काठमाडौं,फागुन १२ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनवठ नेतृत्व हत्याउने दाउमा लागेका संस्थापन पक्षको रामचन्द्र पौंडेल र बरिष्ठ नेता शेरवहादुर देउवापक्ष बीच छुट्टा–छुट्टै गोप्य भेला सुरु भएको छ । महाधिवेशन आउन एक साता मात्रै बाँकी रहँदा नेतृत्वको विषयलाई लिएर दुवै पक्षले छलफल र गोप्य भेलालाई तिब्रता दिएका छन्।
संस्थापन पक्षबाट सभापतिका उम्मेदवार समेत रहेका कार्यबाहक सभापति रामचन्द्र पौडेलले झन्डै दुई दर्जन जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिहरुसंग छलफल गरेका छन् भने बरिष्ठ नेता देउवाले पनि बुधवार महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिहरुसंग छलफल गरिरहेका छन्।
केही दिन यता गोप्य बैठक तथा भेला गर्दै आएको देउवा पक्षले बुधवार फेरि जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरुसंग छलफल गरेका हुन्। छलफलमा केन्द्रीय सदस्यहरु देखि लिएर उनी निकट शीर्ष नेताहरु पनि सहभागी भएका छन्।
यसअघि बानेश्वरको अल्फाविटा कम्पलेक्समा मंगलबार राति अबेरसम्म चलेको पौडेल पक्षीय जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिहरुको भेलामा बोल्ने अधिकांश नेताहरुले पार्टीलाई एक बनाउनु पर्नेमा जोड दिँदै संस्थापन पक्षबाट एउटामात्रै सभापतिको उम्मेदवार बनाउनु पर्ने धारणा राखेका थिए। भेलाको संयोजन पौडेल निकट काभ्रे जिल्ला सभापति मधु आचार्यले गरेका थिए। केन्द्रीय सदस्य गगन थापा समेत सहभागी भएको भेलामा बोल्ने जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिहरुले पार्टी सभापतिमा रामचन्द्र पौडेललाई नै अघि सार्नु पर्नेमा जोड दिँदै संस्थापन पक्ष एकताबद्ध भएर अघि बढ्नु पर्ने बताएका थिए।
भेलामा सवैभन्दा धेरै बेर बोलेका काभ्रे जिल्ला सभापति मधु आचार्यले अबको पार्टी सभापति रामचन्दै पौडेल नै भएको दाबी गर्दै उनलाई सहयोग गर्न सक्रिय हुनु पर्नेमा जोड दिएका थिए। आचार्यले सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षको दोस्रो नेता पौडेल नै भएकाले सभापतिको उम्मेदवार को भन्ने विषयमा अन्योलतामा रुमलिनु पर्ने स्थिति नभएको बताए। उनले कोइरालाको निधनसँगै संस्थापनको नेता रामचन्द्र नै भएकाले उनकै नेतृत्वमा चुनावमा जानका लागि टिम बनाउनु पर्नेमा जोड दिएका थिए।
उनले सवै महाधिवेशन प्रतिनिधिहरुको जोड पौडेलनै सभापति हुनु पर्छ भन्नेमा रहेकाले पौडेललाई विजयी बनाउने उदेश्यका साथ सवै जिल्ला सभापति र महाधिवेशन प्रतिनिधि लाग्नु पर्नेमा जोड दिएका थिए। आचार्यले हिजो पार्टी विभाजन गरेर जाने बरिष्ठ नेता शेरवहादुर देउवा पक्षलाई नेतृत्व सुम्पन नसकिने समेत बताएका थिए। आचार्यको भनाई उद्रित गर्दै स्रोतले भन्यो–हिजो सिंगो पार्टी विभाजन गरेर जाने शेरवहादुर देउवा समूहलाई सिंगो पार्टी बुझाउनु हुँदैन। पार्टीलाई त्यसबाट जोगाउनु पर्छ। विभाजन गर्ने समूहमा पार्टीको नेतृत्व पुगे पार्टी समाप्त हुन्छ। त्यसैले हिजो संस्थापन पक्षमै रहेका नेता पौडेललाई नै सभापति बनाएर पार्टी एक बनाउनुपर्छ।’
भेलामा सहभागी भएका तनहुँ जिल्ला सभापति बैकुन्ठ न्यौपानेले पनि अब नीतिगत कुरा गर्ने बेला नभएको भन्दै पौडेललाई जिताउन लाग्नु पर्नेमा जोड दिएका थिए। उनले पनि सभापतिमा पौडेल जस्तो क्रियाशील मान्छे पार्टीलाई आवश्यक रहेको भन्दै सवै क्रियाशील समूह पौडेलको पक्षमा लाग्नु पर्ने बताएका थिए। न्यौपानेले पार्टी नीतिमा भन्दा नेतामा बढी केन्द्रीत रहेको भन्दै चुनाव प्राविधिक कुरा भएकाले तयारीलाई तिब्रता दिनु पर्नेमा जोड दिएका थिए।
भेलामा बोलेका उदयपुर सभापति डिल्ली बस्नेतले पनि हिजो पनि आफूहरु संस्थापन पक्षमै रहेको र अहिले पनि संस्थापन पक्षमै रहेकाले पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउनु पर्नेमा जोड दिए। उनले महाधिवेशनलाई लिएर संस्थापन पक्षभित्रै गुटउपगुट फेरि मौलाएको भन्दै एकताबद्ध भएर चुनावमा जानु पर्ने धारणा राखेका थिए।
भेलामा कास्की सभापति कृष्ण केसीले पनि संस्थापन पक्षको नेता पौडेल नै भएकाले विवाद गरिराख्नु पर्ने कारण नरहेको बताए। उनले संस्थापन पक्षको निर्विकल्प सभापतिको उम्मेदवार पौडेल नै भएको दाबी गरे। उनले सभापतिमा पौडेललाई जिताउन संस्थापन पक्ष एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिएका थिए।
सुर्खेत सभापति कमलराज रेग्मीले पनि संस्थापन पक्षबाट पार्टीको नेतृत्व अब पौडेलले नै गर्ने बताए। रेग्मीले पार्टी नीति प्रधानभन्दा पनि नेता प्रधान भएको भन्दै त्यसलाई सच्याउनु पर्नेमा जोड दिए। उनले भने–पार्टी नेताप्रधान भयो, नीति प्रधान हुन सकेन। सवैले नीतिभन्दा पनि नेतृत्वमा जोड दिएका छन्। तर यस्तो प्रवृत्तिले पार्टीलाई अगाडि बढ्न सहयोग गर्दैन। यस्तो काम बन्द गर्नुपर्छ।’ उनले संस्थापन पक्षबाट सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमता पौडेलसंग मात्रै रहेकाले उनकै नेतृत्वमा सवैलाई मिलाएर अघि बढ्नु पर्नेमा जोड दिएका सेतोपाटी डटकमले समाचार लेखेको छ ।


0 comments:
Post a Comment