प्रमुख तीन दलको सम्पत्ती कसको कति ?

By

काठमाडौं,बैशाख २० । कांग्रेससँग सात करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको केन्द्रीय कार्यालय सचिव प्रेम केसीले बताए। क्रियाशील सदस्यताको शुल्क र सांसदबाट यो रकम उठेको उनी बताउँछन्। कांग्रेसले प्रतिसंसाद पाँच हजार लेबी लिन्छ। कांग्रेसका दुई सय ६ सांसद छन्। पाँच लाख क्रियाशील सदस्यताबाट लिने शुल्क पनि कांग्रेसको आम्दानीको स्रोत हो। नयाँ सदस्यबाट दुई सय र पुरानो नवीकरणबाट सय रुपैयाँ शुल्क कांग्रेसले लिँदै आएको छ। १२ औँ महाधिवेशनसम्म तीन लाख १७ हजार सदस्य रहेकोमा यसपटक करिब पाँच लाख क्रियाशील सदस्य पुगेका छन्।

कांग्रेस केन्द्रीय कार्यालय ०६३ देखि ललितपुरको सानेपामा रहेको आफ्नै भवनबाट सञ्चालित छ। ६ रोपनी जग्गामध्ये दुई रोपनीमा ४२ कोठाको चारतले भवन छ। ०६१ मा थालिएको भवन निर्माणको काम अझै नसिकएको कार्यालय सचिव प्रेम केसीले जानकारी दिए। काठमाडौंको रविभवनमा कांग्रेसको नाममा २४ आना जग्गा र दुईतले भवन छ। त्यो जग्गा १५ वर्षअघि चितवनकी पूर्वसांसद मैयादेवी श्रेष्ठले कांग्रेसलाई दान दिएकी थिइन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

एमालेसँग दुई अर्बको अचल सम्पत्ति
सरकारको नेतृत्वमा रहेको एमालेसँग दुई अर्ब रुपैयाँबराबरको अचल सम्पत्ति छ। चलनचल्तीको मूल्यअनुसार एमालेको केन्द्रदेखि, अञ्चल, जिल्ला, नगर, क्षेत्र र गाउँ कमिटीसम्मको नाममा एक अर्ब ६३ लाखभन्दा बढीको जग्गा र भवन छ। फर्निचर, कम्प्युटरलगायतका सामग्रीको समेत मूल्य जोड्दा दुई अर्बभन्दा बढी सम्पत्तिको लगत संकलन भएको एमालेले जनाएको छ। सबै सम्पत्ति जनसहयोगबाटै जोडिएको एमालेको दाबी छ।

एमाओवादी : न बैंक खाता छ, न सम्पत्तिको यकिन
एमाओवादीसँग आफ्नै पार्टीको देशव्यापी चल–अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन। केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक–पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय (निर्मलकुमार)ले जानकारी दिए।

एमाओवादी केन्द्रीय कार्यालयले आफ्नै कार्यालयभित्रकै चल–अचल सम्पत्तिको विवरणसमेत राख्न सकेको छैन। हालसालै भने एमाओवादीले त्यस्तो विवरण राख्न सुरु गरेको छ। ‘हामीसँग पार्टी केन्द्रीय कार्यालयभित्रकै फर्निचर, कम्युटरलगायतका सामग्रीको कोडिट रिपोर्ट थिएन, त्यसको सुरुवात अहिले गर्न थालेका छौँ,’ उपाध्यायले भने।

0 comments:

Post a Comment