खेलकुदको ठूलो ‘परीक्षा’मा अब्बल भएर नेपाललाई १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो स्वर्णपदक दिलाएकी नीमा घर्तीमगर आज भने एसएलसी परीक्षामा सहभागी भइन् ।
तस्बिरहरु : केशव थापा
ललितपुरस्थित डनबस्को स्कुलमा अध्ययनरत नीमाले एसएलसीको पहिलो दिन अंग्रेजीको परीक्षा लुभु माविमा दिइन् । अघिल्लो दिन राति अवेरसम्म उनी हामी उठ्ने छाैंले गरेको सम्मान कार्यक्रममा सहभागी थिइन् । १६ बर्षीय उसु खेलाडीले भारतको सिलोङमा आयोजित १२ औं सागमा सान्सौको नानक्वान अलराउन्ड स्पर्धामा स्वर्ण जितेकी थिइन् ।
उनको एसएलसीको तयारी भइरहेकै समयमा सागको बन्द प्रशिक्षण पोखरामा आयोजना गरिएको थियो । स्कुलको कडा अनुशासनमा रहेकी उनले स्वीकृति लिएरै सागको तयारी गरेकी थिइन् । ‘पढाई त्यति राम्रो छैन,’ स्वर्ण जितेपछि उनले भनेकी थिइन्, ‘अझ राम्रो खेलाडी बनेर एसियन र वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई पदक दिलाउन चाहन्छु । तर, अहिलेको लागि भने एसएलसीमै केन्द्रित हुनेछु । त्यसपछि खेलमा लाग्नेछु ।’
नेपालले १२ औं सागमा तीन स्वर्ण, २३ रजत र ३४ कांस्यसहित कुल ६० पदक प्राप्त गरेको थियो । उसुमै रजत पदक जितेकी सुस्मिता तामाङ र युवराज थापा पनि यसैपाली एसएलसीमा सहभागी छन् ।
Source : ekantipur.com


0 comments:
Post a Comment