तारा एयरको विमान दुर्घटनास्थलबाट शव संकलन

By

बेनी,फागुन १३ । म्याग्दीको दाना–२ सोलीघोप्टे भीरमा बुधवार भएको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव सङ्कलन शुरु भएको छ । दुर्घटनाग्रस्त स्थल म्याग्दीको दाना गाविसको तिर्खेढुंगामा शव संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको छ। मौसम खरावीका कारण हिजो गएको टोली फर्किएपछि बिहीवार बिहान फेरि टोली त्यसतर्फ गएको हो ।
घटनास्थलमा तीनवटै निकायका करिब २०० सुरक्षाकर्मी परिचालन भएका र मौसम सफा भएकाले सजिलो भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उन्नाइसवटा शव घटनास्थलमा भेटिएका छन् । थप चारवटा शवको खोजी भइरहेको छ । शव सङ्कलन गरी हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको हो । भौगोलिक रुपमा बिकट उक्त स्थानमा बुधबार दिनभर हुस्सु लागेको र सामान्य वर्षा भएकाले घटनास्थल पहिचान भएपनि अन्य काम हुन सकेको थिएन ।

चालक दलका तीनसहित २३ जना सवार तारा एयरको ट्विनअटर विमान बुधबार बिहान सोलीघोप्टेको पहाडमा ठोक्किएर दुर्घटना हुँदा सबै यात्रुको मृत्यु भएको थियो । जहाज दुर्घटनामा परेकाहरुको शवलाई आजै काठमाडौं पठाइने खड्काले बताए।

0 comments:

Post a Comment