यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणका कार्यतालिका

By

काठमाडौं,फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओली फागुन ७ गते अर्थात भोलि राष्ट्रिय प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा निस्कन लागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको भ्रमणमा निस्कन लागेका ओलीको राजकीय भ्रमण हुनेछ । ५२ सदस्यीय प्रतिनिधि मण्डलसहित शुक्रवार प्रधानमन्त्री ओली भारत भ्रमण जाँदैछन् । भारतले यस अघि ०४८ सालको अन्तरिम मन्त्रिपरिषदका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको दर्जा प्रदान गरको थियो त्यसपछि भारतले प्रधानमन्त्री ओलीको भ्रमणलाई राजकीय भ्रमणको दर्जा प्रदान गरेको छ । ओली भारतीय राष्ट्रपति निवासमा बस्ने नेपाली प्रधानमन्त्री हुने भएका छन् ।

यस्ता छन् ओली भ्रमणका कार्यतालिका
प्रधानमन्त्री ओली फागुन ७ गते ५२ सदस्यीय टोलीसहित दिउसो ३ बजे नेपाल वायुसेवा निगमको आरए २०५ विमानबाट दिल्ली प्रस्थान गर्नेछन् । इन्दिरा गान्धी विमानस्थलबाट प्रधानमन्त्री ओली शुक्रवार सिधै राष्ट्रपति भवन जानेछन् । यस्तै प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनेछन् र उनले सेनाको सलामीको निरीक्षण गर्नेछन् । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धान्जलि अर्पण गर्नेछन्। सोही दिन प्रधानमन्त्री ओलीले हैदरावाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयहरुमा औपचारिक बैठक गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस लगत्तै शनिवार दिनको सवा ११ वजे प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री सुश्मा स्वराजले राष्ट्रपति भवनमै आएर शिष्टाचार भेट गर्नेछिन् । स्वराजसँगको भेटपछि प्रधानमन्त्री ओलीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वान टु वान भेटवार्ता हुनेछ । त्यस लगत्तै दुई देशका प्रधानमन्त्रीवीच औपचारिक वार्ता गर्ने कार्यक्रम तय गरिएको छ । शनिवार साँझ प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नराष्ट्रपति भवनमा भारतीय गृहमन्त्री राजनाथ सिंह र त्यसलगत्तै वित्तमन्त्री अर्जुन जेट्ली आउनेछन् । सिंह र जेट्लीसँग शिष्टाचार भेटपछि प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिसँग भेटवार्ता गर्नेछन् । सोही साँझ सवा ६ वजे प्रधानमन्त्री ओलीको भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुनेछ । फागुन ९ गते आइतवार प्रधानमन्त्री ओली हेलिकोप्टरबाट तहरी हाइड्रो पावरको निरिक्षण गर्न गर्न जाने कार्यक्रम तय भएको छ ।

हाइड्रो पावर प्रोजेक्टको निरक्षिणबाट फर्केपछि प्रधानमन्त्री ओलीले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् । सोही दिन दिउसो ४ बजे नेपाली दूतावासमा प्रधानमन्त्री ओलीले मिडिया अन्तरक्रिया र नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । १० गते सोमबार प्रधानमन्त्री ओलीसँग भारतीय ऊर्जाराज्यमन्त्रीले शिष्टाचार भेट गर्नेछन् । सोही दिन उनीसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता हुनेछ । सोमबार नै प्रधानमन्त्री ओलीले भारतको विश्व सम्बन्ध परिषदलाई सम्बोधन गर्नेछन् । सोमबार साँझ ६ बजे प्रधानमन्त्री ओलीले भारतीय उद्योगी ब्यवसायीलाई सम्बोधन गर्नेछन् । मंगलवार प्रधानमन्त्री ओली गुजरातको भुजस्थित पुनर्निर्माण परियोजनाको निरिक्षण गर्न जानेछन् । पुनर्निर्माण निरिक्षणपछि प्रधानमन्त्री ओली साँझ मुम्बई जानेछन् । मुम्बईमा महाराष्ट्रका गभर्नरले प्रधानमन्त्रीको सम्मानमा रात्रीभोज आयोजना गर्नेछन् । १२ गते बुधवार प्रधानमन्त्री ओलीले मुम्बइका उद्योगी ब्यवसायीहरुसँग छलफलल गर्नेछन् । छलफलपछि बुधवार साँझ ५ वजे प्रधानमन्त्री ओली काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल पनि टोलीमा रहनेछन् । यसैगरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका–संसद्का सदस्यहरु, नेपाल सरकारका मुख्यसचिव र सचिवहरु तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधिहरु पनि भ्रमण दलमा रहेका छन् ।

0 comments:

Post a Comment