शान्ति मिसनमा जाने सैनिकलाई थप मजबुत बनाइने

By

नेपाली सेनाले शान्ति स्थापना मिसनमा जाने सैनिकहरूलाई थप प्रशिक्षण दिने भएको छ । शान्ति सेनामा जाने सबै तहका सैनिकलाई समयअनुसार मानसिक र प्राविधिक रूपमा सबल बनाउन सेनाले तालिमका थप कार्यक्रम अघि सारेको छ ।

सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार निर्माणलाई अघि बढाएको जनाएको छ । शान्ति स्थापना गर्न जाने अन्य सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समेत एकै स्थानमा राखेर एकीकृत शान्ति स्थापना मिसन प्रशिक्षणको योजना बनाइरहेको पनि नेपाली सेनाले जनाएको छ ।

केन्द्रका सहायक केन्द्रपति तथा प्रमुख सेनानी अशोककुमार खाँणले आगामी एक वर्षभित्रमा केन्द्रले शान्ति स्थापना मिसनको तयारीका लागि रणनीतिक स्तरको सेमिनार आयोजना गर्ने जानकारी दिए । उनका अनुसार हाल प्रमुख सेनानीसम्ममा केन्द्रमा तालिम दिइन्छ । उनले भने, ‘त्योभन्दा माथिका पदमा रहेकाहरू यो मिसनमा सिनियर लिडरका रूपमा सहभागी हुन्छन्, फोर्स कमान्डर र डिपुटी फोर्स कमान्डर हुन्छन् । उनीहरूका लागि सेमिनार गरेर छलफल गर्ने लक्ष्य रहेको छ ।’ खाँणले एक वर्षभित्रमा स्पेसल कोर्सका लागि समेत लबिङ गरिने बताए । अब नेपाली सेनाको शान्ति स्थापना मिसनको बारेमा सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूलाई समेत राखेर जानकारी दिइने उनले बताए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले असोज ११ मा जारी गरेको कमान्ड मार्ग निर्देशन २०७२ मा केन्द्रलाई र त्यहाँ हुने तालिमलाई स्तरोन्नति गर्दै जाने उल्लेख गरिएको छ । त्यहीअनुसार काम अघि बढिरहेको खाँडले बताए ।

प्रधानसेनापति क्षत्रीले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने तालिम कार्यक्रमलाई संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त गर्न प्रक्रिया अगाडि बढाउने र सुरक्षा निकाय लगायत निजामती क्षेत्रबाट समेत सहभागिता जुटाई  सेन्टर फर एक्सिलेन्सका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रसंघले सम्बन्धित देशका लागि तोकेको ‘डक्ट्रिन’ अनुसार तालिम गराउने जनाउँदै केन्द्रले अब ६ महिनाको मिसन एक वर्ष भएपछि जवानहरूमा मनोवैज्ञानिक र तनाव व्यवस्थापनबारे कोर्सको पनि सुरुआत गर्न लागिएको प्रमुख सेनानी खाँणले बताए । जवानहरूलाई आफू जाने मुलुकका केही आवश्यक भाषाको बारेमा समेत जानकारी दिइँदै आएको छ ।

मागअनुसारै सरकारले मिसनमा जाने नेपाली सैनिक संख्यामा वृद्धि गरेको सेनाले जनाएको छ । यसअघि ५ हजारमात्र सैनिकलाई शान्ति मिसनमा पठाउँदै आएकोमा अब कुल सैनिक संख्याको १० प्रतिशत शान्ति मिसनमा जान पाउने छन् । हाल नेपाली सेनाको आकार करिब ९६ हजार छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा अहिले सेना आफैं र विदेशीको सहयोगमा निर्मित ठूला घर र हल छन् । पछिल्लो पटक अमेरिकी सहयोगमा सबैभन्दा ठूलो हल सेनाले प्राप्त गरेको छ । मिसनका क्रममा मृत्यु भएका प्रमुख सेनानी कवीन्द्रजंग थापाको नाममा रहेको कवीन्द्र हलमा एकै पटक २१० जना बसेर प्रशिक्षण गर्न सकिन्छ । साथै, ५६ जनाको क्षमता भएको छुट्टै तीनतले महिला मैत्री हलको पनि निर्माण भएको छ । खाँणले भने, ‘साथमा प्रशिक्षणका दौरान गम्भीर र सामान्य चोटपटक लाग्ने जवानहरूलाई अब यही अस्पतालमा उपचार गर्न सकिन्छ ।’ केन्द्रमा एउटा भवन करिब एक दर्जन बेडसहित निर्माण भइसकेको छ ।

सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि १९५८ मा नेपालबाट पहिलो पटक ५ जना पर्यवेक्षक लेबनानमा गएका थिए । सन् १९७४ मा नेपाली सेनाको गण इजिप्टमा पहिलोपटक शान्ति स्थापनाका लागि गएको थियो । शान्ति मिसनका क्रममा हालसम्म ६३ नेपाली सैनिकको मृत्यु भएको छ  । हाल ४४ सय १० जना विभिन्न १५ मुलुकका मिसनमा तैनाथ छन् ।

Source : ekantipur.com

0 comments:

Post a Comment