लामो मधेस आन्दोलनपछिको एसएलसी

By

ललाटमा कालो कपालको बाक्लो कापभित्र धारिलो पेन्सिलले कोरेजस्तो सिन्दुरे धर्को हल्का चियाइरहेको देख्नेबित्तिकै हामीले सोध्यौं, ‘तपाईं विवाहित हो?’

उनको अनुहारमा एकाएक गुलाब फक्रियो। आङमा ओढेको पातलो मजेत्रो दुई हातले तन्काएर सपक्क ढाक्दै उनले आफ्नो ज्यान कक्रक्क पारिन्।

र, शिर निहुराएर देब्रेतिरको ओठबाट मसिनो हाँसो फुस्काउँदै सानो स्वरमा भनिन्, ‘हो।’

कलैयाकी १६ वर्षीया रंगीता साहका लागि वर्ष २०७२ दुई कारणले महत्वपूर्ण रह्यो। पहिलो, यसै वर्ष केही महिनाअघि मात्र उनको विवाह भयो। दोस्रो, यसै वर्ष उनी एसएलसी दिँदैछिन्।

आमाबुवाले एसएलसीकै मुखमा बिहे गराइदिएपछि रंगीतालाई जाँच दिन पाउँछु कि पाउँदिन भन्ने चिन्ता थियो। जब घरपरिवार राजी भए, उनलाई परीक्षा नहुँदै पास भएजस्तो मन हलुका भयो।

एउटा अड्चन त परिवारको राजीखुसीले टार्यो, अर्को अड्चनले भने परीक्षा तयारीमा लागेकी उनलाई लामै समय छोपिरह्यो।

रंगीता कलैयाको ब्रह्मपुरीस्थित श्री महावीर नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट एसएलसी दिँदै छिन्। झन्डै छ महिना लामो मधेस आन्दोलनले उनको परीक्षा तयारीलाई नराम्ररी बिथोलिदियो। परीक्षाको मुखमा साढे दुई महिनाजति त स्कुलै लागेन। स्कुल लाग्दा पनि कक्षामा पढाइभन्दा अर्थोकै विषयले बढी चर्चा पाए। सामान्य बेला त राम्ररी पढाइ नहुने यहाँको स्कुललाई आन्दोलनको उत्कर्षले यस्तरी गाँजिदियो, कुनै पनि विषयका शिक्षकले कोर्स सक्न भ्याएनन्। उनीहरूले हात उठाएर सजिलै भनिदिए, ‘अब तिमीहरू आ–आफैं पढ्नू।’

लाख कोसिसपछि परिवारलाई आफ्नो शैक्षिक अभिरुचिमा सँगसँगै हिँडाउन सकेकी रंगीताका लागि अनाहकको यो कष्टले एसएलसी साँच्चिकै ‘फलामको ढोका’ बनेर आयो।

उनले परिवारसँग निजी ट्युसन सेन्टरमा ‘कोचिङ’ पढ्ने इच्छा बिसाइन्। एउटै विषयलाई दुई हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपथ्र्यो। उनी आफूलाई सबै विषयमा कमजोर ठान्थिन्। त्यसै पनि स्कुल त सबै विषयबाट टक्टकिइसकेकै थियो।

धन्न, यो नयाँ समस्यामा पनि हातेमालो गर्न रंगीताको परिवार सहर्ष अघि सर्यो।

‘म अहिले सबै विषयमा कोचिङ पढिरहेकी छु,’ सोमबार साँझ कलैया बजारको एक ट्युसन सेन्टरबाहिर भेटिएकी रंगीताले भनिन्, ‘बल्लतल्ल कोर्स त सकियो, तर खै जाँच कस्तो होला? साह्रै डर लागिरहेको छ।’

‘अरू बेला नि पढाइ हुन्थेन, शिक्षकहरू नै आउनुहुन्थेन। स्कुलमै पढ्न पाएको भए यत्रो पैसा तिरेर किन कोचिङ पढ्नुपथ्र्यो? मेरो तकदीर राम्रो रैछ, उहाँहरूले (परिवार) जति पैसा लागे पनि मलाई पढाउन ओके गर्नुभयो, नत्र जाँचै दिन सक्थिनँ होला। अब त जहिलेसम्म उहाँहरू मान्नुहुन्छ, पढिरहन्छु,’ उनले भनिन्।

