क्यान्सरलाई ‘जितेका’ कोइरालालाई निमोनियाले हरायो

By

काठमाडौं,माघ २६ । ८० वर्ष लागेका पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको यति छिटै निधन हुन्छ भन्ने कसैलाई लागेकै थिएन । पार्टी महाधिवेशनको तयारीमा रहेका बयोबृद्ध नेताको एकाएक निधन भएको खबर सुनेर धेरैलाई अझै पत्यार लागेको छैन । अधिवेशनको लागि जिल्लाजिल्लामा पुगेका कांग्रेसका केन्द्रीय नेताहरुलाई नै कोइरालाको निधन भएको भन्ने खबर मंगलबार बिहानसम्म पुगेको छैन ।
‘सुशील दा को निधन रे । हो र, हैन होला’ जिल्लामा रहेका कांग्रेस नेता रमेश लेखकले आश्चर्य मान्नुभयो । ‘तर धेरैलाई पत्याउन गाह्रो भएपनि राती १२ बजेर ५० मिनेटमा उहाँको निधन भएको हो’ कोइराला निवास महाराजगंजमा रहेका नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
लामिछानेका अनुसार कोइराला केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । श्वासप्रश्वास र निमोनियाको समस्या थियो । चिसोको बेला बृद्ध नेतालाई यस्तो समस्या पहिलेपनि हुने भएकाले कसैले पनि उतिसारो गम्भीर रुपमा लिएनन् । केही दिनमा नै ठीक हुन्छ भन्ने सबैलाई लाग्यो । तर सोमबारदेखि उहाँलाई व्यथा बढ्न थाल्यो । लगत्तै निजी डाक्टर उहाँको निवासमा पुगे ।
‘डाक्टरहरुले उपचार गर्दागर्दै उहाँको निधन भएको हो’ रातीदेखि नै त्यहीँ रहेका लामिछानेले भन्नुभयो, ‘चिसोको बेला श्वासप्रश्वास र निमोनियाको समस्या बढेकाले यस्तो भयो ।’
लामो समयदेखि क्यान्सरबाट पीडित कोइरालाले अमेरिकामा नियमित उपचार गर्दै आउनुभएको थियो । सार्वजनिक कार्यक्रममा आफुले क्यान्सरलाई जितेको भन्दै आउनुभएको थियो । क्यान्सरलाई जितेका कोइरालाले अन्ततः निमोनियालाई जित्न सक्नुभएन । महाधिवेशनको तयारी गरिरहँदा अकस्मात उहाँको निधन भयो ।
-उज्यालो अनलाईन

0 comments:

Post a Comment