मेरो कुरा मार्क्सवादविरोधी होइनः डा. भट्टराई

By

माओवादी राजनीतिबाट अलग्गिने निर्णयसँगै नयाँ शक्तिको निर्माण गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको वैचारिक धरातल के हो भन्ने बहस चलिरहँदा पत्रकार नरेश ज्ञवालीले यस पार्टीका संयोजक भट्टराईसँग भारतबाट प्रकाशित हुने ‘समकालीन तीसरी दुनियाँ’का लागि विशेष अन्तर्वार्ता लिएका छन्, जसलाई हामीले यहाँ प्रकाशित गरेका छौं ।

हाल कस्ता कामहरुमा व्यस्त हुनुहुन्छ ?

नेपाली समाजको रुपान्तरणमा जीवनको ४० वर्ष बिताएँ । बाँकी जीवन पनि समाजको आर्थिक सामाजिक रुपान्तरणसहित समृद्ध नेपाल निर्माण गर्दै समुन्नत समाजवादको आधार तयार पार्ने काममै केन्द्रित छु । त्यसैको निम्ति संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रण नेपालको जुन संविधान बन्यो त्यसलाई मैले राजनीतिक लोकतान्त्रिक परिवर्तनको चरण मुलभूतरुपमा पूरा भएको ठानेको छु । अब यस जगमा टेकेर आर्थिक विकास र समृद्धिको तला थप्दै समाजवादतर्फ जाने बाटो निर्माण गर्नुपर्छ भन्ने सोचका साथ वैकल्पिक राजनीतिक धार निर्माण गर्न नयाँ शक्तिको संगठनमा केन्द्रित छु ।

नयाँ पार्टी गठन गर्नुपर्ने आवश्यकता किन पर्‍यो ? कम्युनिस्ट आन्दोलन नै वैकल्पिक धार होइन र ?

विचार र दर्शन मानव सभ्यताको विकाससँगै संश्लेषित र विकसित हुँदै जान्छन् । कुनै पनि विचार र दर्शन सार्वकालिक हँदैनन् । झण्डै ३ हजार वर्ष पहिले विचार आए ती त्यस युगको निम्ति उपयुक्त थिए । आधुनिक पुँजीवादको विकाससँगै जसरी पुँजीवादी विचार आयो त्यसले पनि २–३ सय वर्षसम्म नेतृत्व गर्‍यो । १९औँ शताब्दीको अन्त्य तथा २०औँ शताब्दीको शुरुमा आएर मार्क्सवादी दर्शन अथवा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन अगाडि आयो, यसले पनि समाजलाई २० औँ शताब्दीमा अगाडि बढायो । आज २१औँ शताब्दीमा आइपुग्दा विज्ञान र प्रविधिको विकास नयाँ ढंगले भइरहेको छ । विज्ञान र प्रविधिमा आएको परिवर्तनले गर्दा उत्पादन प्रणाली र श्रम सम्बन्धमा पनि नयाँ परिवर्तन भएका छन् । खासगरी संचार जगतमा आएको परिवर्तनले मानिसको चेतनामा ठूलो परिवर्तन ल्याएको छ र विकासको गति अत्यन्त तीव्र छ । यसर्थ हामी आज मानवजातिले विकास गरेका सबै विचार र दर्शनलाई अहिलेको चेतनाको आधारमा विकसित र समृद्ध गरेर लानुपर्छ भनेर नयाँ विचारको खोजीमा छौं ।

म मार्क्सवादी दर्शनका मुलभूत कुरालाई ग्रहण गर्दै त्यसलाई आधुनिक युग अनुकूल विकसित गर्दै लानुपर्छ भन्ने मान्यता राख्छु । म कम्युनिज्म र मार्क्सवादको विरोधी नभएर त्यसको २१औँ शताब्दीको आवश्कता अनुकूल विकसित र समृद्ध गर्नुपर्छ भन्ने मान्यता राख्छु ।
नेपालको इतिहासका मुख्यतः तीन चरण छन् । पहिलोः १८ औँ शताब्दीको मध्यदेखि १९ औँ शताब्दीको सुरुसम्मको करिब ७० वर्षको कालखण्ड, नेपालको भौगोलिक एकीकरणको कालखण्ड रह्यो । दोस्रोः दोस्रो विश्वयुद्धदेखि अर्थात सन् १९४० देखि २०१५ सम्मको । यो लोकतान्त्रिक परिवर्तनको काल थियो, जुन हालै पूरा भएको छ । यसलाई पुँजीवादी लोकतान्त्रिक चरण भन्न सक्छौ । तेस्रो, समाजवादी नयाँ युगमा प्रवेशको चरण हो । त्यसको निम्ति उत्पादक शक्ति र श्रम शक्तिको तीव्र विकास र पर्यावरणीय सन्तुलनलाई कायम राख्दै नेपाललाई आधुनिक युगमा लैजाने र त्यसको जगमा टेकेर समृद्ध समाजवाद निर्माण गर्ने हो । यस युगलाई सम्बोधन गर्न नेपालमा नयाँ विचार र नयाँ विचारको जगमा टेकेको नयाँ राजनीतिक कार्यदिशासहितको संगठनको आवश्यकता पर्छ ।