रंगीतालाई एसएलसीपछि ‘अकाउन्ट’ पढ्ने इच्छा छ। उनी ‘अकाउन्टेन्ट’ बन्न चाहन्छिन्।

‘चार्टर्ड अकान्टेन्ट?’ हामीले सोध्यौं।

‘हैन,’ भनिन्, ‘उहाँ (श्रीमान) को बिजनेस छ। त्यही हेर्नुपर्छ भन्नुभएको छ। म त्यहीँ काम गर्छु।’

***

‘एचए बन्ने उद्देश्य छ’

मेरिगोल्ड स्कुल, कलैयाका निरज यादव देशको राजनीतिक उथलपुथलबाट दुईचोटि प्रभावित भए।

यसअघि २०६२ को जनआन्दोलनमा उनका बुवा प्रहरीको गोली लागेर घाइते भएका थिए, यसपालि मधेस आन्दोलनले उनको पढाइ नै घाइते हुन पुग्यो।

बुवा जितेन्द्र यादवलाई कलैया बजारमा गोली लाग्दा कक्षा एकमा पढ्दै थिए निरज। गाउँबाट साइकल चढेर कलैया स्कुलमा पढ्न आउँथे। त्यो दिन प्रदर्शनमा दुई जना आन्दोलनकारीको घटनास्थलमै मृत्यु भएको थियो। उनका बुवा भने गम्भीर घाइते भए। उनको पिठ्यूँमै गोली पसेको थियो। उनलाई पहिला वीरगन्जको नारायणी अञ्चल अस्पताल लगियो। गम्भीर अवस्था भएकाले हेलिकप्टरमा काठमाडौं लगी चार महिना वीर अस्पतालमा उपचार गरियो। त्यसपछि वीरगन्जको नारायणीमै फर्काइयो। त्यहाँ तीन महिना उपचार भयो। त्यहाँबाट दिल्लीको महेन्द्र अस्पताल रिफर भयो। दिल्लीमा तीन, चार महिना राख्यो।

‘बुवाको त्यतिधेरै उपचार गर्नुपर्यो। अझै हर चल्दैन। पिठ्यूँमा स्टिल लगाएको छ, हिँड्न डुल्न राम्ररी सक्नुहुन्न, बस्न सक्नुहुन्न,’ निरजले परिवारको व्यथा सुनाए, ‘जेठा दाइले सिएमए (कम्युनिटी हेल्थ असिस्टेन्ट) गरेर गाउँमै काम गर्न थाल्नुभएको छ। घरमा औषधी पसल राख्नुभएको छ। दाइको पसल मैले पनि हेर्न थालेँ, औषधी बेच्न थालेँ। त्यसपछि मेडिकलमा मेरो रुचि बढ्दै गयो।’

निरजले एसएलसी पास गरेर ‘एचए’ (हेल्थ असिस्टेन्ट) पढ्ने सपना देखेका छन्। दुई किलोमिटर टाढा शितलपुरमा घर भए पनि पढाइमा टक बसेका निरज कलैया बजारमै डेरा लिएर पढ्न बसेका छन्। ‘म एसएलसीपछि एचए पढ्न चाहन्छु किनभने म एचए नै बन्न चाहन्छु,’ उनले भने।

परीक्षाको मुखमा आन्दोलनले तयारी बिथोलेकोमा भने उनको गुनासो छ।

‘बुवाले घाइते भएको आन्दोलनपछि देशमा लोकतन्त्र आयो। आन्दोलन भने जारी रह्यो। मैले एसएलसी दिने वर्ष पाँच–छ महिना लामो आन्दोलन भयो। स्कुल बन्द भयो। आन्दोलन सकिएपछि शिक्षकहरूले डबल, ट्रिपल कक्षा लिएर हामीलाई पढाएका छन्। मैले त पाँच विषयमा ट्युसन पनि लिएँ,’ उनले भने।

‘आन्दोलन मात्र होइन, यसपालि भूकम्पले गर्दा पनि कक्षाहरू बन्द भए। त्यसकारण मेहनत बढी गरेको छु। एसएलसी सकेर काठमाडौं जान्छु र अंग्रेजी भाषा कक्षा लिन्छु, बेसिक कम्प्युटर तालिम पनि लिन्छु। उद्देश्य त एचए बन्ने नै हो।’

***

फस्ट ब्वाईको पीडा

गन्ज भवानीपुर, कलैयाका परवेज आलम कक्षा ९ मा ‘फस्ट’ भएका थिए। उनको ९१ प्रतिशत आएको थियो।

