै पनि खाले तुष पनि हामीबीच छ जस्तो लाग्दैन । केन्द्रीय कार्य समितिका सबै परिणाम आइसकेपछि रामचन्द्रजी, कृष्णप्रसाद सिटौलाजी सबैसँग म सल्लाह गरेर अघि बढ्छु । सबैको इच्छामा पार्टीलाई एकताबद्ध बनाउने हो र अघि बढाउने नै हो । गाउँमा बस्ने कार्यकर्ताहरूबीच पनि एकता कायम गर्नुपर्छ । पार्टी एक बनाएको सन्देश प्रवाह गर्न सके मात्रै म सफल र बलियो हुने हो । त्यसपछि मात्रै कार्यकर्ताहरू पनि आफूलाई बलियो भएको महसुस गर्नेछन् । मेरो यही नीति हो, त्यसकै निम्ति म अघि बढ्छु । त्यसमा तमाम कांग्रेसजनबाट सहयोग हुन्छ भन्ने विश्वास मेरो छ ।
पार्टी एक बनाउन तपाईंको प्राथमिक सूत्रबद्ध योजना केके छन् ?
मैले सबै योजना बनाइसकेको छैन । पहिला त, निर्वाचनको परिणाम आओस् अनि कसरी अघि बढ्ने भन्ने योजना बनाउँछु । पार्टीभित्र धेरै योग्य साथी छन् । निर्वाचनका बेला योग्य साथी पनि हार्न पनि सक्छन् । सबैलाई केन्द्रीय कार्यसमितिमा ल्याउन नसकिएला । तर, सबैले न्याय पाउने र न्याय दिएको हिसाबले म काम गर्छु । योजना बनाउनुभन्दा पहिला रामचन्द्रजी र सिटौलाजीसंँग सल्लाह गर्छु । महामन्त्रीमा प्रतिस्पर्धा गरेका साथीहरूसँग सल्लाह गर्छु । म सल्लाहबाट अघि बढ्छु, एकलौटी ढंगले पार्टी सञ्चालन गर्ने काम गर्दिनँ ।
तपार्इंसँगै प्रतिस्पर्धामा रहेका रामचन्द्र पौडेललाई पार्टीमा तपार्इं कुन स्थानमा राख्नुहुन्छ ?
रामचन्द्रजी ‘सिनियर’ साथी हुनुहुन्छ, उहाँले के जिम्मेवारी खोज्नुहुन्छ, म सल्लाह गर्छु । शशांक बीपीकै छोरा हुनुहुन्छ । उहाँको पनि ठूलो दायित्व छ । सिटौलाजी पनि पार्टीभित्र योग्य नेता हुन् । अरू युवा साथी हुनुहुन्छ । सबैलाई ठाउँ दिनुपर्छ । सबैको भविष्य सुनिश्चित गर्ने काम म गर्छु । चुनावका बेला आआफ्ना कुरा भए होलान्, त्यसलाई लिएर यो वा ऊ भन्ने पक्षमा म छैन । सबैलाई मिलाएर म अघि बढ्छु ।
चुनावका बेला केन्द्रदेखि गाउँसम्म नै कार्यकर्ताहरू दुई पक्षमा विभाजित भएका छन्, तपाईंको प्राथमिकता पहिला केन्द्रमा एक बनाउने हो ?
होइन, गाउँसम्म नै सबै कार्यकर्तालाई एक बनाउने हो । दुई पक्ष मात्र भनेर सबै ठाउँमा भएको पनि छैन । कतै तीन, चार पक्ष पनि भएका छन् । महाधिवेशन सन्दर्भमा भएका यी आन्तरिक प्रतिस्पर्धा हुन् । यसलाई पक्ष र विपक्षीका रूपमा लिनु हुन्न । केन्द्रीय कार्यसमितिमा पनि कहाँ दुई पक्ष मात्रै भयो ? यहाँ पनि त धेरै प्रतिस्पर्धामा उत्रिएकै हुन् त ? त्यसकारण दुई पक्ष मात्र भन्ने कुरै रहेन ।
तर, पार्टीभित्र भावनात्मक एकता भएन भन्ने त अझै छ नि ?
