नयाँदिल्ली, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानमाथिका असन्तुष्टिका नाममा भारतीय सीमामा अर्को नाकाबन्दी गर्नुपर्ने कुनै आवश्यकता नभएको बताएका छन्। भारतको राजकीय भ्रमणमा भारतमा रहेका प्रधानमन्त्री ओलीले आइतबार साँझ दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित पत्रकार सम्मेलनमा संविधानमा कुनै ठाउँमा विभेद र असमानता नरहेको र जनताले देखाएका कुनै विषय भएमा संवादका आधारमा संशोधन गर्न सरकार लचिलो भएकाले अर्को चरणको आन्दोलनमा जानुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुनः नाकाबन्दीको कार्यक्रम ल्याउने चेतावनी दिएको भन्ने भारतीय पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले एक हिन्दी गीतको बोल ‘कोही तो बतादो हमे’ स्मरण गर्दै भने– ‘संविधानमा कतै विभेद छ र पुनः नाकाबन्दी गर्छु भनेर कसैले भन्छ भने म स्वदेश फर्केर सोध्नेछु कि संविधानमा कहाँ छ विभेद ? किन असन्तुष्ट ? आउनुस् खुल्ला दिमागले छलफलमा बसौँ ।’
उनले नेपालमा आठवर्ष लामो प्रजातान्त्रिक प्रक्रियाबाट समावेशी लोकतान्त्रिक चरित्रको संविधान बनेको जनाउँदै भने– ‘यो रातारात वा एकाएक बनेको संविधान होइन । प्रक्रिया र सामग्री दुवै दृष्टिले लोकतान्त्रिक छ ।’
संविधान जारीपछि तराई–मधेसका दलले गरेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या उत्पन्न भएको थियो । हाल नाका सञ्चालन भएपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा आएका हुन्।
पछिल्ला दिनमा भारत–चीनसँग थप नाका खोल्ने र सहयोग लिने तयारीबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपाल कुनै मुलुकविरुद्ध कुनै मुलुकलाई प्रयोग गर्ने (कार्ड खेल्ने) पक्षमा नरहेको र संविधानपछिको नेपाललाई आर्थिक समृद्धिको बाटोमा डोर्याउन अग्रसर रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण दुई देशको सम्बन्ध विस्तारमा उल्लेखनीय उपलब्धि भएको बताउँदै भारत सरकार, दल, नेता, बुद्धिजीवी, जनता र सञ्चारमाध्यमले देखाएको स्वागत, आतिथ्यता र सौहार्दपूर्ण व्यवहारको प्रशंसा गर्दै अब दुई देशका बीचमा सबै प्रकारका असमझदारी हटेकाले आफ्नो भ्रमण सफल र परिणाममुखी भएको बताए ।
उनले भने– ‘मेरो भ्रमणको उद्देश्य पूर्णतः सफल भएको छ । म यहाँ कुनै खरिदसूची लिएर आएको थिइनँ । केवल मित्रता व्यक्त गर्न र लिन आएको हुँ । त्यो प्राप्त भएको छ । उनले भूकम्पपछिको अवस्थामा भारतले गरेको सहयोगप्रति धन्यवाद पनि दिए।
पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्ध पूर्ववत् (सामान्य) अवस्थामा फर्काउन भूमिका निर्वाह गरेको बताए ।


0 comments:
Post a Comment