स्थानीय ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी दिन लागेका परवेज ‘ए प्लस’ आउनेमा ढुक्कै छन्। ‘आन्दोलनले पढाइ त डिस्टर्ब भयो, पढ्ने इन्भायरोमेन्ट पनि भएन, तर मैले आफूलाई एक्जाममै फोकस गरेको छु। तयारी राम्रो छ। ए प्लसै आउँछ,’ उनले भने।

सरकारी स्कुलमा पढ्ने रंगीता र निरजलाई जस्तो कक्षामा कोर्स नसकिएको कष्ट परवेजलाई छैन। उनको स्कुल निजी हो। उनी लगायत एसएलसी दिने विद्यार्थी धेरैलाई स्कुलले होस्टलमै राखेर पढाइरहेको छ। मधेस आन्दोलन बेला दुई–तीन महिना कक्षा नभए पनि स्कुलले छुट्टै कोचिङको व्यवस्था गरिदिएको थियो। शिक्षकहरूले बिहान–बेलुकी होस्टलमै आएर पढाएका थिए।

‘जुन गतिले पढाइ हुनुपर्ने हो, भएन, तैपनि सरकारी स्कुलका विद्यार्थीलाई जस्तो हामीलाई गाह्रो भएन,’ परवेजले भने, ‘होस्टलमै कोचिङ पढाएर भए पनि हाम्रो कोर्स कम्प्लिट गरिएको छ। अरू अतिरिक्त तयारी पनि लगातार भइरहेका छन्।’

यति हुँदाहुँदै परीक्षाको मुखमा चलेको आन्दोलनले मानसिकता भने बिथोलिएको उनी बताउँछन्।

‘कक्षा नभएपछि, बजारमा दिनरात भिडन्त भइरहेपछि हामीलाई त अन्योलै भयो नि,’ उनले भने, ‘के होला, कसो होला, जाँचै होला कि नहोला, भए पनि हामीले दिन पाउने हो कि होइन भन्ने चिन्ताले धेरै समय कन्फ्युज बनायो। धन्न, बेलैमा आन्दोलन रोकियो, हामीले शान्तिसँग जाँच दिन पायौं।’

परवेजको एसएलसी परीक्षासँग उनको मात्र होइन, उनको परिवारकै सपना जोडिएको छ।

दुई बहिनी र एउटा भाइका जेठा दाजु परवेजका बुवा १२ वर्षदेखि कतारमा छन्। उनले खाडीमा पसिना बगाएको आफू र भाइबहिनीकै भविष्यका लागि हो भन्ने परवेजले बुझेका छन्। उनका बुवा पनि कतारबाट बारम्बार फोन गरेर पढ्न हौस्याइरहन्छन्, झक्झकाइरहन्छन्।

‘बुवाको ठूलो सपना छ, मलाई क्याम्पस पढाउने। हरदिन कतारबाट फोन गरेर सोधिरहनुहुन्छ, कस्तो छ तेरो पढाइ? राम्ररी पढेको छस् नि हैन? झन् त्यो आन्दोलन बेला त उहाँको होसै हराएको थियो। मेरो पढाइ डिस्टर्ब भयो कि जाँच तलमाथि होला कि भन्ने साह्रै फिकर मान्नुहुन्थ्यो,’ परवेजले भने।

‘भाइबहिनी सानै छन्। बहिनी दुई कक्षा पढ्छे, भाइ एक कक्षा। मलाई क्याम्पस पढेर भाइबहिनीको जिम्मेदारी सम्हाल्नुछ। बुवाले धेरै काम गर्नुभयो कतारमा। मलाई यत्रो वर्ष पढाउनुभयो। अलिअलि कुरा बुझ्नसक्ने बनाउनुभयो। मेरो पनि त धर्म हो नि उहाँको दुःख बाँड्ने।’

पढाइमा तेज परवेजले आफ्नो दिमागमा भविष्यको धमिलो आकृति कोरिसकेका छन्।

‘म साइन्स पढ्छु,’ उनले भने, ‘डाक्टर बन्छु।’

***

लामो बन्दपछिको एसएलसी

रंगीता, निरज र परवेज मधेसका ती विद्यार्थी हुन्, जो लामो बन्दले शैक्षिक क्षेत्रमा पारेको प्रभावबीच बिहीबार सुरु हुने एसएलसीमा सरिक हुँदैछन्।