तपाईंले जसरी कम्युनिज्म नै नयाँ विचार भन्नुभएको छ त्यो भनेको एउटा आदर्श हो, शोषणविहीन समाजको परिकल्पना हो । पूर्वीय दर्शनमा पनि रामराज्य, सत्ययुग भनेर त्यस्ता परिकल्पना गरिएका थिए । म अहिले पनि मान्छेले मान्छेमाथि शोषण उत्पीडन गर्ने परिपाटीको अन्त्य भएर आदर्श युग स्थापित होस् भन्ने चाहन्छु । भौतिकवादी कोणबाट हेर्दा समाजका उत्पादक शक्ति र सम्बन्धहरुलाई पनि ठिक ढंगले विकसित नगरीकन मान्छेको सांस्कृतिक स्तरलाई उन्नत नबनाएसम्म त्यस्तो युग एकै पटक आउँदैन । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन अरुभन्दा बढी वैज्ञानिक र सही छ भन्ने कुरामा म अहिले पनि विश्वस्त छु । तर मार्क्सवादका नाममा विभिन्न देशमा जस्ताखाले प्रयोग गरिए र आफूलाई मार्क्सवादी, कम्युनिस्ट भन्ने पार्टीहरुले जसरी मार्क्सवादको मूल मान्यता बिर्सिएर त्यसलाई धर्मशास्त्र र जडवस्तुमा परिणत गरे त्यसले थुप्रै समस्या निम्त्याएको छ । त्यसैले म मार्क्सवादी दर्शनका मुलभूत कुरालाई ग्रहण गर्दै त्यसलाई आधुनिक युग अनुकूल विकसित गर्दै लानुपर्छ भन्ने मान्यता राख्छु । म कम्युनिज्म र मार्क्सवादको विरोधी नभएर त्यसको २१औँ शताब्दीको आवश्कता अनुकूल विकसित र समृद्ध गर्नुपर्छ भन्ने मान्यता राख्छु । नयाँ शक्तिको वैचारिक राजनीतिक आधार पनि त्यही हो ।

तपाईं म मार्क्सवादविरोधी होइन भन्नुहुन्छ तर तपाईंको केन्द्रीय समितिमा त गैरमार्क्सवादी पनि देखिन्छन् । जनयुद्धको पृष्ठभूमिबाट आएका मानिसलाई स्थानै दिनुभएको छैन । अनि कसरी विश्वास गर्ने तपाईं मार्क्सवादलाई उन्नत बनाउने प्रयास गर्दै हुनुहुन्छ भनेर ?

म पदावली के प्रयोग गर्ने भन्ने विषयमा खुला रहनुपर्छ भन्ने मान्यता राख्छु । विज्ञान र दर्शनलाई एउटा नाम विशेषणसँग जोड्ने र त्यसलाई अपरिवर्तनीय बनाउने जुन पद्दति छ, त्यसले विज्ञानलाई विज्ञानको रुपमा नभई धर्मशास्त्रको रुपमा विकास गर्छ । हिन्दु, इस्लाम, इसाई, बौद्धजस्ता धर्म पनि कुनै खास समयका उन्नत चिन्तक÷विचारकका विचार हुन् । कालान्तरमा उनीहरुसँग जोडेर तिनको नामकरण गर्दै त्यसलाई कर्मकाण्डमा परिणत गरियो र धर्म भनियो । त्यस्तै मार्क्सवाद पनि द्वन्द्ववाद र भौतिकवादका दुई दार्शनिक प्रवर्ग मिलेर संश्लेषण गरिएको एउटा राजनीतिक दर्शन थियो । मार्क्स आफैले कहिलै पनि मार्क्सवाद भन्नुभएन । बरु मार्क्सकै जीवनकालमा केही उरेन्ठेउला मान्छेहरुले ‘म मार्क्सवादी हुँ’ भनेर मार्क्सको विचार र धारणा विपरीत काम गर्दा उहाँ आफै दिक्क भएर ‘आई एम नट अ मार्क्ससिस्ट’ भन्नुभएको थियो । मार्क्सको देहान्तपछि उहाँका अनुयायीले मार्क्सवाद भनेका हुन् ।