हो, अब भावनात्मक रूपले नै एक बनाउनुपर्छ । नेता तथा कार्यकर्ताको भावना पनि यहीँ छ । मेरो प्राथमिकता पनि यसैमा हुन्छ ।
अघिल्लो महाधिवेशनपछि पदाधिकारी मनोनयन गर्दादेखि नै पार्टीभित्र लामो विवादका शृंखला सुरु भयो, अब त्यस्तो दृश्य दोहोरिँदैन भन्ने के ग्यारेन्टी छ र ?
बितेका दिनका कुरा म धेरै कोट्याउन चाहन्नँ । मेरो एउटा बानी छ छिटो निर्णय गर्ने । हिजोको दिनमा समयमै निर्णय गर्न नसक्दा धेरै कमजोरी देखिएकै हुन् । छिटो निर्णय भएको भए लामो विवाद हुने अवस्था आउँदैनथ्यो ।
पार्टीलाई जीवन्त बनाउने भनेको पार्टीका विभागहरू हुन्, अघिल्लो महाधिवेशनपछि विभागहरू बन्नै सकेनन्, त्यो स्थिति आउन नदिन तपार्इंका योजना के छन् ?
पार्टीका विभागहरू बनाउँदा म सल्लाहले बनाउँछु । यस निम्ति अलिकति समय लाग्न सक्छ । दुवै पक्षका साथीको टिम बनाएर गृहकार्य गर्नुपर्ने मेरो सोचाइ छ । विभागमा धेरै साथीलाई समेट्न सकिन्छ । काम गरेका साथीहरूलाई समेटेर जान सकिन्छ । हिजोका दिनमा ढिलाइ हुँदा धेरै साथी रिसाए र त्यसले विवाद पनि ल्यायो । अब त्यस्तो अबस्था आउँदैन । गाउँगाउँमा काम गरेका साथीलाई पनि समेट्नुपर्छ ।
हिजोको जस्तो भागबन्डाकै आधारमा हुन्छ कि फरक नीति अपनाउनुहुन्छ ?
अब किन भागबन्डा गर्नुपर्यो ? योग्य, सक्षम, दु:ख पाएका र दु:ख गरेका साथीलाई समेटेर जाने हो । सबैलाई पद पुग्छ, कोही छुट्दैनन् । विभागका संयोजकलाई काम गर्न सहज हुने गरी टिम बनाउनुपर्छ । त्यसका लागि अलिकति गृहकार्य गर्नु जरुरी छ ।
अर्को पक्षले अब तपार्इंसँग एकचालीस प्रतिशतको भागबन्डा खोज्ने हो कि ?
अब त्यस्तो हुन्न । सबैलाई मिलाएर लैजाने नै हो ।
पार्टी कार्यसञ्चालन पद्धति पनि परम्परागत भयो भनेर धेरै आलोचना हुन्छ, त्यसलाई बदल्न के गर्नुहुन्छ ?
म पार्टी कार्यालयमा म गएरै कार्यकर्तासँग भेट्ने गर्छु । नियमित पार्टी कार्यालय जाने काम त बेलायतमा पनि हुन्न । टोनी ब्लेयर कहाँ सधैं कार्यलयमा जान्थे र ? तर अब सबैलाई भेट्ने केन्द्र पार्टी कार्यालयलाई बनाउँछु । पार्टीलाई आधुनिक र वैज्ञानिक ढंगले अघि बढाउने मेरो प्रयत्न हुनेछ ।
निर्वाचनका परिणाम अब दुई/तीन दिनमा आइसक्ने देखिन्छ, अब पदाधिकारी मनोनयन कहिलेसम्म हुन्छ ?
