काठमाडौं,फागुन ९ । दिवंगत पूर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालाको स्मरणमा आज देशैभरीका काँग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । काँग्रेस केन्द्रीय समितिको निर्णयअनुसार देशैभरीका पार्टी कार्यालयमा पार्टीसभापति कोइरालाको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना गरिने भएको हो । काठमाडौंमा संयुक्तरुपमा सभा आयोजना हुदैछ भने, अन्य जिल्लाका लागि पार्टीले केन्द्रीय सदस्य खटाएको छ ।
पार्टी केन्द्रीय समिति र काठमाडौं जिल्ला समितिले काठमाडौंको शान्ति वाटिका रत्नपार्कमा श्रद्धाञ्जलीसभाको आयोजना गर्दैछन् । दिउँसो एक बजेदेखि श्रद्धाञ्जलि सभा सुरु हुने केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले जानकारी दिनुभयो । कार्यक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु, विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनीतिक पार्टीका प्रमुख एवम् कोइरालाका शुभेच्छुक तथा अन्य पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहने जनाइएको छ ।
यसैगरी आजै साँझ ६ नेपाल विद्यार्थी संघले शान्ति वाटिकामा दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गत माघ २६ गते महाराजगंजस्थित निवासमा निधन भएको थियो ।


0 comments:
Post a Comment