मार्क्स आफैले कहिलै पनि मार्क्सवाद भन्नुभएन । बरु मार्क्सकै जीवनकालमा केही उरेन्ठेउला मान्छेहरुले ‘म मार्क्सवादी हुँ’ भनेर मार्क्सको विचार र धारणा विपरीत काम गर्दा उहाँ आफै दिक्क भएर ‘आई एम नट अ मार्क्ससिस्ट’ भन्नुभएको थियो ।
त्यसपछि लेनिनवाद, माओवाद, गोन्जालो विचारधारा, किम इल सुङवाद र प्रचण्डपथ आदि आ–आफ्ना वाद र पथ थपिँदै गए । त्यसले मार्क्सलाई भ्रष्ट, विकृत र कुरुप बनाई दियो । हामीले पनि यसरी नै थप्दै जाने हो भने मार्क्सवाद कस्तो कुरुप बन्ला ? मैले अबको दुई हजार वर्षपछि मार्क्सवाद एउटा वैज्ञानिक दर्शन नरहेर एउटा धर्मशास्त्र, पन्थ बन्ने गम्भीर खतरा देखेको छु । त्यसैले मुख्य कुरा, द्वन्द्वात्मक भौतिकवादका आधारभूत नियमलाई पक्रने हो । त्यसमा टेकेर आजको युगको विज्ञान र चेतनाको आविस्कारअनुरुप त्यसलाई विकसित गर्ने हो । मार्क्सवादको दर्शनलाई धर्मशास्त्रमा परिणत गर्ने होइन । मार्क्सवादमा टेकेर आजको समाजका अन्तरविरोधलाई हल गर्दै अगाडि बढ्ने कुरा मुख्य कुरा हो ।

वैकल्पिक धारको कुरा गर्दा तपाईंको पार्टी र अन्य पार्टीबीच मूल भिन्नता के हो जसको आधारमा जनताले तपाईंको पार्टी र विचारधाराको चयन गरुन् ?

हिजो पुँजीवाद र व्यक्तिको निजी स्वार्थलाई पक्षपोषण गर्ने उदारवाद÷नवउदारवाद थियो र समाजवादको नाममा अन्यन्त केन्द्रीकृत नोकरशाही प्रकारको भ्रष्टीकृतजस्तो प्रणाली थियो । हामी त्योभन्दा माथि उठेर विचारलाई विकसित गर्न चाहन्छौँ । व्यक्तिका निजी स्वतन्त्रता, स्वत्वको सम्मान गर्दै उसको सामूहिक हितलाई प्रधानता दिएर समृद्ध समाजवादी मोडेल विकास गर्न चाहन्छौँ । अर्थात उन्नत प्रकार को समाजवादी प्रणाली । यसरी दिर्घकालीन रणनीतिक ढंगले हामी अरुभन्दा भिन्न छौ । नेपाली समाज भर्खर सामन्तवादको अन्त्यमार्फत पुँजीवादी क्रान्तिको चरणमा अगाडि बढेको छ । विश्व एकाधिकार पुँजीवादको जस्तो प्रकारको चंगुलमा छ, यसको बीचबाट यहाँ पुँजीवादी औद्योगिक उत्पादक शक्तिको विकास गर्दै समुन्नत समाजवादको आधार तयार पार्ने कामलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।

हिजो विश्वमा अत्यन्त नोकरशाही प्रकारको समाजवाद थियो त्यसलाई केही फरक ढंगले विकसित गर्ने एउटा बाटो भेनेजुयलाले खोलेको छ, त्यसलाई ग्रहण गर्नुपर्छ ।
साधारण भाषामा, हामीले राजनीतिको ऊपरि संरचनामा परिवर्तन ल्यायौँ, अब आर्थिक आधारमा मुलभूत परिवर्तन ल्याउनुपर्छ । त्यसो गर्न सकिएन भने अगाडि बढेको राजनीतिक सम्बन्ध र पछाडि परेको आर्थिक विकासको सम्बन्धबीच अन्तरविरोध पैदा हुन्छ र समाज अगाडि बढ्न सक्दैन । तत्कालीन हिसाबले आर्थिक विकास र समृद्धि हाम्रो मुख्य मुद्दा हो । यो अन्य पार्टीको तुलनामा सबैभन्दा नयाँ र फरक हुन्छ । पुँजीवादी प्रणालीले यति धेरै विसंगति ल्याएको छ कि अहिले पनि पश्चिमा देशमा १ प्रतिशत मानिसको र अन्य ९९ प्रतिशत मानिसको सम्पत्ति बराबर छ । विश्वबैंक आफैले असमानता सबैभन्दा ठूलो समस्या बताउँदै तथ्यांक निकालिरहेको छ । त्यसैले हामी अहिलेको विश्व परिस्थिति र नेपाल सुहाउँदो एउटा समृद्ध समाजवादको मोडेलमा जानुपर्छ । यही नै हामीलाई अन्य पार्टीहरुको तुलनामा फरक गर्ने आधार हो ।

विचारको आविष्कार गर्नेभन्दा पनि तपाईंमा कहीँ ठूलै महत्वाकांक्षा त पैदा भएको छैन ?