म तत्कालै नगरौं भन्ने विचारमा छु । पहिला सबै निर्वाचन परिणाम आउनुपर्यो । त्यसपछि सबैभन्दा पहिला रामचन्द्रजीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्यो । त्यसपछि कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा र चित्रलेखा यादवलाई मनोनयन गर्नुपर्यो । त्यसपछि म सल्लाहबाटै निर्णय गर्छु ।
किसुनजीको जस्तो न्याय, गणेशमानजीको जस्तो समावेशी चरित्र र गिरिजाप्रसाद कोइरालाको जस्तो निर्णय गर्ने क्षमता म मा छ भनेर तपार्इंले भन्दै आउनुभएको थियो, अब त्यही शैलीमा अघि बढ्नुहुन्छ त ?
हो, यही बाटोबाट अघि बढ्छु । म प्रधानमन्त्री हुँदादेखि नै मैले समावेशितालाई अघि बढाए । त्यसैको प्रभाव पार्टीमा पनि परेको छ । पार्टीलाई हामीले समावेशी बनाएका छौं । अझै समावेशी बनाएर अघि बढ्छौं । गिरिजाप्रसाद कोइरालाजस्तै छिटो निर्णय गर्ने बानी म मा छ । म छिटो नै निर्णय गर्नुपर्छ भन्ने चाहन्छु । समयमै निर्णय गर्न नसक्दा विगतमा कांग्रेसले धेरै अवसर गुमाएको पनि छ । अर्कातिर नेताहरूले पनि अन्याय अनुभूत गरी पार्टी छाड्नुपरेको थियो । अब म हिजोजस्तो कुनै पनि नेता वा कार्यकर्तालाई पार्टी छाड्नुपर्ने अवस्था आउन दिन्नँ । त्यस्तो अवस्था आउन नदिन न्यायको सिद्धान्त म शिरोधार्य गर्छु । काम गरेका, दु:ख पाएका साथीहरूलाई ध्यान दिनैपर्छ ।
सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जीवनको अन्तिम अवस्थामा पार्टीबाट बाहिर पुगे, निधन हुँदा पुराना नेताका रूपमा मात्रै पार्टीको झन्डा ओढे, अब त्यस्तो अवस्था आउँदैन भन्ने विश्वास दिलाउन सक्नुहुन्छ ?
म कसैलाई पनि पार्टी छाड्ने अवस्था आउनै दिन्नँ ।
महाधिवेशनपछि तत्कालै महासमितिको बैठक बोलाएर पार्टीको विधान संशोधन गर्ने गर्छु भन्नुभएको थियो, अब कहिले महासमितिको बैठक बोलाउनुहुन्छ ?
छ महिनाभित्रै महासमितिको बैठक बोलाउँछु । प्रदेशको संरचनाअनुसार हाम्रो पार्टी रूपान्तरण गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि महासमितिको बैठक आवश्यक हुन्छ । अर्को पक्ष पार्टीमा सबैभन्दा ठूलो समस्या क्रियाशील सदस्यताको छ । यसलाई पनि बैज्ञानिक प्रणाली बनाउनुपर्नेछ । मेरो विचारमा अब एउटा मात्रै पार्टी सदस्यता बनाउने र त्यसको अभिलेख बुथदेखि केन्द्रसम्म राख्ने प्रणाली बनाउनुपर्छ भन्ने छ । क्रियाशील सदस्यता राख्ने या साधारण सदस्यता राख्ने, एउटा मात्रै सदस्यता बनाएर सबैलाई खुला गरिदिनुपर्छ भन्ने मेरो व्यक्तिगत सोच हो । यसमा छलफल गरेर निर्णयमा पुग्छौं ।
गाउँदेखि संसदीय निर्वाचनमा उम्मेदवार बनाउँदा ‘टिकट दिने प्रथा’ खारेज गरी कार्यकर्ताहरूबीच प्रतिस्पर्धा गराउँदै उम्मेदवार तय सकिन्न र ?
