काठमाडौं,बैशाख ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दिल्लीबाट झुटको पर्दाफास भएको छ । गत सोमबार पत्नी एवं सांसद आरजु देउवाको उपचारका लागि भारत गएका देउवाले आफू विशुद्ध उपचारका लागि भारत जान लागेको र दिल्लीमा कसैलाई नभेट्ने दाबी गरेको थिए ।
तर, त्यो दाबी झुटो साबित भएको छ । हुन त राजनीति गर्ने अधिकांश नेताहरु झुटो बोल्ने गर्छन् । यसमा देउवा पनि परेका छन् । उनले विहीबार भारतकी विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । विहान ११ बजे मन्त्रालयमै पुगेर देउवाले स्वराजसँग भेट गरेका थिए ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले देउवालाई ‘नेपालबाट आएका महत्वपूर्ण पाहुना’ भन्दै दुई नेताबीच भेट भएको तस्वीर ट्वीटरबाट सार्वजनिक गरेका छन् । भेटमा उनीहरूबीच के के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन् ।
यसअघि भारत जानुभन्दा पहिला आफ्नै निवास बुढानिलकण्ठमै पत्रकार सम्मेलन गरी देउवाले दिल्लीमा कुनै राजनीतिक भेटघाट नहुने बताएका थिए । काठमाडौंमा ओली सरकार परिवर्तनको चर्चा भइरहेको बेला देउवाले दिल्लीमा राजनीतिक भेटघाट थालेपछि झनै सम्भावना बढेको विश्लेषकहरुको टिप्पणी छ ।
पार्टी सभापति र संसदीय दलको नेता निर्वाचित भएपछि पहिलोपटक भारत गएका देउवाले दिल्लीमा राजनीतिक भेटघाट गर्नुलाई महत्वका साथ हेरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले उनको भेटघाटको चाँजोपाजो मिलाएको छ । देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्नसक्ने सम्भावना छ । ६ दिने भ्रमण सकेर देउवा आइतबार स्वदेश फर्किनेछन् ।
– dainiknepal.com


0 comments:
Post a Comment