वादहरुकै आविष्कार गर्नु कुनै आवश्यक छैन । ज्ञान र विज्ञान भनेको प्रकृतिका, गतिका नियमका आधारमा संश्लेषित हुन्छन् । प्रारम्भिक वैज्ञानिकहरुले आफ्नो त्यतिबेलाको चेतनाको आधारमा नियम संश्लेषित गरेका छन्, तिनलाई भौतिक विज्ञानमा वाद भनिँदैन । पछिल्लो वैज्ञानिकले सार्वजनिक गरेको नियमलाई थप समृद्ध बनाउँदै लगिन्छ भने नयाँ वादको आविष्कार गर्नुमा मेरो कुनै रुचि छैन । यहीँनेर के भिन्नता देखिन्छ भने भौतिक विज्ञानमा नियम प्रतिपादन गर्नेको नाममा वाद भनिँदैन भने समाजविज्ञानमा काम गर्नेहरुले वाद र पन्थको नाम जोड्ने गरेका छन् । यस्तो प्रवृत्तिले विज्ञानलाई विज्ञानको रुपमा नभई धर्मशास्त्रको रुपमा परिवर्तन गरिदिन्छ । त्यसैले म अहिलेसम्मका विचारमा थप गरेर समाजअनुकूल समृद्ध विचारको खोज गर्न चाहन्छु ।

उन्नत किसिमको समाजवादको कुरा गर्दैगर्दा भेनेजुयलाको समाजवाद र तपाईंले विकसित गर्न खोजेको समाजवादमा कुनै एकरुपता ?

भेनेजुयला र हाम्रो परिस्थिति अलिक फरक छ । भेनेजुयलामा पहिले माथिबाट सत्ता हस्तक्षेप गरेर तलबाट समाजवादका भ्रुण तयार पार्दै जाने तथा माथि र तलको संयोजन मिलाउने कोसिस चावेजले गर्नुभएको हो । त्यसमा कतिपय सकारात्मक पक्ष छ । त्यहाँजस्तो पहिले माथिबाटै सत्ता हासिल गर्ने मोडेल सबैतिर लागू हुन कत्तिको सम्भव हुन्छ, त्यो बेग्लै कुरा हो । तर तलबाट जनताको सहभागितामा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने, सहकारी मोडेल विकास गर्ने जुन काम गरियो, ती सकारात्मक छन् । हिजो विश्वमा अत्यन्त नोकरशाही प्रकारको समाजवाद थियो त्यसलाई केही फरक ढंगले विकसित गर्ने एउटा बाटो भेनेजुयलाले खोलेको छ, त्यसलाई ग्रहण गर्नुपर्छ । तैपनि त्यहाँको राज्यसत्तालाई केन्द्रिकृत ढंगको ढाँचामा विकास गरियो, त्यसले गर्दा त्यहाँको समाजवादी मोडेल कसरी अगाडि बढ्छ, त्यो प्रश्नकै विषय हो ।

खासगरी स्तालिनको पालादेखि अत्यन्त राज्य केन्द्रित समाजवादी मोडेलका प्रयोग गरिए । अत्यन्त यान्त्रिक ढंगले समाजवादलाई बुझियो । सबैलाईमाथिबाट थोपर्ने तथा सबै राज्यको नियन्त्रणमा राख्ने प्रणाली कायम गरियो । पछिल्लो उत्पादन प्रणालीको विकास, श्रम सम्बन्धको विकास, विज्ञान प्रविधि र संचार जगतको विकासले गर्दा उक्त प्रणाली उपयुक्त छ भन्ने मलाई लाग्दैन । समाजवादको नयाँ मोडेलमा निजी स्वतन्त्रता र निजत्वलाई कायम गर्दै सामूहिक हित प्रवर्धन गर्ने परिपाटीलाई अगाडि बढाउने वैचािरक मान्यतालाई स्थापित गर्न चाहन्छौ । यसको संयोजन मिलाउने उपयुक्त विधि खोज्न चाहन्छौँ ।

एमाओवादी त्यागेपछि तपाईं कम्युनिस्ट रहनुभएन भन्ने आम धारणा छ । एक अन्तर्वार्तामा यहाँले ‘आफ्नो विगतको समीक्षा गर्दा आफूलाई रेडिकल डेमोक्रेटका रुपमा पाउने गर्छु’ भन्नुभयो । त्यसो भए तपाईंको कम्युनिस्ट राजनीतिक यात्रा लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म मात्रै थियो ?