यस्तो अभ्यास पनि गर्न नसकिने त होइन । यो पनि छलफलको विषय हुन सक्छ । क्रियाशील सदस्यतामा सधैं मारामार हुने गर्छ, सबैभन्दा पहिला यसलाई आधुनिक पद्धति लैजाने मेरो सोच हो । भारतमा कस्तो छ ? अन्य देशमा कस्तो छ ? त्यसको समेत अध्ययन गरेर गरौं भन्ने छ । केही समय लाग्ला । तर, गर्नुपर्छ ।
पार्टीका सबै संरचना अब संघीय संचरनाअनुरूप हुनुपर्छ, त्यसमा कस्तो संरचना कोर्नुहुन्छ ?
कसरी जाने र कस्तो संरचना बनाउने भन्ने विषय आउँदा महासमितिको बैठकले निर्णय गर्ने हो । तर, संघीय संरचनाअनुसार पार्टीको विधान बनाउनुपर्छ र पार्टीलाई त्यही ढंगले रूपान्तरण गर्नुपर्छ ।
महासमिति बैठकमा पदाधिकारीको संख्या पनि बढाउने योजना छ कि ?
पदाधिकारी संख्या बढाउने विषय पनि आइरहेका छन् । सबैभन्दा पहिला प्रान्तीय समिति कस्तो बनाउने ? प्रान्तले निर्वाचन गरेर अहिलेको जिल्ला कार्यसमितिजस्तै प्रान्तीय कार्यसमिति बनाउने हो केन्द्रबाट निर्वाचित भएकामध्येबाटै प्रान्त हेर्ने जिम्मेवारी दिने भन्ने निर्णय गर्नुपर्छ ।
अब प्रसंग बदलौं, कांग्रेसको महाधिवेशन लगत्तै सबैका मनमा सरकार परिवर्तन हुन्छ भन्ने परेको छ, तपाईंको योजना के छ ?
सरकार ढाल्ने योजनामा म छैन । मैले यो कुरा बोलिसकेको पनि छु । तर सरकार आफ्नै बोझले ढल्छ । मेरो प्राथमिकता सरकारतिर भन्दा प्रतिपक्षमा रहेको कांग्रेसलाई कसरी बलियो र प्रभावकारी बनाउने भन्नेतिर छ । प्रतिपक्षको भूमिका प्रभावकारी बनाउनैपर्छ ।
तपाईं प्रमुख प्रतिपक्ष पार्टीको सभापति भएका नाताले सरकारको काम गर्ने शैलीलाई कसरी हेरिरहनुभएको छ ?
हाम्रो मुख्य ध्येय नै बलियो प्रतिपक्ष हो । सरकारको गलत कामको विरोधमा हामी संसद् र संसद्बाहिर समेत प्रभावकारी भूमिका निर्वाह गरेर अघि बढ्न सकिन्छ । हेर्नाेस्, विगतका दिनमा प्रतिपक्षको भूमिका कति प्रभावकारी थियो । त्यस्तै प्रतिपक्षको भूमिकामा रहे पनि बलियो बनाउने विचार छ ।
प्रधानमन्त्री हटाउने खेल भए एमालेले संसद् विघटन गर्छ भन्ने चर्चा पनि चलाइरहेको छ ?
संविधानमा संसद् विघटन गर्न पाउने व्यवस्था छैन, कसरी हुन्छ विघटन ? बरु मैले त्यतिबेला प्रधानमन्त्रीय पद्धति बलियो तुल्याउन विघटनसम्बन्धी प्रावधान हुनुपर्छ भनेको थिएँ । तर त्यो व्यवस्था राखिएन ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाधिवेशन सकिएपछि कांग्रेस पनि यही सरकारमा आउँछ भनेर बोलिरहनुभएको छ नि ?
