काठमाडौं । बेलायतको राजधानी लन्डनको मेयरमा यसैहप्ता निर्वाचित भएपछि लेबर पार्टी नेता सदिक खानको विश्वभरि नै चर्चा भयो। औद्योगिक क्रान्ति पश्चात युरोपेली सभ्यताको केन्द्र बनेको लन्डन सहरको मेयर पदमा एक मुस्लिम निर्वाचित हुनुले धेरैलाई आश्चर्यमा परेको छ।
सदिक यस्तो समयमा मेयर पदमा निर्वाचित भए जब पश्चिमेली समाजमा ‘इस्लामोफोबिया’ अर्थात मुस्लिमप्रति पुर्वाग्रह र त्रास ज्यादै बढेको मानिन्छ। अझ, मेयरको रुपमा सदिकको बेलायती राजनीतिमा उदय अमेरिकामा डोनाल्ड ट्रम्पको उदयसँगै भएको छ। सदिक अहिले एक मेयर मात्र भएका र डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्न चुनावी प्रतिष्पर्धामा छन्।
पश्चिमी सञ्चार माध्यममा अहिले दुवैको उदयको चर्चा र तुलना हुने गरेका छन्।
ट्रम्प भन्छन्- मुस्लिमलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनु पर्छ। तर सदिक लन्डनको मेयर पदमा निर्वाचित हुनासाथ उनको बोली नरम भयो– मुस्लिम भएपनि सदिकलाई अमेरिका प्रवेशमा रोक लगाउनु पर्दैन, उनी अपवाद हुन्।
ट्रम्पको मुस्लिमप्रतिको पूर्वाग्रही धारणामाथि टिप्पणी गर्दै सदिकले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘इस्लामप्रति ट्रम्पको धारणाले दुवै मुलुकमा असुरक्षा बढाउँछ। यस्तो धारणाले शान्तिप्रिय र मुलधारका मुस्लिमलाई अप्ठ्यारोमा पार्छ। लण्डनले ट्रम्पलाई गलत प्रमाणित गरिसकेको छ।’
सदिकको निर्वाचिनले पुष्टी गरेको छ, ‘पश्चिमी समाजले मुस्लिमलाई हेर्ने दृष्टिकोण श्यामश्वेत छैन, लण्डन शहरको एकहजार वर्षको इतिहासमा मेयर पदमा पहिलो पटक एक मुस्लिम निर्वाचित भए।
कन्जरभेटिभ पार्टीका आफ्ना प्रतिद्वन्द्वी ज्याक गोल्डस्मिथलाई उनले तीन लाखभन्दा ठूलो मतअन्तरले हराए। लन्डनमा मेयर पदको निर्वाचनमा उक्त मत अन्तर पनि ऐतिहासिक नै हो।
बेलायतमा सदिकका पुर्खा सदियौंदेखि बस्दै आएको होइनन्। भारत-पाकिस्तान विभाजनको समयमा सदिकका हजुरबुबा मुस्लिम भएका कारण पाकिस्तान सरेका थिए। सन् १९७० मा सदिक जन्मनु केहि समयअघि मात्र उनका बाबु अमुल्लाह खान बेलायत बसाईं सरेका थिए। खानका सात छोरामध्ये उनी पाँचौ हुन्। उनकी एक दिदी छन्।
अभाव र गरिबीमा हुर्किएका थिए सदिक। बाबु अमुल्लाहले२५ वर्ष सार्वजनिक बस चलाए। आमा शेहरून महिलाका कपडा सिलाउँथिन्। उनको १० जनाको ठूलो परिवार तीनवटा साँघुरा कोठामा खुम्चिएको थियो।
सानैदेखि सदिकले प्रत्येक शनिबार घर-घरमा पत्रिका पुर्याउने काम गरे। यसपछि निर्माण कम्पनीमा मजदुरको रुपमा काम गरे। युनिर्भसिटी अफ नर्थ लण्डनमा श्रामिक भएरै दु:खका साथ पढे।
तर उनको यहि पारिवारिक पृष्ठभूमिले उनलाई राजनीतिको केन्द्रमा ल्याउन मद्दत गर्यो। यसै समय उनी बेलायतको लेबर पार्टीमा आबद्ध भए।
एक अप्रवासी मुस्लिमका लागि पश्चिमी क्रिस्चियन समाजमा जीवन बिताउन सजिलो थिएन। धार्मिक आस्था र छालाको रंगका कारण धेरै बाट सदिक र उनको परिवार हेपिएको पनि थियो। त्यसैकारण उनले बक्सिङ सिके। उनको भनाइ छ – बक्सिङ सिक्नु मेरो रहर थिएन, आवश्यकता थियो, खेलका लागि होइन आत्मरक्षा र आत्मसम्मानका लागि बक्सिङ सिकेको हुँ।
लामो दाह्री पालेका उनका बस चालक बाबुलाई बेलायती यात्रीहरू ‘पाकी सन्त’ भन्दै जिस्क्याउँथे। उनलाई खुव रिस उठ्थ्यो, तर सकेसम्म आफूलाई सम्हाल्थे।