रेडिकल डेमोक्रेटिक चेतना मैले शुरुको चेतना भनेको हुँ, पछिल्लो चेतना होइन । सन् ७० को दशकमा राजनीति शुरु गरेको बेला मेरो चेतना त्यस्तो थियो । सन् १९७२ मा भारत, चण्डीगढको पंजाब विश्वविद्यालयमा आर्किटेक्चर पढ्न गएको थिएँ । त्यहाँको लाइब्रेरीमा पुस्तक पढ्दै जाने क्रममा वैचारिक पक्षको विकास गरेँ । सन् १९७७ मा जब मैले ‘अल इण्डिया नेपेलिज स्टुडेन्ड एशोसियसन’ स्थापना गरेँ । त्यसबेला नेपालमा राजतन्त्रको निरंकुशता चरम सीमामा थियो । त्यसको अन्त्य गर्ने रेडिकल डेमोक्रेटिक चेतना लिएर राजनीति थालेँ । पछि मार्क्सवादी विचारलाई ग्रहण गरेँ र कम्युनिस्ट पार्टीमा प्रवेश गरेँ । किनभने कम्युनिस्टहरुले मात्रै राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउन सक्छन् भन्ने विश्वास थियो । त्यसपछि पुँजीवादी क्रान्ति सम्पन्न गरेर मात्र समाजवादी चरणमा जाने हो भनेर पहिले पुँजीवादी क्रान्ति सम्पन्न गर्न गणतन्त्र ल्याउनु पर्छ भनेर जोड दिएकै हो । तर परम्परागत कम्युनिस्ट पार्टी र माओवादीमा समाजवाद र साम्यवादजस्ता परका कुरा गरिरहने तर तत्कालै अहिले पुँजीवादी क्रान्ति सम्पन्न गर्नतिर नलाग्ने समस्या देखियो ।

सामन्ती कृषि प्रणालीलाई बदलेर आधुनिक औद्योगिक कृषि प्रणालीमा मुलुकलाई लग्दै समृद्धि हासिल गरेर समाजवादतर्फ जानुपर्छ भन्ने मान्यता रह्यो । पुँजीवादी क्रान्ति सम्पन्न गर्नुपर्छ भनेर यहाँसम्म ल्याइपुर्‍याउन मैले नै जोड दिएको हुँ ।
तत्कालै गर्नुपर्ने कुरा नगरेर अमूर्त र परका कुरा बारम्बार गर्ने हुनाले कम्युनिस्ट आन्दोलन विभिन्न टुक्रामा छरिन पुग्यो, त्यसप्रति मेरो जहिले पनि विमति नै रह्यो । अब सामन्ती कृषि प्रणालीलाई बदलेर आधुनिक औद्योगिक कृषि प्रणालीमा मुलुकलाई लग्दै समृद्धि हासिल गरेर समाजवादतर्फ जानुपर्छ भन्ने मान्यता रह्यो । त्यसै विषयमा पराम्परागत कम्युनिस्ट पार्टीका साथीहरुसँग एकमत हुन सकिएन । पुँजीवादी क्रान्ति सम्पन्न गर्नुपर्छ भनेर यहाँसम्म ल्याइपुर्‍याउन मैले नै जोड दिएको हुँ । यसअर्थमा मेरो ४० वर्षे राजनीतिक जीवनको अभीष्टः कमसेकम संघीय लोकतान्त्रिक गणतन्त्र अथवा पुँजीवादी क्रान्ति पूरा गर्ने चरणमा मुलुकलाई ल्याइपुर्‍याउने लक्ष्य पूरा भयो । अब समाजवादको दिशामा जानुपर्छ भन्ने स्पष्ट मान्यता छ । समाजवादमा पुग्नुअघि पुँजीवादी आर्थिक आधार तयार गर्नुपर्ने मेरो निचोड छ, त्यो परम्परागत कम्युनिस्ट माओवादीले बुझेको छैन । त्यसले मार्क्सवादै छाडेर पुँजीवादतर्फ फर्कियो भन्ने बुझ्छ । पुँजीवादतर्फ फर्केको होइन, पुँजीवादी चरणको खुड्किलोमा टेकेर समाजवादतर्फ जान खोजेको हो ।