त्यसरी सरकारमै जाने योजना छैन । त्यसमाथि त्यही सरकारमा मारामार छ । सरकारमै भएकाहरूलाई भाग पुगिरहेको छैन, मन्त्रालय फुटिरहेका छन् । त्यस्तो अवस्थामा कांग्रेस जाने कुरै हुँदैन ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार परिवर्तन गर्ने चाहना राखेको हो कि ?
हामीलाई त्यस्तो हतार छैन । यस्ता विषयमा निर्वाचनका परिणाम आइसकेपछि कसरी अघि बढ्ने भन्ने योजना म बनाउँछु ।
अझै मधेसको समस्या समाधान भएको छैन, तपार्इंले पार्टीकै निर्वाचनमा पनि मधेसको समस्या समाधान गर्छु भन्नुभएको थियो, अब कसरी समाधान गर्ने योजना छ ?
सहमतिमा संविधान जारी गर्ने विषयमा छलफल भइरहेका बेला मधेसी मोर्चाले संसद् बहिष्कार गर्यो । हामीलाई लाग्यो, मोर्चाले संविधान जारी गर्न बाटो खोलिदिए । उनीहरूलाई समर्थन गर्न गाह्रो परिहेको थियो । त्यसैले संविधान पास गर्न संसद् बहिष्कार गरेका हुन् भन्ने लाग्यो । पछि मोर्चाले आन्दोलन चर्काए । आन्दोलन चर्काएपछि संविधान संशोधन पनि भयो । पहिल्यै संसद्मा नै विरोध गरेको भए लामो समय जनताले दु:ख नै पाउने थिएनन् । संशोधन पनि त्यतिबेलै हुन्थ्यो ।
प्रदेश सीमांकनका विषय अझै हल भएको छैन, यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
वार्ताबाटै सहमति खोज्ने हो । यो विषय कांग्रेस एक्लोको निर्णयले हुने होइन । संविधान संशोधनसँग जोडिएको मुद्दामा दुई तिहाई आवश्यक हुन्छ । यस्तो विषयमा सत प्रतिशत कसैको कुरा लागू हुन्न । सबै राजनीतिक दलहरूबीच सहमति र समझदारी जुटाउनुपर्छ । भोलिका दिनमा धेरै कुरा हुन सक्छन् ।
ठूलो पार्टीको सभापतिको हैसियतले तपाई मधेसको समस्या समाधान गर्न मोर्चाका नेताहरूसँग वार्ता गर्दै हुनुहुन्छ ?
पहिलो त कांग्रेसकै निर्वाचन परिणाम आउन दिनुस् । अनि राष्ट्रिय मुद्दामा कसरी जाने भनी छलफल अघि बढ्छ ।
संविधान कार्यान्वयन नेतृत्व कांग्रेसले लिनुपर्छ भनी तपार्इंले आफ्नो प्रतिबद्धतामा पनि उल्लेख गर्नुभएको छ, त्यस्तो नेतृत्व भनेको कस्तो हो ?
संविधान कार्यान्वयनको नेतृत्व भनेको सरकारको नेतृत्व भन्ने अर्थमा मात्र बुझ्नु हुन्न । संविधान कार्यन्वयनमा लैजान हामीले धेरै कानुन बनाउनुपर्नेछ । त्यसका लागि राजनीतिक दलहरूबीच निश्चित समझदारी जुटाउन आवश्यक छ । सबै राजनीतिक दललाई समन्वय गर्दै कानून बनाउने भूमिका कांग्रेसले गर्छ । अब कांग्रेसले नेतृत्वदायी भूमिकामा अघि बढ्छ ।
सबै राजनीतिक दललाई समन्वय गर्ने क्षमता तपाईंमा छ भनिन्छ, सबैलाई मिलाएर लैजान सक्नुहुन्छ त ?
व्यक्तिगत रूपमा मेरो सबै राजनीतिक दलका नेताहरूसँग राम्रो सम्बन्ध छ । आत्मीय छ । म सबैलाई मिलाएर लैजान सक्छु जस्तो लाग्छ ।
सभापति निर्वाचित भइसकेपछि अरू दलहरूको शुभकामना कतिको आयो ?
