नेपालको तेस्रो जित

By

दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिप

नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भुटानलाई ९०–३२ ले पन्छाउँदै बिहीबार प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पारेको छ ।

पहिलो हाफमा नेपाली खेलाडीको प्रदर्शन आक्रामक रह्यो । पहिलो क्वाटरमा २४–९ को अग्रता लिएको नेपालले दोस्रो क्वाटर ३४–६ ले आफ्नो पक्षमा पार्‍यो ।

त्यसपछि पहिलो रोजाइमा खेलाडीलाई विश्राम दिएको नेपालले तेस्रो र चोथो क्वाटरमा १६–१६ स्कोर जोडेको थियो । भुटानले तेस्रो क्वाटरमा ७ र अन्तिममा १० स्कोर गरेको थियो ।

लगातार सहज जित हात पार्ने क्रममा नेपालकी भावना लामाले सर्वाधिक २१ स्कोर गरेकी थिइन् । स्नेहा श्रेष्ठ र लुनिभा सिंहले १४–१४ स्कोर योगदान गरे । अनुषा मल्लले पनि १२ स्कोर गरेकी थिइन् । नेपालले पहिलो खेलमा बंगलादेशलाई ९२–२६ र दोस्रोमा माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो ।

‘खेल राम्रो भयो,’ नेपालका प्रशिक्षक विकास शाहीले भने, ‘अब अन्तिम खेलका लागि तयार छौं । श्रीलंकाले फिजिकल गेम खेल्ने गर्छ ।

हामीले उसलाई हराउन सुटिङमा अझै सुधार गर्नुपर्छ ।’ पहिलो रोजाइका खेलाडीलाई आराम दिन भुटानविरुद्ध अन्तिम दुई क्वाटरमा अरूलाई कोर्टमा उतारेको पनि उनले बताए ।

पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको उल्लेख गर्दै भुटानका प्रशिक्षक सोनाम तासीले भने, ‘श्रीलंकासँग खेलेभन्दा अलि सुधार भयो । तर, खेलाडी नर्भस देखिए । नेपाली टिम राम्रो छ र उसले घरेलु कोर्टमा राम्रो खेल्यो ।’

माल्दिभ्सलाई सफलता
त्रिपुरेश्वरस्थित कभर्डहलमा भइरहेको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा माल्दिभ्सले बंगलादेशमाथि ६२–२८ को जित निकाल्यो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दुवैको पहिलो सहभागिता हो र यस्तोमा माल्दिभ्सले पहिलो सफलता हात पारेको हो । माल्दिभ्सले पहिलो क्वाटरमा १७–४ को अग्रता लिएको थियो । उसले दोस्रो क्वाटर ११–६, तेस्रोमा २०–१० र अन्तिम क्वाटर १४–८ ले आफ्नो पक्षमा पारेको थियो ।

Source: ekantipur.com

0 comments:

Post a Comment