काठमाडौं,चैत १९ । नेपाली काँग्रेसको १३ औं महाधिवेशन सकिएको एक महिना पनि नपुग्दै हुन लागेको संसदीय दलको निर्वाचनमा रमाइलो दृश्य देख्न पाइने भएको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । सभापतिमा पराजित भए पनि रामचन्द्र पौडेलले पनि त्यसका लागि आफूलाई तयार पारिसकेका छन् ।
रमाइलो त के छ भने पौडेल समूहबाटै थप दुई जना उम्मेदवार बन्ने देखिएका छन् । डा. रामशरण महत र प्रकाशमान सिंहले पनि उम्मेदवार बन्ने इच्छा देखाएका छन् । सधैं रामचन्द्रलाई छाड्न सकिँदैन भन्दैै महत र सिंहले संसदीय दलको नेता बन्ने इच्छा राखेको बताइन्छ । यस्तै, सभापतिमा पराजित अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला पनि मैदानमा उत्रने तयारीमा छन् ।
पौडेल पक्षका नै भनिएका नेताहरु नै एक आपसमा लड्न थालेपछि संसदीय दलको निर्वाचनमा पनि शेरबहादुर देउवाले नै बाजी मार्ने देखिएको छ । सानोचित्त भएका पौडेललाई सधैं बोकेर हिँड्न नसकिने भन्दै सिंह र महत पनि विपक्षमा देखिएपछि सरकारमा जाने र चौथोपटक प्रधानमन्त्री हुने अवसर देउवाका लागि जुट्ने देखिएको छ ।
पछिल्लो दिनमा एमालेभित्र पनि सरकारको विषयमा असन्तुष्टि फैलिएको छ । सरकारले काम गर्न नसकेको भन्दै एमालेमा माधव नेपाल पक्षले केपी ओलीको विकल्प खोज्नुपर्ने आवाज उठाउँदै आएका छन् । एमाओवादीभित्र पनि सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना बढिरहेका बेला संसदीय दलको निर्वाचनमा देउवाको विजय सरकार परिवर्तनको विकल्प बन्ने अवस्था देखिनेछ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।


0 comments:
Post a Comment