बधाई आइरहेको छ । एमाले, एमाओवादीसहित सबै राजनीतिक दलका नेतालाई मलाई बधाई दिनुभएको छ ।
सुशील कोइरालाको निधनपछि संसदीय दलको नेता पनि खाली छ, अब यसको निर्वाचन कहिले हुन्छ ?
केही समयपछि हुन्छ । कांग्रेसले पूर्ण आकार लिएपछि कहिले गर्ने भनेर छलफल सुरु गर्छांै । सुशीलजी संसदीय दलको नेता निर्वाचित भएपछि दलको कार्यसमिति बन्न सकेन । यसले केही समस्या ल्यायो । विषयगत समिति बन्न सकेन । मन्त्रालय हेर्ने समितिहरू बनेका भए सरकारमाथि निगरानी गर्न सजिलो हुन्थ्यो । दलको निर्वाचनसँगै कार्यसमिति र विषयगत समिति चाडै बनाउन आवश्यक छ ।
संसद्को अधिवेशनअघि दलीय नेता निर्वाचन र विषयगत समितिहरू बन्छन् त ?
त्यो बनाउनै पर्छ । त्यो समिति नबनाउँदा सबै कुरा बिग्रेका हुन् । सबै ठाउँमा संसदीय दलको नेताले हेर्न सक्दैन । ‘वाचडग’को रूपमा काम समितिले काम गर्नुपर्ने हुन्छ । कार्यकर्ताहरूलाई पनि यसले प्रशिक्षित गर्छ ।
मधेसी मोर्चाले उठाएका मुद्दाहरूलाई लिएर भारतसँग चिसो सम्बन्ध बढेको छ, सम्बन्ध सुधारमा कसरी अघि बढ्नुहुन्छ ?
भारतसँगको सम्वन्ध ऐतिहासिक छ । खुला सीमा छन् । सांस्कृतिक, धार्मिक सम्बन्ध पनि जोडिएका छन् । दुई देशबीच रोटी–बेटीको सम्बन्ध छ । साथी बदल्न सकिन्छ, अर्कातिर छिमेकी बदल्न सकिँदैन भन्ने मान्यता छ । त्यसैले भारतसँग राम्रो सम्बन्ध राख्नुबाहेक हामीसँग अर्को विकल्प छैन । त्यस्तै चीनसँग पनि हाम्रो राम्रो सम्बन्ध छ । दुवै देशको सुरक्षा चासोलाई हामीले ध्यान दिएर छिमेकी राष्ट्रसँगको राम्रो सम्बन्ध राख्नुपर्छ ।
नेपाली नेताहरूको सम्बन्ध राजनीतिक तहमा नभई भारतीय कर्मचारीतन्त्रमार्फत् हुँदा समस्या आएको भन्ने छ, हो ?
हाम्रो सम्बन्ध राजनीतिक तहमै छ । प्रधानमन्त्रीसँगै राम्रो सम्बन्ध छ । यहाँ त राजदूतसँगै भेट हुने हो । अरूसँग हुन्न । सम्बन्ध त राजनीतिक तहमा भइरहेको छ । म दुई देशबीचको असमझदारी हटाउन म लाग्नेछु ।
भारत र चीनले नेपालको आफ्नो प्रभाव जमाउन प्रतिस्पर्धा गरेका छन्, दुई देशको यो प्रतिस्पर्धालाई कसरी सन्तुलनमा राखेर लैजानुहुन्छ ?
