काठमाडौं,असार ५ । एचपी र सुगमको सिलिन्डरमा जोखिम भएको पहिल्यै थाहा थियो आपूर्तिमन्त्री गणेशमान पुनले १२ फागुनमा धादिङमा एचपी र सुगम ग्यासको निरीक्षण गर्दा सिलिन्डरको हाइड्रोलिक र हाइड्रोस्टेटिक परीक्षण नगरेको भेटिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। तर, अयोग्य सिलिन्डर नै भरिएर बजार पुगेकाले दुर्घटना भएका छन् । ७ जेठमा पाटनमा एचपीको सिलिन्डर पड्किएर तीनजनाको ज्यान गयो । ३१ वैशाखमा कालिमाटीमा सुगमको सिलिन्डर पड्केर एकको मृत्यु भयो।
ग्यास पड्कने ६ कारण
विश्वबाबु पुडासैनी :महानिर्देशक, गुणस्तर तथा नापतौल विभाग
१.नेपालमा उत्पादन हुने र आयात हुने ग्यास सिलिन्डरको गुणस्तर ‘नेपाल गुणस्तर ऐन’ले तोकेअनुसार नै नियमन भइरहेको छ । ग्यास उद्योगले नयाँ खरिद गरेको सिलिन्डरलाई गुणस्तर विभागले तोकिएको गुणस्तर परिधिभित्र रहेर परीक्षण गर्ने हो । तर, उद्योगीले खरिद गरिसकेपछि नियमित रूपमा प्रयोग हुन थालेको सिलिन्डरको जाँच गर्ने र सुरक्षाको विधि अपनाउने परिपाटीको विकास अहिलेसम्म हुन सकेको छैन । उद्योगीले सिलिन्डर कति सुरक्षित छन् भन्ने कुराको नियमन गर्न चासो दिएको पाइँदैन । उद्योगीसँग सिलिन्डरलाई सुरक्षित गर्ने पर्याप्त जनशक्ति र सुविधाहरू पनि रहेको देखिँदैन ।
२.सिलिन्डरको भल्बको नियमित परीक्षण गर्नुपर्छ । कतिपय ग्यास उद्योगले सिलिन्डरमा बिग्रिएर बसेका तथा ग्यास लिकेज हुने भल्बहरूलाई मर्मत गरेर पुनः अर्को सिलिन्डरमा लगाउने गरेका छन्, यो गलत हो । सिलिन्डरमा पुरानो भल्ब फालेर नयाँ प्रयोग गर्नुपर्छ । उद्योगीले पनि गुणस्तरीय भल्बहरू परिवर्तन गरिएको सुनिश्चितता गर्न सक्नुपर्छ । सिलिन्डरमा एकपटक भल्ब लगाएपछि प्रत्येकपटक ग्यास भर्दा लिकेज परीक्षण गरिन्छ ।
३.अधिकांश उद्योगले ग्यास सिलिन्डरको लिकेज परीक्षण गर्दा पानी प्रयोग गर्छन् । यसले सिलिन्डरको आयु घटाउँदै लान्छ । ग्यास लिकेज परीक्षण गर्ने मेसिन नै पाइन्छ । त्यस्ता मेसिनको प्रयोग गरिनुपर्छ । तर, अधिकांश उद्योगमा ग्यास लिकेज परीक्षण गर्ने मेसिन राखेको पाइँदैन ।
४.सिलिन्डर राम्ररी प्रयोग गर्दा एकपटक हाइड्रोलिक टेस्ट गरेपछि १० वर्षसम्म नगर्दा हुन्छ । सिलिन्डरलाई पानीमा डुबाउने, घाममा राख्ने गर्यो भने चाँडो कमजोर हुनसक्छ । बढी कुच्चिएको, वास्तविक आकार बिग्रिएको, बढी खिया लागेको सिलिन्डरमा जोखिम हुन्छ ।
५. सिलिन्डरको बाहिरी भागमा रङ लगाउनु भनेको फलामको पातालाई सुरक्षा गर्नु हो । रङ खुइलिएको सिलिन्डर घामपानीबाट चाँडै संक्रमित भई बिग्रन सक्छ । लामो समय रङ नभएको सिलिन्डर प्रयोग गर्दा पाताको बाक्लोपना पनि घट्न सक्छ ।
६. धेरै उद्योगमा घामपानीको सीधै उपस्थिति हुने बाहिरी भागमा सिलिन्डरहरू राखिएको देखिन्छ । निरन्तरको घामपानीले सिलिन्डरको आयु कम हुँदै जान्छ । डिलरहरूले पनि बाटोमा खुला तरिकाले सिलिन्डर राखेको देखिन्छ । यसो गर्नुभएन ।


0 comments:
Post a Comment