उहाँहरु एकैपटक समाजवादमा जाने जुन कुरा गर्नुहुन्छ । यो प्रक्रिया नमिलाईकन फड्कन्छु भन्दा दुर्घटनै हुने हो । चीनमा माओले जनवादी क्रान्तिलगत्तै समाजवादमा जाने प्रयत्न गर्नुभयो, जुन हेर्दा क्रान्तिकारी निर्णय थियो । हामीले पनि युवाकालमा माओलाई नै समर्थन गर्‍यौं, तर देङ स्याओ पिङले पुँजीवादी आधार तयार पारौँ अनि समाजवादमा जान सकिन्छ र त्यो समाजवाद बलियो हुन्छ भनेका थिए । हामीले त्यसबेला देङ स्याओ पिङलाई दक्षिणपन्थी संशोधनवादी भन्याँै तर अहिले फर्केर हेर्दा चीन पनि पुँजीवादी आधार तयार पार्नतर्फ लागेको देखिन्छ । यसो नगर्दा समाजवादलाई टिकाउन गाह्रो पर्ने रहेछ । उत्तर कोरिया, भियतनामजस्ता देश न्यूनतम आर्थिक आधार तयार नगरीकन सिधै समाजवादमा जान्छु भन्दा अप्ठेरोमा परेका छन् । एउटा मात्र सकारात्मक उदाहरण के भने क्युबाले आफ्नो आधार क्रमशः तलैदेखि बनाउँदै भिन्न किसिमको समाजवादको मोडेल विकास गर्ने कोसिस गर्दैछ । त्यो अलिक टिक्यो तर अरु मुलुक सबै साधनस्रोत नियन्त्रणमा लिएर माथिबाट हस्तक्षेप गर्छु भन्दा समस्यामा परे । ती अनुभवबाट सिकेर राष्ट्रिय औद्योगिक पुँजीको विकासमार्फत समाजवादमा जानुपर्छ । यो मार्क्सवादविरोधी कुरा होइन, यो मार्क्सवादभित्रकै कुरा हो ।

एउटा कुरा स्पष्ट भनिदिनुस् न, तपाईंको दृष्टिकोणमा मार्क्सवादको सान्दर्भिकताको अन्त्य भइसकेको छ अथवा अझै त्यसको सान्दर्भिकता बाँकी छ ?

मार्क्सवाद भनेको द्वन्द्वात्मक भौतिकवाद हो । १९औँ शताब्दीमा विज्ञान र दर्शनको रुपमा मार्क्सवाद जसरी अगाडि आएको थियो त्यसका मुलभुत सिद्धान्तहरु अझै पनि सही छन् भन्ने लाग्छ । मार्क्सवादका दार्शनिक मान्यता सही छन्, त्यसैले त्यसमै टेकेर अगाडि बढ्नुपर्छ । तर मार्क्सवादलाई धर्म र पन्थ बनाउने मानिसहरुले यसलाई भ्रष्टीकृत गरे । खासगरी स्तालिनको पालामा एकदमै यान्त्रिक ढंगले भ्रष्टीकरण गरियो । अधिकांश देशका कम्युनिस्ट पार्टीले मार्क्सवादलाई धर्मग्रन्थको रुपमा मात्र प्रयोग गरे । त्यसमा समयअनुकूल विकास र परिवर्तन गर्न सकिरहेका छ्रैनन् । म मार्क्सवादका दार्शनिक मान्यता द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा टेकेर अगाडि बढ्न चाहन्छु । मार्क्सवादको नाममा भएका भ्रष्टीकरण, विकृति र विसंगतिलाई परित्याग गरेर समयअनुकूल नयाँ विचार र सोच आगाडि राख्ने साहस गर्दै छु ।

तपाईंलाई कहिलेदेखि मार्क्सवादको परम्परागत सोचले समाजवादसम्म पुग्न सकिँदैन भन्ने लाग्न थालेको थियो ?

शुरुमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापनाका गर्दै अग्रगमन र औद्योगिकरणको दिशामा जानुपर्छ भनेर सन् ७० को दशकमा सबै वैचारिक धार कांग्रेस–मालेसहितसँग समदूरी राखेर अगाडि बढेँ । पछि बिपी कोइरालाले राजासँग सम्झौता गर्ने नीति लिएपछि खासगरी पुष्पलाल, मोहनविक्रम सिंहलगायतका कम्युनिस्टले मात्र राजतन्त्रविरोधी नीति लिएर अगाडि बढेको हुनाले कम्युनिस्ट पार्टीमा लागेर राजतन्त्र अन्त्य र पुँजीवादी आर्थिक विकास गर्न सकिन्छ भनेर म कम्युनिस्ट भएँ । कम्युनिस्ट पार्टीमा सहभागी भएर जेएनयुमा पढ्ने क्रममा कम्युनिस्ट आन्दोलनका विभिन्न धारको, खासगरी स्तालिन, ट्रटस्की, माओ, चे ग्वेभारा र ग्राम्सीको अध्ययन गरेँ, तब अधिकांश कम्युनिस्ट पार्टीले स्तालिनको अत्यन्त यान्त्रिक र एकमनावादी चिन्तनलाई नै आदर्श बनाएको देखेँ । त्यसरी अत्यन्त केन्द्रीकृत नोकरशाही प्रकारको, माथिबाट लाद्ने, मोनोलिथिक ढंगले समाजलाई बुझने र समाजलाई त्यही ढंगले अगाडि बढाउने प्रयास र चिन्तनलाई मैले मार्क्सवाद ठहर्‍याउन सकिनँ । यहीँनेर यो मार्क्सवाद होइन र यहाँ त्रुटि छ भन्ने लागि नै रह्यो ।