सरकारी र निजी स्कुलमा पढ्ने यी तीन विद्यार्थीमध्ये कसैले स्कुलबाट छुट्टै कोचिङ सुविधा पाएका छन् त कोही आफ्नै खर्चमा ट्युसन धाइरहेका छन्। समस्या भने सबैको एउटै छ– स्कुलमा कोर्स पूरा नहुनु।

हुन त आन्दोलन नभएका बेला पनि कोर्स भ्याउनु वा विद्यार्थीलाई तयार बनाएर जाँचहलसम्म पुर्याउनु सरकारी स्कुलको प्राथमिकताभित्र पर्दैन। सामान्य अवस्थामा पनि सरकारी शिक्षकहरू नियमित कक्षा लिन आइदिँदैनन्। यस्तोमा छ–छ महिना आन्दोलन चर्केर झन्डै दुई महिना स्कुलै ठप्प भइदिएपछि विद्यार्थीको पढाइलेखाइ चौपट हुने नै भयो। सबभन्दा बढी प्रभावित भए, एसएलसी परीक्षार्थी। उनीहरू आफ्नो गच्छेअनुसार निजी ट्युसन धाउन बाध्य भए वा पढाइमा अतिरिक्त खर्च गर्ने ल्याकत नभएकाहरू घरमै आफ्नै बलबूताले जेनतेन तयारीमा लागे। दुवै गर्न नसक्नेहरू ‘भाग्य भरोसा’ मा छन्।

उदाहरणका लागि, ब्रह्मपुरीस्थित श्रीमहावीर नेपाल राष्ट्रिय माविबाट २७ जनाले एसएलसी दिँदैछन्। तीमध्ये ८० प्रतिशत कोचिङ पढिरहेको परीक्षाथी ओमप्रकाश साहले बताए। ‘एउटै विषयको २५ सय तिर्नुपर्छ, सबैले त कहाँ पढ्न सक्छन्,’ उनले भने, ‘पैसाको कमीले कति त घरमै आफैं कोसिस गरिरहेका छन्।’

‘हामी कोचिङ आउनेहरू भ्याएसम्म साथीहरूलाई मद्दत गर्न खोजिरहेका छौं,’ उनले भने।

ग्यालेक्सी पब्लिक स्कुलकी प्रधानाध्यापिका नम्रता रिसाल आन्दोलनले पढाइलेखाइमा बाधा पारेको स्वीकार गर्छिन्। २२ वर्षदेखि स्कुल चलाइरहेकी उनी सरकारी स्कुलमा कोर्स भ्याउने समस्या रहे पनि आफूले परीक्षार्थीलाई होस्टलमा राखेर अतिरिक्त ट्युसनको व्यवस्था मिलाएको बताउँछिन्।

‘मलाई आफ्ना विद्यार्थीहरूबाट धेरै आशा छ, यस्तो प्रतिकूल अवस्थामा पनि उनीहरूले राम्रो नतिजा ल्याउँछन् भन्ने विश्वास लिएकी छु। त्यसका लागि मैले आफ्नो तर्फबाट गर्नुपर्ने योगदानमा कुनै कमी आउन दिएकी छैन,’ उनले भनिन्।

उता, बाराको गरहलस्थित श्री गम्भीरा ब्रजकिशोर माविका शिक्षक अजयकुमार साह अधिकांश विषयमा ७० देखि ८० प्रतिशत मात्र कोर्स सकिएको बताउँछन्। लेखाका शिक्षक उनले आफूले भने ९० प्रतिशत पूरा गरेको दाबी गरे।

‘पोहोर हाम्रो स्कुलबाट सय जनाले जाँच दिएकामा २५–२६ जना पास भएका थिए, एक जनाले त डिस्टिङ्सनै ल्याएको थियो,’ उनले भने, ‘यसपालि पनि सय जनाजति नै छन्। कोर्स नसकिएकाले विद्यार्थीलाई गाह्रो भइरहेको छ, हेरौं के हुन्छ!’

