विराटलाई तेल ल्याउन दिन खड्काको योजनामा फेरी इन्धन अभाव

By

काठमाडौं,चैत १९ ।  नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले विराट आयललाई इन्धन बिक्री–वितरण गर्ने वातावरण मिलाउनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गरेको खुलेको छ ।
भारतबाट दैनिक २२ लाख लिटर इन्धन आइरहेको र इन्डियन आयल कर्पोरेसनले इन्धनको मूल्य घटाउन मिल्ने गरी मूल्यसूची पठाए पनि खड्काकै कारण बजारमा इन्धनको कृत्रिम अभाव गराइएको छ ।

खड्काकै निर्देशनमा राजधानीका पेट्रोल पम्पले इन्धन बिक्री–वितरण नगरी बन्द गरेर बसेका छन् । खड्कालाई कमिसन बुझाउने र उनकै निर्देशनमा चलेका पम्पले इन्धन वितरण नगरी त्यत्तिकै बसेका हुन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको पेट्रोल पम्पबाट इन्धन बिक्री–वितरण भए पनि अत्यधिक मागका कारण समस्या खडा भएको छ ।

निगमका प्रमुख खड्काले सहज रुपमा इन्धन वितरण नगर्न दिएकै निर्देशनका कारण राजधानीमा इन्धनको चरम अभाव भएको सम्बद्ध पक्षको भनाइ छ । प्रमुख खड्काले थानकोट डिपोका प्रमुखलाई पनि समयमा इन्धन नदिन भनेका छन् । ‘जताततै हाहाकार गराएर विराटलाई इन्धन बिक्री वितरण गराउने मार्ग प्रशस्त गर्न यस खालको प्रयत्न गरिएको हो,’ निगमका एक उच्च अधिकारीले बताए ।
ती अधिकारीकाअनुसार इन्धन अभाव भए पनि उपभोक्ताले बढी मूल्य तिरेर भए पनि इन्धन खरिदका लागि तयार हुने र सोही समयमा विराटको तेल कारोबार गर्ने मार्ग प्रशस्त गर्ने योजनामा खड्का रहेका छन् । सम्वद्ध स्रोतकाअनुसार विराटमा खड्काको ३३ प्रतिशत हिस्सा रहेको छ । निगमलाई डुबाएरै भए पनि विराटलाई अगाडि बढाउने दाउमा खड्का रहेका छन् ।
यद्यपि, मन्त्रिपरिषद्ले विराटलगायत इन्धन ल्याउन नसकेका दुई दर्जनभन्दा बढी कम्पनीको इजाजतपत्र खारेज गरिसकेको छ । इजाजतपत्र खारेज भएको भए पनि जस्केलाबाट प्रस्ताव लगेर खड्का विराटलाई पुनः अनुमतिपत्र दिलाउने खेलमा लागेका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको आफन्त पर्ने रोहिणी थपलियाको कम्पनीलाई भने सरकारले खारेज गरेको छैन । सोही कम्पनीको नाममा विराटलाई समेत मिसाएर इन्धन कारोबारका लागि मार्ग प्रशस्त गर्ने अभियानमा खड्का लागेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment