काठमाडौं,असार १ । सरकारले पूर्वप्रधानमन्त्रीहरुमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा बढी असुरक्षित रहेको ठहर गरेको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डको सुरक्षाका लागि गृह मन्त्रालयले २३ जना नेपाल प्रहरी र ४१ जना सशस्त्र प्रहरी खटाएको छ ।
प्रचण्डलाई सरकारले प्रहरीका अतिरिक्त बा १ झ १४७९ को जीपसमेत उपलब्ध गराएको छ । यसका अतिरिक्त प्रचण्डले प्रहरी प्रधान कार्यालयबाट एउटा निसान पेट्रोल जीप, एकजना चालक र मासिक १ सय ५० लिटर इन्धनसमेत लिने गरेका छन् । उक्त गाडीको मर्मत समेत प्रहरी प्रधान कार्यालयले नै गर्दै आएको छ ।
यसका अतिरिक्त ०६६ साल साउन ९ गतेको मन्त्रिपरिषद बैठकले प्रचण्डलाई ०६६ जेठबाट लागु हुने गरी आवास सुविधा वापतको घरभाडा, धारा, बिजुलीको बिललगायतको सुविधा उपलब्ध गराउँदै आएको छ ।
प्रचण्डपछि बाबुराम भट्टराईलाई सुरक्षा खतरा बढी रहेको सरकारको ठहर छ । त्यही अनुसार भट्टराईको सुरक्षामा २३ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी खटाएको छ ।
सरकारले पूर्वप्रधानमन्त्री भट्टराईलाई बा १ झ ८४८२ नम्बरको स्कारपियो गाडीसमेत सुविधा वापत उपलब्ध गराएको छ । उनले पनि प्रहरी प्रधान कार्यालयबाट मासिक १ सय ५० लिटर इन्धन, माज्दा पीकअप भ्यान र एकजना चालक समेत पाउँदै आएका छन् । उनले प्रयोग गर्ने गाडीको मर्मत प्रहरी प्रधान कार्यालयले गर्दै आएको छ ।
प्रचण्ड र भट्टराईपछि राज्यबाट बढी सुविधा लिने पूर्वप्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा छन् । देउवालाई दुईजना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको छ । उनले प्रहरी प्रधान कार्यालयबाट एउटा बोलेरो जीप, चालक, मासिक एक सय ५० लिटर इन्धन र गाडी मर्मत समेत गराउँदै आएका छन् ।
एमाले नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरु माधबकुमार नेपाल र झल नाथ खनालले पनि सुरक्षा र गाडी लिदै आएका छन् । उनीहरुले २ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी र गाडी सुविधा लिएका छन् ।
२०६७ चैत्र ९ गते बसेको मन्त्रिपरिषद बैठकले माधबकुमार नेपालका लागि भने छुट्टै निर्णय गरेको छ । ‘पूर्व प्रधानमन्त्रीहरुलाई इन्धन वापत मासिक २०० लिटर पेट्रोल उपलब्ध गराइएकोमा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको हकमा मासिक ३०० लिटर पेट्रोल उपलब्ध गराउने भनेर’ निर्णय गरेको छ ।
हरेक पूर्व प्रधानमन्त्रीले राज्यबाट मासिक २ सय लिटर इन्धन लिने गरेका छन् । उनीहरुले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरीबाट लिने गरेको इन्धन अनधिकृत हो । यस्तै अन्य पूर्व प्रधानमन्त्रीहरुले पनि राज्यबाट सुविधा लिइरहेका छन् ।
यस्तै पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्रीले पनि सुरक्षा खतरा रहेको छ भन्दै राज्यबाट सुरक्षा, इन्धन, चालक र गाडी सहितका सुविधा लिइरहेका छन् ।
-http://ift.tt/1XoSNZE


0 comments:
Post a Comment