यस वर्ष ‘ग्रेडिङ’ प्रणालीले विद्यार्थीहरूलाई सजिलो भने भएको उनले बताए। ‘पास–फेलको सट्टा ग्रेडिङ व्यवस्थाले विद्यार्थीको डर हलुका भएको छ। पढ्न त पढिरहेका छन्, तर फेलै हुँला कि भन्ने डर छैन,’ उनले भने।

एसएलसीदेखि कक्षा ११ र १२ समेतलाई ट्युसन पढाउने द राइजिङ स्टार कोचिङ सेन्टरका सञ्जय पटेल पनि ग्रेडिङ प्रणालीका कारण धेरैले जाँचको डर नलिएको बताउँछन्। यसको असर उनीकहाँ पढ्न आउने विद्यार्थी संख्यामा परेको छ।

उनका अनुसार गत वर्ष सरकारी स्कुलकै झन्डै सय जना विद्यार्थी पढ्न आएका थिए। यसपालि जम्मा ३०–३५ जना छन्। बोर्डिङ स्कुलका पनि ६०–७० जना मात्र छन्। स्कुलले कोर्स भ्याउन नसकेका बेला यस्ता कोचिङ सेन्टरबाट विद्यार्थीलाई मद्दत भने भएकै छ।

बन्द बेला पनि अगाडिको ढोका बन्द गरेर भित्रभित्रै कक्षा चालू राखेको पटेल सम्झन्छन्।

***

दाजु–बहिनी सँगसँगै एसएलसी

ईश्वर जयसवाल र उनकी बहिनी कलैया बजारको श्री ३ चन्द्र उच्च माविबाट एसएलसी दिँदैछन्। दुई महिना स्कुल बन्द भएर कोर्स नसकिएपछि ईश्वर कलैया बजारकै राइजिङ स्टारमा ट्युसन पढ्न थालेका छन्।

‘कतिपय शिक्षकलाई गाउँदेखि आउनुपर्ने हुन्थ्यो, उहाँहरू आउन सक्नुभएन। दुई महिनाजति बन्द भएर बल्लतल्ल खुल्यो। तर, बिहान–बिहान स्कुल लाग्दा शितलहरीले राम्ररी पढाइ हुन पाएन,’ उनले भने।

आर्थिक गच्छेअनुसार उनी आफू ट्युसन पढ्न आउँछन् र घर गएर बहिनीलाई सिकाउँछन्।

‘तयारी दुवैको ठिकै छ। डर पनि लागिरहेको छ। राम्रै हुन्छ होला,’ कक्षा ९ मा ६२ प्रतिशत ल्याएका ईश्वरले भने।

ईश्वरसँगै कोचिङ पढिरहेकी विनिता गुप्ता घरमा कलेज पढ्ने दिदी भएकीले सजिलो भएको बताउँछिन्। ‘घरमा पढाउने मान्छे भएर पनि राम्रो भो,’ उनले भनिन्, ‘स्कुलमा पढाइ नभएको केही विषयमा कोचिङ आउँछु, केही दिदीले घरैमा सिकाइदिनुहुन्छ।’

‘सबै विषय स्कुलमै राम्ररी पढ्न पाएको भए जाँचको बेला यति हडबड हुने थिएन,’ कक्षा ९ मा ५० प्रतिशत ल्याएकी विनिताले भनिन्।

 

‘प्लस टु पढ्न वीरगन्ज जान्छु’

सन्तोषकुमार यादव

मदरसा स्कुल

कलैया नगरपालिका–८

मैले एसएलसी दिन लागेको स्कुलको नाम मदरसा भए पनि यो ईश्लाम धार्मिक विद्यालय होइन। नामै त्यस्तो परेको हो।

मेरो घर कवै दरबार भन्ने ठाउँ सीमाछेउ छ, कवै गाविसमा पर्छ। म डेरा गरी बस्ने सदरमुकाम कलैया आइपुग्न गाउँबाट ३०–३५ किलोमिटर बस यात्रा गर्नुपर्छ। मेरो घरमा हजुरबुवा, हजुरआमादेखि नै तीन पुस्ता बस्ने ठूलो परिवार छ। दुई भाइ छन्, उनीहरू गाउँकै स्कुलमा पढ्दैछन्।

गाउँमा हाइस्कुल त छ, प्लस टुसम्म पनि छ तर म तीन वर्षदेखि कलैयामा डेरा गरी पढ्दैछु। यहाँ पढाइ राम्रो हुन्छ र राम्रो पढेर भविष्यमा केही गर्ने मेरो सपना भएकैले म यति टाढा एक्लै डेरा बस्न आएको हुँ। तपाईँ सोध्नुहुन्छ भने म भन्छु मेरो सपना डाक्टर बन्ने छ। म विज्ञान विषय रुचाउँछु, मेहनत गर्छु र डाक्टर बन्न चाहन्छु।