भारत र चीन आर्थिक विकासमा धेरै अघि बढेका छन् । उनीहरू व्यापार विस्तार गर्न पनि चाहिरहेका छन् । हामीले यसबाट धेरै चिन्ता लिइराख्नुपर्छ जस्तो लाग्दैन । दुई देशको आर्थिक वृद्धिबाट हामीले कसरी फाइदा लिने भन्नेबारेमा हामीले सोच्नुपर्छ । हामीले दुई देशबीच खेल्नु हुँदैन ।
नेपालमा एकपछि अर्काे समस्या उत्पन्न हुँदा विदेशी लगानी उत्साहप्रद हुन सकेको छैन, लगानी भित्र्याउने कुनै पहल तपाईंले सोच्नुभएको छ कि ?
लगानी भित्र्याउन, लगानीकर्ताहलाई सुरक्षित गर्न पहिला स्थिर वातवरण हुन आवश्यक छ । त्यसका लागि बलियो कानुन आवश्यक बन्नुपर्छ भन्ने मलाई लाग्छ । लगानी गर्ने भनेको फाइदा निम्ति हो । तर, नेपालमा लगानी गर्दा पुँजी डुब्छ भन्ने लाग्यो भने लगानीकर्ता किन आउँछन् ? हामीले लगानिकर्ता र नेपाललाई फाइदा हुने गरी कानून बनाउनुपर्छ । त्यसो गर्न सकिएको खण्डमा मात्रै विदेशी लगानी भित्रन्छ ।
विकासको सम्भावित क्षेत्र जलविद्युत् क्षेत्रमा समेत विदेशी लगानीको चर्चा कम हुन थाल्यो, यस्तो किन भयो ?
हो । हामीले विदेशी लगानीलाई सुरक्षा प्रदान गर्न सकेका छैनौं । कुनै जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ता आउँछन्, तर उनीहरूलाई काम गर्न बारम्बार अवरोध पुर्याइन्छ । अवरोध हटाउन सेना र पुलिस पुग्नुपर्छ । यो नै हाम्रो मुख्य प्रवृति र समस्या छ ।
अर्काे प्रसंगमा प्रवेश गरौं, यतिखेर न्यायाधिश नियुक्ति यतिबेला एउटा प्रकरण उब्जिएको छ, एकातिर लामो समय न्यायाधीश नियुक्त हुन नसक्नु र अर्कातिर नियुक्तिसँगै प्रकरणमा रूपान्तरित हुने खेललाई कांग्रेसले कसरी लिएको छ ?
मैले प्रतिक्रिया पनि दिइसकेको छु । धेरै साथीले फोन गरेर यस्तो प्रतिक्रिया किन दिएको भनिरहेका छन् । मैले सैद्धान्तिक सवाल उठाएको हुँ । फेरि भन्छु, न्यायाधीश नियुक्ति सिफारिस सैद्धान्तिक रूपमा सभामुखले फिर्ता गर्न हुन्नथ्यो । आज न्यायाधीश सिफारिस फिर्ता गर्ने नजिर स्थापित भयो भने भोली अरू विषयमा पनि त्यस्तै नहोला भन्न सकिन्न । सभामुख भनेको निष्पक्ष भूमिकामा बस्नुपर्ने व्यक्ति हो । त्यस्तो भूमिका रहने पदाधिकारीहरू विवादमा तानिनु हुन्न । तर सिफारिस रोक्दा सभामुखको निष्पक्ष भूमिकामाथि प्रश्न उठेको छ । न्यायपरिषद् भएको सिफारिस फिर्ता गर्ने काम सभामुखको होइन । त्यसका लागि संसदीय सुनुवाई समिति छ । सुनुवाई समितिमा प्रस्ताव पुगेपछि त्यहाँ छलफल गरी गलत भएमा फिर्ता लिन सकिन्थ्यो । अर्कातिर न्यायपरिषद् र कानुनमन्त्रीले समेत न्यायाधीश सिफारिस गर्दा विचार गर्नुपथ्र्याे । एमालेबाट सभासद भइसकेकी सपना मल्ललाई सिफारिस गर्नु कमजोरी हो । यसो भन्दा मैले महिलाको विरोध गरेको भन्ने अर्थ लाग्ला । त्यसरी भन्न खोजेको होइन । किनभने संविधान र कानुन जानेका अरू थुप्रै महिला थिए/छन् । न्यायाधीश हुन योग्य महिला हुँदाहुँदै स्पष्ट राजनीतिक रंग लागेको व्यक्तिलाई सिफारिश गरेपछि विवाद आउँछ नै । मेरो विचारमा त राजनीतिक दलबाट सभासद भइसकेको व्यक्तिले त्यस्तो पद स्वीकार गर्नु हुन्नथ्यो । पार्टीको एउटा जिम्मेवारी बहन गरिसकेको व्यक्तिले न्यायाधीश हुने इच्छा राख्न हुन्थेन । आखिर मल्लजी पनि विवादमा पर्नुभयो । यो राम्रो भएन ।
कांग्रेसको धारणा के हो त ?
