माओवादी केन्द्रले माघमा एकता महाधिवेशन गर्ने, विभाग र प्रदेश इञ्चार्ज पनि तोकियो

By

काठमाडौं,असार ८ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको आकारलाई झन् बढाएर झण्डै १५ सय पुर्‍याएको छ । माओवादीले प्रदेश इञ्चार्ज, संयोजक र फ्र्याक्सन इञ्चार्जहरु पनि तोकेको छ ।
जम्बो आकारको केन्द्रीय समिति बनाइएको भनेर पार्टीभित्र भइरहेको आलोचनालाई बेवास्ता गर्दै माओवादीले १ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले केन्द्रीय कार्यालयको विस्तारित बैठकबाट एकता महाधिवेशन आयोजक समितिको सदस्य संख्या १०९९ लाई विस्तार गरी १४९९ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिइन् ।

महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई केन्द्रीय सदस्य मान्ने प्रचलन छ ।

केन्द्रीय सदस्यहरुको संख्या बढेसँगै पोलिटव्युरो, सचिवालय र केन्द्रीय कार्यालयको आकार पनि स्वतः बढेको छ । प्रवक्ता भुसालका अनुसार २५५ सदस्यीय पोलिटब्यूरोलाई २९९ सदस्यीय बनाइएको छ ।

यसैगरी ८५ सदस्यीय सचिवालयलाई बढाएर ९९ र ९ सदस्यीय केन्द्रीय कार्यालयलाई विस्तार गरी ३३ सदस्यीय वनाइएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

माघमा पार्टीको एकता महाधिवेशन

माओवादीले आउँदो माघ महिनामा पार्टीको एकता महाधिवेशन गर्ने घोषणा गरेको छ । त्यसको पूर्व तयारीको रुपमा साउन महिनाभित्र पार्टी, जनवर्गीय संगठन र मोर्चाहरुको एकता प्रक्रिया सक्ने लक्ष्य राखिएको छ ।

पार्टी सदस्यता नविकरण र अभिलेखीकरण भदौ मसान्तभित्र गरिसक्ने र पार्टीको स्थानीय तहका कमिटीहरुको सम्मेलन असोज मसान्तसम्म गरिसक्ने माओवादीले जनाएको छ ।

यसैगरी जिल्ला सम्मेलनहरु कात्तिक मसान्तसम्म सक्ने, प्रदेश सम्मेलनहरु मंसिर मसान्तसम्म सक्ने, जिल्ला सम्मेलन पूर्वमहाधिवेशनका लागि दस्तावेजहरुको मस्यौदा तयार गरी आन्तरिक छलफलमा लैजाने र माघ महिनामा एकता महाधिवेशन गर्ने माओवादी प्रवक्ता भुसालले जानकारी दिइन् ।

संगठन विभाग प्रमुखमा बादल

माओवादीले संगठन विभागको प्रमुखमा बादललाई तोकेको छ । स्कूल विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ छन् । सदस्यहरुमा मणि थापा र लेखनाथ न्यौपाने तोकिएका छन् ।

आदिवासी जनजाती विभागको इञ्चार्जमा देव गुरुङ र सदस्यहरुमा गोपाल किराती र सुरेश आलेमगर छन् ।

प्रचार विभागको इन्चार्ज पम्फा भुसाल, जलस्रोत विभाको इन्चार्ज लीलामणि पोख्रेल, उत्पादन तथा सहकारी र पर्यटन विभागको इन्चार्ज लोकेन्द्र विष्ट मगर र अनुशासन विभागको इन्चार्जमा अमिक शेरचन तोकिएका छन् ।

यसैगरी स्थानीय निकाय पुनरसंरचना समितिको संयोजकमा देव गुरुङलाई जिम्मा दिइएको छ । सदस्यहरु वर्षमान पुन, गोपाल किराती, विश्वभक्त दुलाल, उर्मिला अर्याल, हितमान शाक्य, प्रभु साह, गोमा कुँवर र जनक बुढा छन् ।

प्रदेश इञ्चार्ज पनि तोकियो

माओवादीले प्रदेश इञ्चार्ज र संयोजकहरु पनि तोकेको छ । प्रदेश नम्बर १ को इञ्चार्जमा राम कार्की, २ मा मात्रिका यादव, ३ मा रामबहादुर थापा ‘बादल’, ४ मा देव गुरुङ, ५ मा वर्षमान पुन, ६ मा जनार्दन शर्मा ‘प्रभाकर’ र प्रदेश नम्बर ७ लेखराज भट्ट छन् ।

नारायणकाजी श्रेष्ठलाई प्रवासको, कृष्णबहादुर महरालाई सदनको र सरकारको नेतृत्वको जिम्मा टोपबहादुर रायमाझीलाई दिइएको छ ।

माओवादी केन्द्रले मोर्चाहरुको फ्रयाक्सन इन्चार्जको जिम्मा पनि तोकिदिएको छ ।

मजदुरको फ्र्याक्सन इञ्चार्ज जयपुरी घर्तीमगर, किसान र सुकुम्वासीको हरिवोल गुजरेल, दलितको तिलक परियार, युवाको मणि थापा र विद्यार्थीको हितमान शाक्यलाई इञ्चार्ज तोकिएको छ ।

यसैगरी साँस्कृतिकको जिम्मा.विश्वभक्त दुलाललाई, प्राध्यापकको नारायण शर्मालाई, बुद्धीजीविको दिनानाथ शर्मालाई, शिक्षकको पुष्पविक्रम मल्ललाई र कर्मचारीको जिम्मा कृष्णबहादुर महरालाई दिइएको माओवादीले जनाएको छ ।

यसैगरी कानुन व्यवसायीको इञ्चार्ज वर्षमान पुनलाई, शहिद प्रतिष्ठानको हितराज पाण्डे, स्वास्थ्यकर्मीको अन्जना विशंखे, उद्योग, वाणिज्य र आपूर्तिको कुलबहादुर के.सी. ‘सोनाम’, कृषि प्राविधिकको श्रीराम ढकाल ‘प्रशान्त’, पूर्वजनमुक्ति सेनाको चक्रपाणि खनाल ‘बलदेव’, खेलकूदको टोपबहादुर रायमाझी र भूपु सैनिकको इञ्चार्ज सुरेश आलेमगरलाई बनाइएको छ ।

मात्रिका यादवले मधेसी मोर्चाको, लेखराज भट्टले सेती-महाकालीको, कालीबहादुर मल्लले कर्णाली मुक्ति मोर्चाको र पम्फा भुसालले पत्रकारको इञ्चार्जको जिम्मा पाएकी छन् ।

यसैगरी आदिवासी जनजाति महासंघको इन्चार्ज देव गुरुङ, सहइन्चार्ज गोपाल किराती र सुरेश आलेमगरलाई बनाइएको छ ।
-अनलाइनखबर

0 comments:

Post a Comment