काठमाडौं,फागुन १४ । ‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ मुख्य पाइलट दिनेश न्यौपानेले यत्ति भन्नासाथ काष्ठमण्डप एयरमा रहेका यात्रुहरुबिच कोलाहल मच्चियो । रुवाबासी र कोलाहल पछि पाइलट पनि केही अतालिए । तर जिम्मेवारी बिर्सेनन् । सुझबुझ र होसियारी पूर्वक पाइलट न्यौपालेले बिमान सुरक्षित अवतरको अन्तिम प्रयास थाले । उनले तत्कालै सबैलाई सान्त्वना दिँदै भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’
उडिराखेको जहाँजको पंखा बिचमै रोकिएपछि पाइलटले दुर्घटनाबारे जानकारी गराउन नपाउँदै नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमानमा रहेका यात्रुहरुले एकदिन अघि भएको तारा एयर दुर्घटनाको सम्झना गर्दै जिवनको माया मारेका थिए । तर भाग्य र दुर्भाग्य बिचको सौदामा पाइलटहरुले हारे यात्रुले जिते । विमानमा यात्रा गरेका मेघराज गिरीलेले भनेका छन्, ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’
नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस-२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटना हुँदा पाइलट र को-पाइलट दुवैको ज्यान गएको छ । तर उनिहरुले आफु मरेर पनि विमानमा सवार ९ यात्रुको ज्यान जोगाएका छन् ।
बिमानबारे जानकारहरु भन्छन् बिमानको इन्जिन खराब तथा पंखा नघुमेपछि बिमान तत्काल आकस्मिक अवतरण गर्नुपर्छ । जुन सहासिक काम काष्ठमण्डप एयरका पाइलटले गरेका छन् । विमानका पाइलट दिनेश र को पाइलट सन्तोष रानाले विमानलाई खेतमा अवतरण गराएका थिए ।
दुर्घटनामा घाइतेहरुलाई लिन कालिकोट पुगेका सिम्रिक एयरका पाइटल कर्णेल मदन केसीका अनुसार ल्याण्ड गराउने क्रममा विमानको पाग्रा दाउराको कुन्यूमा ठोकिएपछि खेतको कान्लामा ठोक्किएको पाइएको छ । कर्णेल केसीले भने, ‘अप्ठेरो ठाउँमा पनि एकदमै राम्रो जजमेन्ट गरेर खेतमा ल्याण्ड गराउन खोजिएको रहेछ । जहाज सेफल्याण्ड गर्ने क्रममा अगाडिको भाग क्षतिग्रस्त भएकाले पाइलटहरु बाँच्न सफल हुनुभएन ।’ जहाजमा सवार यात्रुहरुमध्ये लक्ष्मण खड्काको अवस्था गम्भीर छ । अन्य यात्रु घाइते भएपनि खतरा मुक्त रहेको बताइएको छ ।


0 comments:
Post a Comment