डा. केसीको स्वास्थ्य नाजुक, शिक्षणमा बहिरंग बहिष्कार

By

काठमाडौं,आसर ४ । त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरूले प्रा.डा.गोविन्द केसीको आमरण अनशन नबौँ दिन पुगिसक्दा पनि सरकार संवेदनशील नभएको भन्दै सोमबारदेखि शैक्षिक कार्यक्रमअन्तर्गतको बहिरंग विभागमा काम गर्न छाडेका छन्। उनीहरूले सम्बद्ध निकायबाट कुनै पाइला नचालिएकोप्रति खेद प्रकट गर्दै डा.केसीको जीवनरक्षाका लागि बाध्यतापूर्वक यो कदम चाल्नुपरेको जनाएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूले समेत केसीको अनशनमा ऐक्यबद्धता जनाएका छन्।कान्तिपुर दैनिकमा खबर छ । शिक्षण अस्पतालका करिब दुई सय ५० रेजिडेन्ट चिकित्सकहरूले अन्तरंग विभाग, इमर्जेन्सी र शल्यक्रियामा भने काम यथावत् जारी राखेका छन्। वीर अस्पतालका रेजिडेन्ट चिकित्सकले समेत मंगलबारदेखि कालोपट्टी बाँधेर काम गर्ने जनाएका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकहरू विभिन्न विरोध कार्यक्रमसँगै कालोपट्टी बाँधेर काम गर्न थालेका छन्। रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा.तुलसी भट्टराईले सरकारले आफूहरूद्वारा गरिएको विरोध कार्यक्रमलाई नसुने चरणबद्घ रूपमा कडा कार्यक्रम ल्याउन बाध्य हुने बताए। वीरमा करिब दुई सय ६० र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा त्यत्तिकै हाराहारीमा रेजिडेन्ट चिकित्सक छन्।

डा. केसीको अनशनको नौ दिन भयो, उहाँको जटिल स्वास्थ्यस्थितिले गर्दा अब कुर्न सक्ने स्थिति छैन,’ नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा.लिजन महर्जनले भने, ‘केसीको माग पूरा नभएसम्म हामी विभिन्न स्वरूपमा विरोध कार्यक्रम जारी नै राख्छौं।’ डा. केसीको स्वास्थ्यस्थिति जटिलतातर्फ गइरहेको उल्लेख गर्दै उपचारमा संलग्न चिकित्सकहरूले उनलाई कुनै पनि समय आकस्मिक चिकित्सकीय सहयोग आवश्यक पर्ने बताएका छन्। उपचारमा संलग्न डा.दिव्यासिंह शाहका अनुसार हाल केसीलाई सास फेर्नसमेत समस्या हुन थालेको छ। उनलाई निरन्तर अक्सिजन दिन थालिएको छ। उनलाई छाती दुखाइसँगै जीउ र मांसपेशी बटारिने र दुख्ने समस्या छ। रक्तचाप कम हुनुका साथै रगतमा चिनीको मात्रा पनि कम भएको छ।

ठूलो कोठामा सारियो डा. केसीलाई अनशनको नवौं दिन उपचारमा सहजताका लागि चिकित्सकीय सल्लाहअनुसार ठूलो कोठामा सारिएको छ। त्रिवि शिक्षण अस्पताल प्रशासनले सबै कोठामा ताल्चा लगाएपछि उनी करिब १० फिट लामो ५ फिट चौडाइ भएको सानो कोठामा अनशन बस्दै आएका थिए। डा.केसीले आफू अन्त सर्न नमाने पनि उपचारमा संलग्न चिकित्सा टोलीको विशेष आग्रहमा स्थान्तरण गरिएको हो। स्वस्थ्य अवस्थासमेत बिग्रिँदै गएकाले सानो कोठामा उपचार गर्न अप्ठ्यारो भएपछि प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र प्रा.डा. दिव्यासिंह शाहले नियमित चेकजाँच गर्ने क्रममा केसीलाई ठूलो कोठामा सर्न आग्रह गरेका थिए। उनलाई अहिले सातौं अनशन बसेको ठाउँमा नै सारिएको छ। हाल अनशन सुरु भएकै कोठाको छेउमा नयाँ कोठा छ। पाटन अस्पतालका डाक्टरहरूको समर्थन यसैबीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक संघले प्रा.डा. गोविन्द केसीको आठौं आमरण अनशनप्रति ऐक्यबद्धता जनाएको छ। संघले केसीका मागप्रति सरकारले उदासीनता देखाएकामा विरोधसमेत जनाएको छ। संघका अध्यक्ष प्रा.डा. भरत यादवले विगतका सम्झौता सरकारले पालना नगर्दा केसी आठौं पटक अनशन बस्न बाध्य हुनुपरेको जनाउँदै सम्बद्ध पक्षलाई तुरुन्त माग पूरा गरेर प्राण रक्षा गर्न आग्रह गरेका छन्। अनशनप्रति सरकार मौन रहेको उल्लेख गर्दै डा.यादवले हाल चिकित्सा शिक्षाको क्षेत्रलाई बदनाम बनाउनेहरू एकपछि अर्को हत्कण्डा अपनाउँदै गएको बताए।

0 comments:

Post a Comment