कुनै समय चेल्सीका समर्थकले उनलाई मुस्लिम भएकै कारण उनको अपमान गरे। त्यसैले उनलाई चेल्सी पटक्कै मन पर्दैन। उनी लिभरपुलका फ्यान हुन्।
सदिक युनिभर्सिटी अफ नर्थ लण्डनबाट कानुनमा आफ्नो अध्ययन पुरा गरे।
अधिवक्ता बनेपछि उनले ‘रेसिजम’ विरुद्धको अभियानमा सक्रिय भए। सन् २००५ सम्ममा आउँदा उनले दर्जनौं रंगभेद विरुद्ध मुद्धा लडेका छन्।
राजनीतिमा उनको पहिलो महत्वपूर्ण मोड पनि २००५ नै थियो। आफू जन्मेहुर्केको टुटिङ निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै बेलायतको तल्लो सभामा लेबर पार्टीका तर्फबाट उनी सदस्य बने।
सन्२००५ यता उनी निरन्तर त्यस क्षेत्रका सांसद छन्। तीनवटा निर्वाचनमा उनले जित हासिल गरेका छन्।
सन् २००८मा सामुदायिक मन्त्री बन्दा उनी बेलायतकै दोस्रो मुस्लिम मन्त्री बनेका थिए। यसपछि यातायत मन्त्री बन्दै बेलायतको पहिलो क्याबिनेट मन्त्री बन्ने मुस्लिमको किर्तिमान समेत खानले कायम गरे। सन्२०१०को निर्वाचनबाट सत्तारुढ लेबर पार्टी प्रतिपक्षमा धकेलियो। यसपछि उनले विभिन्न मन्त्रालयको विपक्षी छाया मन्त्रीको रुपमा काम गरे।
उनको राजनीतिमा उदय अन्य मुस्लिमहरूका लागि पनि सम्मानको विषय हुनुपर्ने थियो। तर मुस्लिम धर्मभीरु कै तारोमा परे सदिक। उनले सन् २०१३मा समलैङ्गिक विवाहलाई वैधता दिने कानुनको पक्षमा मतदान गरे।
पटकपटक सदिकलाई मार्ने धम्की मुस्लिम कट्टरपन्थीबाट। धर्म बिक्री गरेको आरोपमा इस्लाम धर्मगुरू मुफ्ती मोहम्मद अस्लामले उनलाई इस्लाम आस्थाबाट च्युत भएको घोषणा मात्र गरेनन्, ‘फतवा’ पनि जारी गरे। सदिक यस्ता व्यक्ति हुन् जो कट्टरपन्थी मुस्लिम र ‘रंगवादी’ पश्चिमेली दुवैले मन पराउँदैनन्।
पश्चिमी मुलधारे राजनीतिमा मुस्लिम नेताहरू स्थापित हुँदा बढ्दै गएको इस्लाम उग्रवादको चुनौति कम गर्न सहज हुने उनको धारणा छ।
डोनाल्ड ट्रम्पको जस्तो कट्टरतावादी धारणाले इस्लाम र गैर-इस्लाम कसैको हित नहुने दृष्टिकोण उनको छ। उनको विश्वास सह-अस्तित्वमा छ, निषेधमा होइन। मेयरमा निर्वाचित भएपछि खानले भने– ‘म लण्डनवासी हुँ, म युरोपेली हुँ, म ब्रिटिस हुँ, म ईंग्लिस हुँ, मेरो आस्था इस्लाम हो, मेरो ओरिजिन एसियाली हो, अझ पाकिस्तानी हो, म बाबु हुँ, म कसैको श्रीमान् हूँ।’
अर्थात् पहिचान तरल हुन्छ र प्रत्येक व्यक्ति बहु-पहिचानको हुन्छ।
लण्डनको राजनीतिसँगै उदाएका सदिकलाई अब लेबर पार्टी कै मुख्य नेताका रुपमा हेर्न थालिएको छ।
सन्२०२०को निर्वाचनको तयारीको विषयलाई लिएर पार्टी प्रमुख जेरेमी कोर्बिनसँग उनको विवाद पनि सुरु भएको छ। पार्टीमा विभिन्न समुदायको सहभागिता बढाउने नीतिका लागि उनले गरेको प्रस्ताव पार्टी प्रमुख कोर्बिनले अस्वीकार गरिदिएका छन्। तर उनको प्रस्ताव अस्वीकार भएपनि पार्टीको वैकल्पिक धारको नेताको रुपमा उनी स्थापित हुँदै गएका छन्।
मुस्लिम कट्टरपन्थको आक्रमण पश्चिमी समाजमा बढ्दै गएको र त्यहाँ ‘इस्लामोफोबिया’ बढ्दै गएको समयमा उनको पश्चिमी समाजमा राजनीतिक उदय भएको छ। उनको उदय धेरैलाई आश्चर्य बनाउने किसिमको छ। लोकतन्त्रको जननी मानिने मुलुक बेलायतको राजधानीले एकपटक विश्व राजनीतिक र लोकतन्त्रका लागि एउटा उदाहरण पेश गरेको छ। सदिकको उदयलाई अमेरिकामा उदाएका अप्रवासन र मुस्लिम विरोधी ट्रम्पका लागि बेलायती जवाफका रुपमा धेरैले लिएका छन्।
(विभिन्न एजेन्सीको सहयोगमा।)
setopati.com


0 comments:
Post a Comment