सिफारिस फिर्ता गर्न सक्ने निकाय सुनुवाइ समिति छँदाछँदै सभामुखले प्रक्रिया अड्काउनु हुँदैनथ्यो भन्ने मात्रै हो । यसले गलत नजिर बस्छ । भविष्यमा अप्ठ्यारो पर्न सक्छ । प्रक्रिया र सिद्धान्त ठीक भएन मात्रै मैले भनेको हो । सभामुख भनेको सबैको हुनुपर्छ । सभामुखको कुनै प्रतिपक्ष हुन्न । यसले प्रधानन्यायाधीशलाई समेत विवाद तान्न खोजिँदै छ, प्रधानन्यायाधीशलाई विवादमा तान्नु हुँदैन ।
यस विषयमा राजनीतिक तहमा कुनै सहमतिको सम्भावना छ ?
सुनुवाइ समितिमा पठाइदिनुपर्छ, त्यही के गर्ने भन्ने विषयमा सहमति हुन्छ । संविधानसभाको सदस्य भइसकेको व्यक्ति न्यायाधीश बन्न हुँदैनथ्यो । त्यो गलत हुँदाहुँदै पनि प्रक्रिया अवरुद्ध गर्ने काम सभामुख हुनु राम्रो भएन ।
रामचन्द्रजी, कृष्णप्रसाद सिटौलाजीसँग सल्लाह गरेर अघि बढ्छु, सबैको इच्छामा पार्टीलाई एकताबद्ध बनाउने हो ।
रामचन्द्रजी ‘सिनियर’ साथी हुनुहुन्छ, उहाँले के जिम्मेवारी खोज्नुहुन्छ, सल्लाह गर्छु ।
योग्य, सक्षम, दु:ख पाएका र दु:ख गरेका साथीहरूलाई समेटेर जान्छु, सबैलाई पद पुग्छ, कोही छुट्दैनन् ।
पदाधिकारी मनोनयन तत्कालै नगरौं भन्ने विचारमा छु ।
प्राथमिकता सरकारतिर भन्दा प्रतिपक्षमा रहेको कांग्रेसलाई कसरी बलियो र प्रभावकारी बनाउने भन्नेतिर छ ।
सरकार ढाल्ने योजना छैन
सबै राजनीतिक दलहरूबीच सहमति र समझदारी जुटाएर प्रादेशिक सीमांकन समस्या सुल्झाउनुपर्छ ।
संविधान कार्यान्वयनमा लैजान धेरै कानुन बनाउनुपर्नेछ, त्यसका लागि राजनीतिक दलहरूबीच निश्चित समझदारी जुटाउनुपर्छ ।
भारतसँग राम्रो सम्बन्ध राख्नुबाहेक हामीसँग अर्को विकल्प छैन ।
न्यायाधीश नियुक्ति सिफारिस सभामुखले फिर्ता गर्न हुँदैनथ्यो ।
एमालेबाट सभासद भइसकेकी सपना मल्ललाई न्यायाधीशमा सिफारिस गर्नु कमजोरी हो ।
साभार: कान्तिपुर दैनिकवाट


0 comments:
Post a Comment