फेरि पनि संसारको व्याख्या गर्ने मात्र होइन संसारलाई बदल्ने मुख्य कुरा हो भन्ने मार्क्सको भनाइ बुझेपछि संसार बदल्न संगठित शक्ति चाहिन्छ भनेर म पार्र्टीमा निरन्तर आबद्ध भइरहेँ, तर पार्टीभित्र स्तालिनको ब्युरोक्रेटिक र मोनोलिथिक ढाँचाविरुद्ध निरन्तर संघर्ष रहिरह्यो । मोहनविक्रम, किरण, प्रचण्ड सबैसँग यस विषयमा विमति र संघर्ष रहिरह्यो ।

प्रचण्डजी गतिशील हुनुहुन्छ तर कुनै विषयमा प्रतिबद्धता नभएको । उहाँको मुख्य ध्यान पार्टी र राज्यको सत्तामै केन्द्रित हुने गर्छ । प्रचण्डजीसँग त्यसै कारणले अलिक अप्ठेरो पनि छ ।
मेरो विचारमा समाजवाद उन्नत प्रकारको लोकतन्त्र हो । शासन प्रक्रियामा जनता प्रत्यक्ष सहभागी बन्ने मोडेल नै समाजवाद हो, जबकि उहाँहरुले जनताको सहभागिता, जनताको पहललाई कुण्ठित गर्ने तथा केही सीमित मान्छेले मात्र समाजको नेतृत्व गर्ने, कम्युनिस्ट पार्टीलाई भीमकाय संयन्त्रको रुपमा विकसित गर्ने जुन ढाँचालाई अगाडि बढाउनुभयो त्यसमा विमति रह्यो । खुला परिवेशमा आएपछि यो झनै भ्रष्टीकरण हुँदै गयो र माओवादी आन्दोलन आफ्नो मूल्यमान्यता र आदर्शबाट च्यूत भएर स्वार्थी, लोभी र भ्रष्टहरुको झुण्ड बन्न गयो । यसको बनोटै गलत छ भन्ने मेरो ठहर हो । त्यसैले प्रत्यक्ष जनवादको ढाँचा विकास नगरीकन, सहभागितामूलक जनवादको प्रवर्धन नगरीकन अब पुरानो प्रकारको कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने मान्यताका साथ नयाँ प्रयोग गरेको हुँ ।

तपाईंले प्रयोग गर्ने सोच्नुभएको ‘आर्थिक क्रान्तिसहित समाजवादमा प्रवेश’को मोडेलको रोडम्याप के हुनेछ ?

त्यसका विभिन्न मोडेल छन् । हामीले हाम्रो मुलुकको सापेक्षतामा लागू गर्नुपर्छ । अहिले विश्वमा वित्तीय एकाधिकार पुँजीवादको वर्चश्व छ । गर्दा त्यसको पकड र चंगुलबाट बचेर अर्थतन्त्र विकास गर्नुपर्छ भन्ने बहस अहिले विश्वव्यापी रुपमा, खासगरी ल्याटिन अमेरिकी मुलुकमा चलेको छ, जुन सही छ । नेपालमा बाह्य पुँजीको प्रभुत्व एकापट्टि छ भने यहाँ त पुँजीकै विकास भइसकेको छैन । यहाँ त पूर्ण गरिबी र बेरोजगारी ठूलो समस्याको रुपमा रहेको छ । उत्पादन शक्तिको सामान्य विकास नै हुन सकेको छैन । दुई तिहाइ जनसंख्या परम्परागत कृषिमा आधारित छ । निर्वाहमुखी कृषि प्रणालीको रुपान्तरण पहिलो प्राथमिकता हुनुपर्छ ।

