काठमाडौं,फागुन २ । चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । श्रेष्ठले अस्पतालमा प्रवेश गरेदेखिनै भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठविरुद्ध १ करोड ६७ लाख सन्ताउन्न हजार एक सय रुपैयाँ माग दावी गरिएको छ । श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई पनि प्रतिबादी बनाइएको छ ।
प्रेस विज्ञप्ति मिति: २०७२।११।०२ गते ।
——————————————
आरोपपत्र दायर गरिएको (गैर कानूनी सम्पत्ति आर्जन)
———————————————————
बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालमा सेवा प्रवेश गरे देखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर-कानूनीरुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले निज डा. भक्तमान श्रेष्ठलाई बिगो रू. १,६७,५७,११३।- (अक्षरुपी एक करोड सतसट्ठी लाख सन्ताउन्न हजार एक सय तेह्र) कायम गरी सोही ऐनको दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन साथै श्रोत पुष्टि हुन नसकेको, भ्रष्टाचार गरी गैह्र कानूनी रुपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी लिई र सो प्रयोजनका लागि निज डा. भक्तमान श्रेष्ठको श्रीमती शिलु श्रेष्ठलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपत्र दायर गरिएको छ ।
कुनै पनि प्रकारको भ्रष्टाचारका सम्बन्धमा समयमै सत्य र यथार्थपरक सूचना उपलव्ध गराई आफ्नो हक अधिकार सुनिश्चित गर्नुका साथै भ्रष्टाचारजन्य गतिबिधिको अन्त्य गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने गराउने साझा अभियानमा सक्रिय सहभागिता एवं सहकार्यका लागि आयोग सबैमा हार्दिक अनुरोध गर्दछ ।


0 comments:
Post a Comment