यसपालि आन्दोलन लामो समय चल्यो। छ महिना स्कुल लागेन। पढाइमा असर पर्ने नै भयो। खाना पकाउन ग्यास अभाव भयो, सामान महँगो भयो। कापी–किताब पाउन मुश्किल पर्यो। गाउँ जान गाडी पनि पाइएन। साइकलमा जानुपर्यो।

पढाइ रोकिएकाले चिन्ता त धेरै हुने नै भयो। त्यसैले यहीँ ट्युसन लिन थालेँ। ट्युसन त सबै जना पढेकै छन्। स्कुलजस्तै कक्षा कोठामा पढ्ने हो। मेरो ट्युसन कक्षामै ४०, ५० जना हुन्थे। अर्कै स्कुलका शिक्षकले पढाउँथे। मैले चार विषयमा ट्युसन लिएँ। अनिवार्य र स्वैच्छिक गणित, विज्ञान र अंग्रेजी।

एउटा विषयको २५ सय रुपैयाँ बुझाउनुपथ्र्यो। ट्युसन शिक्षकहरूले राम्ररी सम्झाएर पढाए। शिक्षकहरूले मलाई तिमी त पास भइहाल्छौ भनेका छन्।

पास र फेलको त कुरै भएन। यसपालिदेखि एसएलसीमा कोही फेलै हुँदैन। सबै पास हुन्छन्। यो सिस्टमको सवभन्दा नराम्रो पक्ष यही हो। कोही फेल नहुने भएपछि मेहनत नगरे पनि भयो भन्ने पर्नसक्छ।

विज्ञान र गणितमा त राम्रै नम्बर ल्याउँछु जस्तो लाग्छ। सामाजिकमा भने अलि कम आउला कि? म त फस्ट डिभिजन ल्याउन चाहन्छु। नत्र साइन्स पढ्न कहाँ पाइन्छ र? एसएलसी गरेपछि प्लस टु पढ्न वीरगन्ज जान्छु। त्यहीँ उच्च शिक्षा हासिल गर्ने योजना छ।

‘युनिफर्म नलाई स्कुल आउन भन्थ्यौं’

पचु साह

शिक्षक, बालएकता बोर्डिङ स्कुल

कलैया

मैले यो स्कुलमा पढाउन थालेको एक वर्ष भयो। यसअघि यहीँको ग्यालेक्सी स्कुलमा छ वर्ष पढाएँ।

बोर्डिङ स्कुलहरूको पढाइ सरकारीको भन्दा राम्रो हुन्छ। सरकारी स्कुलका शिक्षक बढी त राजनीतिमा सक्रिय हुन्छन्, कक्षा लिए पनि ठीकसँग मन लगाएर पढाउँदैनन्। जबकि तलब भत्ता स्थायित्व सबै सुविधा उनीहरूकै बढी हुन्छ।

सरकारी स्कुलमा प्रायः गरिब अभिभावकका बालबच्चा पढ्छन्। आयस्रोत नहुनेहरूका छोराछोरीको आश्रय हुन पुगेका छन् सरकारी स्कुल। उनीहरू स्कुल गएर आफ्ना छोराछोरीको पढाइ–लेखाइ सोधपुछ गर्दैनन्। बोर्डिङ स्कुलमा भने फी तिरेको हुन्छ, अभिभावक पनि टाठै हुन्छ। स्कुल गएर सोधपुछ गर्छ, गुनासो गर्छ, शिक्षकहरू पनि चनाखो हुनैपर्छ। हामी भने निजी अर्थात् बोर्डिङ स्कुलमा कम पैसा लिएर पनि उत्कृष्ट शिक्षा दिइरहेका छौँ।

आन्दोलनभरि सरकारी स्कुल सबै ठप्प भए। हामीले भने चलायौं। गुपचुप चलायौं। कहिलेकाहीँ स्थिति तनावग्रस्त हुँदा हाफ टाइमसम्म चलाउने गर्यौं। विद्यार्थीहरूलाई स्कुल युनिफर्म नलाई स्कुल आउन भन्थ्यौं, उनीहरू ट्युसन पढ्न आएजस्तो देखिन्थे। साहस नै गरेका हौँ।

म बोर्डिङ स्कुलमा पढाउने भए पनि सरकारी स्कुलका विद्यार्थीलाई ट्युसन पढाउँछु। आफ्नै स्कुलका विद्यार्थीलाई भने पढाउँदिन किनभने उनीहरूले पैसा तिरेरै बोर्डिङमा पढिरहेका हुन्छन्। उनीहरूसँग किन दोहोरो फि लिने? डबल शोषण किन गर्ने?

