काठमाडौं,माघ २४ । प्रमुख तीन दल र तराईमा आन्दोलनरत मधेसी मोर्चाबीच हुने वार्तालाई सहज बनाउन गठन गरिएको दुवै पक्षको कार्यदलको बैठक अन्योलमा परेको छ । विवादित विषयमा सहमति जुटाइ सुझाव पेश गर्नका लागि गठन गरिएको कार्यदलको वैठक माघ ४ गते यता बस्न सकेको छैन ।
माघ ९ गते संविधान शंसोधन गरिएलगत्तै मोर्चाले कार्यदलको औचित्य सकिएको घोषणा गरेको थियो । मोर्चा कार्यदल तहमा वार्ता नगर्ने अडानमा बसेपछि तीन दलले मोर्चासंग छलफल गरि माघ १८ मा फेरी कार्यदल ब्युताएको बताएका थिए । तर त्यसयता पनि कार्यदलको बैठक बस्न सकेको छैन । स्रोतका अनुसार पटक–पटक वार्तामा बस्दा पनि सहमति जुटाउन असफल देखिएका कार्यदल सदस्यहरु कार्यदल बैठकमा आउनै अरुची देखाईरहेका छन् ।
मोर्चाका केही माग संविधान शंसोधनबाट पूरा भइसकेपछि प्रदेशको सिमाङकन विबादलगायतका विषयमा सहमति जुटाउने जिम्मा कार्यदललाई दिइएको छ । राजनीतिक संयन्त्र मार्फत सिमांकन विवाद हल गर्ने र त्यस्तो संयन्त्रलाइ संसदवाट अनुमोदन गराउने बिषयमा कार्यदल तहमा छलफल भईरहेको थियो ।
तर २० दिनयता कार्यदल बैठक बस्न नसक्दा विवादीत मुद्धाहरु यथावत छन् । कार्यदलमा नेपाली काग्रेसका तर्फवाट महेश आचार्य, नेकपा एमालेका तर्फवाट उपाध्यक्ष एवं रक्षामन्त्री भीम रावल तथा एमाओवादीका तर्फबाट कृष्णबहादुर महरा सदस्य हुनुहुन्छ । त्यस्तै मोर्चाको तर्फवाट तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयश त्रिपाठी, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका रामनरेश राय कार्यदलमा हुनुहुन्छ ।


0 comments:
Post a Comment