पदक विजेता खेलाडीलाई जुडोको सम्मान

By

काठमाडौं,फागुन ११ । भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदमा जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकहरुलाई नेपाल जुडो संघले नगद सहित सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित ओलम्पियन सेमी कभर्डहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नगद प्रदान गरे ।

संघले स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजार प्रदान ग-यो । स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा फुपु ल्हामु खत्री, रजत प्राप्त गर्नेमा लिला अधिकारी र मनिता श्रेष्ठ प्रधान रहेका छन् । यस्तै कास्य पदक प्राप्त गर्नेमा सरिता चौधरी, गंगा चौधरी, पुनम श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ, रमेश मगर र शिव बहादुर बराम रहेका छन् ।

यस्तै प्रशिक्षकद्वय दलबहादुर गुरुङ्ग र ईन्द्र डंगोललाई जनही २० हजार र ब्यवस्थापक देवु थापा र गंगा बहादुर खड्कालाई जनही १५ हजार प्रदान गरिएको थियो । यसका साथै नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले आफ्नो ब्यक्तिगत तर्फबाट बिजेता खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई समेत करिव १ लाख ४ हजार बराबरको कार्पेट प्रदान गरेका थिए । यस्तै सोही अवसरमा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदक सदस्य सचिव केशव कुमार बिष्टलाई मायाको चिनो स्वरुप कार्पेट प्रदान गरिएको थियो ।
सो अवसरमा बोल्दै स्वर्ण पदक धारी फुपुले पदक जितेको क्षण जीवनकै अविस्मरणिय क्षण रहेको भन्दै आगामी दिनमा पनि राष्ट्रको लागि स्वर्ण पदक प्राप्त गर्न लालायित भएको बताईन् ।
कास्य पदकधारी रमेश मगरले आफुले राष्ट्रको लागि स्वर्ण पदक हासिल गर्ने मनाकाङछा रहंदा रहंदै पनि हात पार्न नसकेकोमा खिन्न भएको भन्दै उचित प्रशिक्षण प्राप्त गरेको खण्डमा स्वर्ण पदक प्राप्त गर्न सफल हुने बिश्वास ब्यक्त गरे ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै सदस्य सचिव बिष्टले सागमा प्राप्त मेडल नेपालका लागि उपहार भएको भन्दै सागकै आकर्षक खेल फुटबलले स्वर्ण पदक प्राप्त गर्दा राष्ट्रले खुसी मनाएता पनि सवै खेल समान रहेको बताए । उनले स्वर्ण पदकको संख्यालाई हेर्दा कमजोर देखिएता पनि समग्रमा हेर्दा सवै खेलाडीले आफ्नो कौशलतालाई पूर्ण रुपमा प्रयोग गरेको र स्वर्णलाई मात्र महत्व दिंदा अन्य खेलाडीलाई अन्याय हुने बताए । हामी आफ्नो तर्फबाट कमजोर नभई अन्य राष्ट्रले खेलकुदमा लगानी बढाएका र महत्व दिएका कारण खेलकुदमा प्रगती गरेकाले हामी भन्दाम अगाडी बढेको बताए । पराजित खेलाडीहरुले पनि आफ्नो तर्फबाट सक्दो मेहनत गरेका छन् । खेलडीकरुको मात्र कमजोरी नभई प्रशिक्षक, संघ, परिषद र राष्ट्रको समेत कमजोरी रहेकोमा उनले जोड दिए ।

0 comments:

Post a Comment