मेरो ट्युसन बाह्रै महिना चल्छ। बिहान छ बजे नै छ–सात जना छात्रछात्रा आइपुग्छन्, एक–सवा घन्टा पढाउँछु। जनही पाँच सय रुपैया फी लिन्छु। दुवै गणित र लेखा पढाउँछु।

एसएलसीमा गणित र अंग्रेजी हाम्रा विद्यार्थीका मुख्य चुनौती हुन्। सरकारी विद्यालयका विद्यार्थीलाई बढी चुनौती हुन्छ किनभने उनीहरूले फर्मुला र मेथडसम्बन्धी ज्ञान कक्षामै समयमै पाएका हुँदैनन्। विद्यार्थीको जग त कमजोर छँदैछ।

मेरो विचारमा सरकारी विद्यालयमा पढाइ कमजोर हुँदै गएकै देशमा राजनीतिक गतिविधि बढ्न थालेपछि हो। ०४६ सालसम्म एसएलसी ठीकै थियो, त्यहीँबाट विस्तारै खुकुलो हुँदै गएको ०५२, ०५३ यता बिग्रन थाल्यो। शिक्षकहरू राजनीतिक संगठनमा लाग्ने, नेताको पछि पर्ने, जागिर जोगाउन खोज्ने, व्यवस्थापन समितिमा जानेहरूको उद्देश्य कमाउने हुन थाल्यो।

राजनीति त नेताको पेसा हो। आन्दोलन पनि उनैले गर्छन्। हामी शिक्षकको आन्दोलन भनेको पढाउने हो। मलाई आज शिक्षकका रूपमा गर्व छ। मेरा विद्यार्थी डाक्टर, इन्जिनियर, इन्सपेक्टर, शिक्षक भएका छन्। धनीमानीका छोराले म गरिब शिक्षकका खुट्टा ढोग्न आउँछन्, मेरो छाती फुल्छ। त्यस्तो बेला बुवाको याद आउँछ। उहाँले यहीँ बजारमा बदाम बेचीबेची मलाई पढाउनुभयो।

‘एक महिनाअघि कोर्स सकियो’

दीपककुमार झा

ग्यालेक्सी पब्लिक स्कुल

कलैया

मैले कक्षा ९ मा ८४ प्रतिशत ल्याएँ। एसएलसीमा राम्रो गर्छु भन्ने विश्वास छ। यसपालिको माहोलले भने अलि गाह्रो भयो। दिनरात भिडन्तको खबर सुन्नुपर्दा पढ्ने वातावरण भएन। स्कुलमा पनि कोर्स भ्याउन गाह्रो भयो। हाम्रो स्कुलले भने होस्टलमा राखेर अतिरिक्त कक्षा लियो। कम समयमै धेरै विषय पढाइ भए। एक महिनाअघि हाम्रो सबै कोर्स सकिएको छ। अहिले दिनरात एसएलसी तयारीमा लागेको छु। एसएलसी पास गरेर काठमाडौं जाने विचार छ। साइन्स पढ्छु। डाक्टर बन्छु।

‘पीर पनि छ, प्रतीक्षा पनि’

समीक्षा साह

ग्यालेक्सी पब्लिक स्कुल

कलैया

मैले कक्षा ९ मा ८८ प्रतिशत ल्याएँ। एसएलसीमा ए प्लस नै ल्याउँछु जस्तो लाग्छ। अंग्रेजी, सामाजिक शिक्षा, विज्ञान मलाई मनपर्ने विषय हुन्। गाह्रो त कुनै विषय पनि लाग्दैन, सामाजिक शिक्षामा भने नम्बर अलि थोरै आउँछ। बन्द बेला चिन्ता लागेको थियो। कोर्स कसरी सकिएला, यस्तै भइरह्यो भने जाँच कसरी दिने होला भन्ने लाग्थ्यो। अब ढुक्क छु। जाँचको पीर पनि छ, प्रतीक्षा पनि गर्दैछु। पछि काठमाडौं गएर डाक्टर पढ्ने विचार छ।

Source : setopati.com

0 comments:

Post a Comment