अहिलेको तत्कालीन कार्यनीतिमा विप्लवले लिएको र हाम्रो कार्यनीति बिल्कुलै भिन्न छ । त्यसैले तत्कालै मिल्न सक्ने आधार देख्दिनँ ।
मार्क्सवादी भाषामा, सामन्तवादी आर्थिक आधारलाई पुँजीवादी आर्थिक आधारमा बदल्ने हाम्रो पहिलो लक्ष्य हुनुपर्छ । त्यसैले अहिले पुँजीवादविरोधी नीति हुँदैन । बरु राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्ने हाम्रो कार्यभार हुनेछ । अधिकांशले पुँजीवादको विकास भनेको पुँजीको विकास मात्र भनेर बुझ्छन, त्यसो होइन । यो भनेको श्रमिक र सामाजिक चेतनाको विकास पनि हो ।

राष्ट्रिय औद्योगिक पुँजीको विकासमा मुलभूत रुपमा राज्यको सहभागिता रहने छ वा कर्पोरेट पुँजीवादी घरानाहरुको ?

म त राज्य र कर्पोरेट घरानाभन्दा पनि उत्पादनमा प्रत्यक्ष सहभागी कर्ताको अर्थात त्यो समुदाय, सहकारी, श्रमिककै मुख्य भूमिका हुनुपर्छ भन्ने मान्यता राख्छु । राज्यले लगानीको ठिक ढंगले व्यवस्थापन मात्र गर्ने हो र निजी क्षेत्रले उद्योग खोल्ने, उद्यमशिलता प्रवर्धन गर्ने हो । यसमा भारत र चीनसँग पनि सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्छ ।

मोहन वैद्य ‘किरण’ र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बाबुरामको नजरमा कस्ता नेता हुन् ?

व्यक्तिगत रुपमा उहाँहरुप्रति अत्यन्तै सम्मान छ । मेरो वैचारिक मतभिन्नतामात्र हो । किरणजीको अन्त्यन्तै शास्त्रीय ढंगको बुझाइ छ । उहाँ इमान्दारितापूर्वक त्यसको पक्षपोषण गर्नुहुन्छ । मार्क्सवादलाई समयअनुकूल विकास गर्दै अगाडि बढाउनेभन्दा पनि कुनै खास सन्दर्भ समयमा प्रतिपादन गरिएका नियमलाई समातेर बस्ने उहाँको प्रवृत्ति छ ।

प्रचण्डजी गतिशील हुनुहुन्छ तर कुनै विषयमा प्रतिबद्धता नभएको । उहाँको मुख्य ध्यान पार्टी र राज्यको सत्तामै केन्द्रित हुने गर्छ । प्रचण्डजीसँग त्यसै कारणले अलिक अप्ठेरो पनि छ । उहाँ सक्षम र गतिशील नेता त हो, तर विचार, सिद्धान्त र मान्यताप्रति त्यति प्रतिबद्ध भने होइन । त्यसैले पहिलेको माओवादी पार्टीभित्र तीन वटा प्रवृत्ति थिए । एउटा, मार्क्सवादलाई यान्त्रिक र जड ढंगले बुझने किरणजीको प्रवृत्ति । मार्क्सवादलाई सृजनशील र गतिशील नियमको रुपमा बुझ्ने र विकासमा जोड दिने मेरो प्रवृत्ति । र, दुवैको बीचमा खेल्ने र सत्तामा केन्द्रित रहने तथा आफ्नो फाइदा कताबाट हुन्छ भनेर दुवैथरीलाई हुने खालको कुरा गर्ने तर सारमा दुवैतर्फ कतै पनि नहुने आत्मकेन्द्रित प्रचण्ड प्रवृत्ति नै हो । यस सन्दर्भमा प्रचण्डजीमा इमान्दारिताको कमी छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ र तपाईंको पार्टीबीच एकता वा कार्यगत एकताको सम्भावनाबारे बारम्बार चर्चा सुनिन्छ । यस चर्चाको कुनै ठोस राजनीतिक आधार छ ?

अहिलेको तत्कालीन कार्यनीतिमा विप्लवले लिएको र हाम्रो कार्यनीति बिल्कुलै भिन्न छ । त्यसैले तत्कालै मिल्न सक्ने आधार देख्दिनँ । तर पनि उहाँहरुले समाज बदल्ने जुन क्रान्तिकारी स्पिरिट लिनुभएको छ, त्योसँग मेरो विमति होइन । उहाँहरुले जुन बाटो लिनुभएको छ तत्काल त्यो बाटो आवश्यक र उपयुक्त छैन । हामीले केही समय शान्तिपूर्ण ढंगबाट उत्पादक शक्तिको विकासमा जोड दिनुपर्छ ।
-esamata.com

0 comments:

Post a Comment