नयाँ बर्षमा अष्ट्रेलियामा तीन सांगीतिक टोली

By

- नारायण खड्का, अष्ट्रेलिया

 

नेपालीहरुको नयाँ बर्षको अवसर पारेर सांगितिक प्रस्तुती प्रस्तुत गर्न नेपालका कलाकारहरुको तीन टोली सांगीतिक यात्रामा अष्ट्रेलिया आउने भएको छ ।

रुपन्देहीमा रहेको अपांग बिद्यालय र अनाथाश्रमका  लागि सहयोग संकलन गर्ने उद्देश्यले रुपन्देही समाजको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रममा गायक यम बराल, सनुप प्रसाई र आकांक्षा बस्याल अष्ट्रेलिया आउदैछन भने सिल्भर स्क्रिन, जेनेरेशन मिडिया र द टिमको आयोजनामा गायक कर्ण दाश सहितको टोली आउँदैछ । यसैगरि मगर समाजले समेत केनुङ फेस्टको उपलक्ष्यमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा गायक राजु गुरुङ र गायिक रीता थापामगर समेत यहाँ आउदैछन् ।

गायक बराल सहितको प्रस्तुति सिड्नी र एडिलेडमा हुनेछ भने कर्ण दासले सिड्नी, मेलबर्न र एडिलेडमा प्रस्तुति दिदैछन् । कार्यक्रमका आयोजकहरुले नयाँ बर्षको उपलक्ष्यमा आयोजना गरिने भएकाले कार्यक्रमहरु अन्य सहरहरुमा समेत प्रस्तुत हुने जानकारी दिएका छन् । पछिल्लो समयमा नेपालीहरुको चाडपर्व तथा नयाँबर्षमा नेपालका चर्चित कलाकारहरु ल्याएर कार्यक्रम गर्ने प्रचलन बढेसँगै यसबर्ष समेत यी कलाकारहरुले अष्ट्रेलियाका विभिन्न सहरहरुमा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

यम बराल सहितको टोलीको सांगितिक कार्यक्रम अप्रिलको ९ तारिखदेखि सिड्नीबाट शुरु हुनेछ भने कर्ण दासको प्रस्तुति अप्रिलको २२ तारिखमा सिड्नीबाटै शुरु हुदैछ । गायक दासको कार्यक्रम भने सिड्नीमा रहेको अन्तराष्ट्रिय स्तरको कार्यक्रमस्थल पारामाटा रिभरसाइड थिएटरमा हुने कार्यक्रम संयोजक अशोक तिम्सिनाले जानकारी दिए । पैसा कमाउने भन्दा पनि कलाकारहरुलाई इज्जत दिने उद्देश्यका साथ आफुहरुले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम स्थल चुनेको उनले दाबी गरे । उनले कार्यक्रमबाट उठेको केही रकम वि टिम नामक संस्था मार्फत नेपालको दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरुको शिक्षामा खर्च गरिने समेत बताए ।

अष्ट्रेलियामा यस पहिल्यै पनि अभिनेता राजेश हमाल, महजोडी, दीपक दीपा, तक्मे बुढा, यश कुमार, अनिल सिंह। आस्था राउत लगायतका कैयौं कलाकार तथा गायकगायिकाहरु कार्यक्रम प्रस्तुतीका लागि अष्ट्रेलिया आइसकेका छन् ।
Source : ekantipur.com

0 comments:

Post a Comment